‘भ्रष्टाचार नियन्त्रणका लागि सबैले जुट्न आवश्यक ः प्रदेश प्रमुख
सुर्खेत, २८ माघ ।
मुलुकमा ठुलो परिवर्तन भए पनि भ्रष्टाचार डरलाग्दो रोग भएको प्रदेश नं. ६ का प्रमुख दुर्गाकेशर खनालले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७ औँ वार्षिक उत्सवका अवसरमा खनालले यस्तो बताएका हुन् । उनले भने, ‘भ्रष्टाचार नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्दै प्रदेश ६ लाई भ्रष्टाचारमुक्त प्रदेश बनाउन सबै जुट्न आवश्यक छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले समाजमा सम्पत्तिलाई आवश्यकता भन्दा बढी महत्व दिएकाले भ्रष्टाचारलाई मलजल पुगेको बताए । भ्रष्टाचार नियन्त्रणका लागि सबैले आ–आफ्नो स्थानबाट भिन्दै तरिकाले सोच्न जरुरी रहेको कार्कीको धारणा थियो ।
प्रदेश नं. ६ का प्रमुख सचिव सुरेश मानन्धरले भ्रष्टाचारले समग्र विकासलाई अवरोध गरेको हुँदा सेवा प्रवाहको गति बढाउन व्यवहारमा परिवर्तन ल्याउन आवश्यकता रहेको बताए । उनले भने, ‘आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्न कार्यालय प्रमुखहरुलाई म निर्देशन दिन्छु । साथै उनले प्रदेशको आर्थिक समृद्धि र सुशासन वृद्धिसँंगै आम नागरिकको विश्वसनीयता बढाउन सबै कर्मचारीलाई आग्रह गरे ।
अदुअआ सुर्खेतका कार्यालय प्रमुख रविलाल पन्थले इज्जतिलो पदमा बसेका व्यक्तिबाट नै भ्रष्टाचार हुने गरेको बताए । भ्रष्टाचार नियन्त्रणका लागि आयोगले प्रर्वद्धनात्मक, निरोधात्मक र दण्डात्मक उपायहरु अवलम्वन गरेको प्रमुख पन्थले बताए । अनुचित कार्य क्षेत्राधिकार भित्र नपर्ने हुँदा नागरिकले अपेक्षा गरे अनुरुप कतिपय कार्य गर्न नमिलेको पन्थको धारणा थियो ।
अदुअआ सुर्खेतका उप–सचिव जंग बहादुर डाँगीले कार्यालयबाट भए गरेका कामकाजका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सुर्खेतस्थित सरकारी कार्यालय, सुरक्षा निकाय, भ्रष्टाचार विरुद्ध क्रियाशिल संघसंस्था, सरकारी शैक्षिक संस्था तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा भ्रष्टाचार विरुद्धको जनचेतनामुलक नाटक ‘परिणाम’ प्रस्तुत गरिएको थियो । अदुअआको कार्यालयमा नागरिकले उजुरी दिए पनि अदालतमा उजुरीकर्ताले बयान फेर्ने गरेको बताइएको छ । उजुरीको समन्वयका क्रममा अदालतमा केही उजुरीकर्ताले आफ्नो बयान परिवर्तन गर्दा भ्रष्टाचार नियन्त्रण अभियानमा प्रभाव परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।
शिक्षाका उजुरी धेरै
अदुअआ सुर्खेतद्वारा प्रकाशित २०७४÷०७५ को अर्धवार्षिक अवधिको संक्षिप्त प्रगति विवरणमा कायालयले प्रदेशमा शिक्षाका उजुरी धेरै भएको जनाएको छ । पौष मसान्तसम्मको प्रारम्भिक उजुरीहरुको मन्त्रालयगत विवरण अनुसार शिक्षा क्षेत्रमा कुल १४८ उजुरी परेका थिए । कुल उजुरी मध्ये ४३ वटा उजुरी फछ्र्यौट भएको कार्यालयले जनाएको छ ।
वन तथा भू–संरक्षणका उजुरी धेरै
प्रगति विवरण अनुरुप सुर्खेतका ९५ उजुरीहरु मध्ये सबैभन्दा धेरै वन तथा भू–संरक्षण क्षेत्रमा परेको कार्यक्रममा जानकारी दिइएको थियो । वन सम्बन्धमा २७ वटा उजुरी परेकोमा १३ उजुरीहरुको फछ्र्यौट भइसकेको अदुअआ सुर्खेतले जनाएको थियो ।
फेसबुकबाट पनि उजुरी
फेसबुकमा नागरिकले पोष्ट गरेको सूचनालाई आधार मानी उजुरी लिएको अदुअआ कार्यालय सुर्खेतले विवरणमा उल्लेख गरेको थियो । कार्यालयको जानकारी अनुसार फेसबुकबाट एउटा उजुरी लिइएको थियो । नागरिकद्वारा पोष्ट गरिएको सूचनाको आधारमा अदुअआले मुद्दा अघि बढाएको थियो । उजुरीका स्रोतहरु मध्ये सबैभन्दा धेरै चिठीपत्रबाट प्राप्त भएको कार्यालयले जनाएको थियो । विवरणमा भ्रष्टाचार नियन्त्रणमा नागरिकलाई सामाजिक अभियन्ता बन्न संस्थाले आह्वान गरेको थियो । विश्वकै समस्याको रुपमा देखापरेको भ्रष्टाचारलाई जरैदेखि फ्याक्न नागरिकको भूमिका प्रमुख रहने कार्यालयले बताएको थियो ।






