बुवा–आमाको सम्झनामा ५० लाखको अक्षयकोष स्थापनाको घोषणा
सुर्खेत, माघ २७ ।
पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का परिवारले गरिव तथा असहायहरुका लागि निःशुल्क उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा ५० लाखको अक्षयकोष स्थापनाको घोषणा गरेको छ । आमा मायादेवी खड्काको १३ औं दिनको पून्यतिथिको अवसर पारेर खड्का परिवारले सो घोषणा गरेको हो ।
दिवंगत बुवा–आमा प्रेमबहादुर र मायादेवी खड्काको सम्झनामा क्षेत्रीय अस्पतालमा ‘प्रेम–माया गरिव असहाय उपचार अक्षयकोष’ स्थापना गरिने छ । अक्षयकोषको सञ्चालन अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) को नेतृत्वमा रहने समितिले गर्ने छ ।

क्षेत्रीय अस्पतालमा उपचारका लागि आउने गरिव, असहायहरुलाई अक्षयकोषबाट आउने ब्याजमार्फत निःशुल्क उपचार गरिने छ । ‘यो क्षेत्रका गरिव, असहायहरुलाई उपचारमा सहजताका लागि स्वर्गीय बुवा–आमाको नाममा प्रेम–माया गरिव असहाय अक्षयकोष स्थापना गरेका हौं’ खड्काले भने, ‘अक्षयकोषमार्फत आउने व्याजबाट निःशुल्क उपचारको व्यवस्था हुनेछ ।’ क्षेत्रीय अस्पतालमा गरिव र असहायहरुका लागि स्थापना गरिएको यो अहिलेसम्मकै ठूलो अक्षयकोष हो ।
यस्तै स्वर्गीय बुवा–आमाका गुरु हरिप्रसाद अर्यालद्वारा बाँकेको कोहलपुर नगरपालिका–१२, चप्परगौडीमा स्थापित रामजानकी मन्दिर राधाकृष्ण भागवत आश्रममा सञ्चालित बैद्धिक भागवत गुरुकुल विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि १० लाख रुपियाँको ‘प्रेम–माया शैक्षिक अक्षयकोष’ स्थापनाको घोषणा पनि खड्का परिवारले गरेको छ ।
खड्का परिवारले दिवंगत बुवा–आमाको सम्झनामा विभिन्न अक्षयकोष र सामाजिक कार्य पनि गर्दै आएको छ । बुलबुलेमा स्वर्गीय बुवा प्रेमबहादुर खड्काको स्मृतिमा पिपलपानी अर्पण स्थल निर्माण गरिएको छ । यस्तै स्वर्गीय बुवा प्रेमबहादुर र आमा मायाको सम्मानमा सुर्खेत क्षेत्र नम्वर–१ अन्र्तगतका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि तीन लाख रुपियाँको ‘प्रेम–माया विद्यालय कलाकार अक्षयकोष’ स्थापना गरिएको छ ।






