Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

विदेशबाट फर्केर गाईपालन

पाल्पा।

खाडी मुलुकमा पसिना बगाएर स्वदेश फर्केका पाल्पाका युवा गाईपालनबाट यथेष्ट कमाइ गर्न सफल भएका छन् । दाम र कामको खोजीमा साहुसँग ठूलो ऋण झिकेर खाडी मुलुकमा पुगेका युवाले पशुपालनलाई पछिल्लो समय आम्दानीको बलियो र दिगो माध्यमबा रूपमा अपनाएका छन् ।
रामपुरका गणेश आचार्यले तीन वर्ष खाडीमा समय बिताएर गाउँमै फर्की गाईपालन व्यवसाय थाल्नुभएको छ । जर्सी र होलस्टिन जातका गाई पालेर आचार्यले मासिकरूपमा खर्च कटाएर रु ६० हजार आम्दानी गर्ने गरेका छन् ।
त्यस्तै ज्ञानराज पोखरेललाई पनि विदेशबाट फर्केपछि आम्दानीको बाटो बनेको छ गाईपालन व्यवसाय । विदेशमा गई पैसा प्रशस्त कमाउने र परिवारलाई सुख सुविधाका साथ लालनपालन गर्ने सोच राखेका पोखरेलले सोचेअनुसारको कमाइ नभएपछि स्वदेश फर्की गाईपालन व्यवसाय थालनी गरेका हुन् ।
तीन वर्ष साउदीमा पसिना बगाएर स्वदेश फर्किनुभएका पोखरेल अहिले रामपुरकै नमूना व्यवसायीका रूपमा चिनिन थालेका छन् । उनको फार्ममा हाल १२ वटा उन्नत जातका गाई रहेका छन् । उनले दैनिक ५० लिटर दूध उत्पादन गरेर मासिक रु ५० हजारभन्दा बढी आम्दानी गरेका छन् । उनी भन्छन्, “घरमै बसेर खर्च कटाएर मासिक रु ५० हजारजति आम्दानी हुन्छ, विदेशमा वर्षको रु एक लाख पनि कमाइ हुन्न, विदेश जानुअघि धेरै इच्छा, आशा मनमा हुन्छ, गएपछि सबै सपना खाडीमा विहीन हुन्छ ।”