काव्य श्रृङ्खला (क) मा विशेष गजल वाचन (फोटो फिचर सहित)
सुर्खेत
मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाज सुर्खेतले काव्य श्रृङ्खला (क) मा पहिलो पटक विशेष गजल वाचन गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा भएको विशेष गजल वाचन कार्यक्रममा बाँकेका गजलकार हुकुम धड्कन, दैलेखका गजलकार विद्या निर्दोष पहाडी, अछामका गजलकार पहल असिम थापा र तपेन्द्र घोडासैनीले गजल वाचन गरेका थिए । चार जना गजल स्रष्टाहरुले ११ वटाका दरले ४४ वटा गजल वाचन गरे ।

कार्यक्रमको प्रमुख अतिथि साहित्यकार एवम् मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्टार डा. महेन्द्रकुमार मल्लले शुभकामना मन्तव्यमा भने, ‘सुर्खेत प्रदेश नं. ६ को प्रान्तिय प्रशासनिक केन्द्र मात्र होइन गजलको राजधानी पनि हो ।’ उनले थपे, ‘अब निःशुल्क गजल सुनाउने काम बन्द गर्नुपर्छ । अबका दिनमा टिकटमा गजल सुन्ने व्यवस्था गर्नु पर्छ ।’ साथै रजिष्टार डा. मल्लले भने, ‘विशेष गजल वाचन कार्यक्रममा वाचन भएका गजलहरु शैली, शिल्प र प्रस्तुतीका दृष्टिले पनि निकै उत्कृष्ट छन् ।’ ‘गजल काव्यात्मक, गेयाात्मक र लयात्मक विधा भएकोले पनि यसले सबैको मन आकर्षित गर्न सकेको छ भने अझ श्रृङ्गारका गजलका शेरहरुले त सबैलाई लोभ्याउन सकेको छ’ डा. मल्लको भनाई थियो । पछिल्लो समयमा गजलले श्रृङ्गारिक धारालाई मात्र नभई सामाजिक परिवेश र विषयवस्तुलाई पनि समेट्ने गरेकोमा मल्लले बताए । आगमी दिनमा पनि यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनु पर्ने सुझाव दिँदै मल्लले आफ्नो तर्फबाट गर्न सक्ने जुनसुकै सहयोग गर्नका लागि कहिल्यै कञ्जुस्याँई नगर्ने बताए ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजका अध्यक्ष भरत प्रमोद दाहालले विश्वविद्यालय खोज तथा अनुसन्धानको केन्द्र भएकोले विश्वविद्यालयलाई साहित्यलाई साहित्यको चौतारीको रुपमा विकास गर्ने उद्देश्यले आज भन्दा एक महिना अगाडि यस संस्थाको स्थापना गरेको बताए । कार्यक्रममा दैलेख, सुर्खेत, जाजरकोट, अछाम, बाँके, बर्दिया, कैलाली, कालिकोट लगायतका जिल्लाका गजलकारहरुका साथै विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण महेन्द्र चन्द महासागरले गरेका थिए ।







