प्रदेशका मन्त्रालयको छिट्टै व्यवस्थापन हुन्छन्
सुर्खेत ।
प्रदेश नं. ६ मा रहने मन्त्रालयहरुको भवन व्यवस्थापन छिट्टै हुने बताइएको छ । रिपोटर्स क्लब सुर्खेत शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रदेशमा आवश्यक पर्ने सबै मन्त्रालयहरु छिट्टै व्यवस्थापन हुने मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले बताएका हुन् । साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानले मन्त्रालय व्यवस्थापनको कार्य दु्रत गतिमा अघि बढिरहेको बताए ।

प्रदेश सभाले आगामी फागुनको पहिलो सातासम्म मुख्यमन्त्री पाउनेछ । अहिले मुख्य मन्त्री र अन्य मन्त्रालयको व्यवस्थापनको कार्य चलिरहेको छ । ‘सुर्खेतमा क्षेत्रीय स्तरका कार्यालयहरु भएकाले मन्त्रालय राख्नको लागि भवनको अभाव छैन ।’ प्रधानले भने– ‘भवनको अभाव नभए पनि मर्मत कार्य गर्नुपर्ने भएकाले छोटो समयमा जनशक्तिको अभाव हुदाँ व्यवस्थापन गर्न केही ढिलाई भइरहेको छ ।’ हाल मन्त्रालयका लागि छनैट गरिएका संरचनामाहरुमा रंग–रोगन र मर्मतको काम भइरहेको छ । सरकारी काम ढिलासुस्ती हुनुको कारण सार्वजनिक खरिद ऐन सम्बन्धी प्रक्रिया भएको बताउदै प्रधानले पैसा भए पनि खर्च गर्नका लागि खरिद ऐन सम्बन्धी सबै प्रक्रिया पूरा गर्नुपर्ने भएकाले प्रदेश सभा भवन व्यवस्थापन गर्न केही समय लाग्ने बताए ।
प्रदेश नं. ६ मा ७ वटा मन्त्रालयहरु रहने छन्् । मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पुर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय रहने प्रमुख सचिव प्रधानले जानकारी दिए । यी मन्त्रालयहरु कुन–कुन भवनमा राख्ने भन्ने विषयमा कार्यालयहरु समेत छनैट गरिएको उनले बताए ।
साक्षात्कार कार्यक्रममा बोल्दै शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका प्रमुख थम्बराज श्रेष्ठले प्रदेश सभाका लागि छनैट गरिएको शैक्षिक तालिम केन्द्रको भवनमा ध्वनीको समस्या देखिएकाले सभाहल व्यवस्थापन गर्न झण्डै तीन महिना लाग्ने जानकारी दिए ।
‘ढिलै भए पनि उत्कृष्ट सभाहल निर्माणका लागि खटिएको बताउदै श्रेष्ठले भने, ‘प्रदेश सभा हल स्थायी रुपमा बनाउने गरी व्यवस्थापनाको काम भइरहेको छ ।’ प्रदेश सभाको भवन व्यवस्थापन गर्नका लागि झण्डै १ करोड लागत लाग्ने श्रेष्ठले जानकारी दिए ।






