कुलेन्द्र र देवीले गरे प्रादेशिक महोत्सव कब्जा : २८ गते प्रमोद खरेल आउने
सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा यही माघ २६ गतेदेखि संचालन भएको प्रदेश स्तरीय ओद्योगीक व्यापार, पर्यटन तथा कृषि महोत्सवको दोस्रो दिन स्थानीय तथा राष्ट्रियस्तर कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।

महोत्सवमा जब कुलेन्द्र विक स्टेजमा आए उनले महोत्सव नै कब्जा गरे । महोत्सवमा उपस्थित करिब १५ हजार दर्शकहरुको ध्यानमा आफूमा केन्द्रित गरेर उनले महोत्सव नै कब्जा गरे । त्यसैगरी चर्चित गायिका देवी घर्ती मगरले पनि आफ्नो प्रस्तुतीमा महोत्सवमा उपस्थित दर्शकहरुलाई एकै साथ नाच्न बाध्य पारिन । चर्चित नृत्याङ्गना एवम् मोडल आरोषि मगरले स्टेजमा नृत्य प्रस्तुत गरिरहेका बेलामा दर्शकहरुको भिड नियन्त्रण गर्न धौ–धौ परेको थियो ।

महोत्सवको अर्को रौनक पक्ष त के थियो भने कार्यक्रम संचारकर्मी एवम् पत्रकार तथा गायिका शोभा त्रिपाठीले संचालन गरेकी थिइन । शोभा त्रिपाठी आफै पनि गायिका भएकाले दर्शकले चाहना अनुसार गीत गाउँदै स्टेजमा नाच्दै कार्यक्रम संचालन गरेकी थिइन ।

महोत्सवको तेस्रो दिन (भोलि २८ गते) चर्चित गायक प्रमोद खरेल गायिका पुर्णकला बि.सीसँगै प्रकाश सपुत र चन्द्र मन्दिरको प्रस्तुती रहने सांस्कृतिक संयोजक हरि विष्टले जानकारी दिए ।

माघ २६ गते प्रदेश प्रमुख दुर्गाकेशर खनालले उद्घाटन गरेको महोत्सवमा ४ सय ९ वटा स्टलहरु रहेका छन् । न चिसो न गर्मीको उपयुक्त मौसमी वातावरण रहेकाले पनि दर्शकहरुको घुँइचो लागेको छ । महोत्सव अवधिभर १५ करोड बराबरको कारोबार हुने अनुमान रहेको आजोयकले बताएको छ ।







