प्रदेश महोत्सव समापनः साढे ३ लाख दर्शक साढे १२ करोडको कारोबार
सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा गत माघ २६ देखि फागुन ८ गते (मंगलबार) सम्म संचालित प्रदेशस्तरीय औद्योगिक व्यापार पर्यटन तथा कृषि महोत्सव समापन भएको छ । आयोजकका अनुसार ३ लाख २५ हजार दर्शकले अवलोकन गरेको उक्त महोत्सवमा करिब १२ करोड ६५ लाखको व्यावसायिक कारोबार भएको छ । मूल आयोजक समितिको तर्फबाट संयोजक पदमबहादुर शाहीले सुरक्षा निकाय, व्यापारी, उद्योगी, दर्शक, पत्रकार एवम् सहआयोजक र प्रयोजकहरु सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

महोत्सवको समापन कार्यक्रममा महोत्सवलाई सफल पार्न सहयोग गर्ने विभिन्न उपसमिति, व्यक्ति एवम् संस्थाहरुलाई सम्मान गरिएको थियो । फागुन ८ गते महोत्सवको अन्तिम दिनमा करिब ३५ हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको प्रचार प्रसार समितिका संयोजक पूर्णदेव अधिकारीले जानकारी दिए ।

महोत्सवको समापन कार्यक्रममा बोल्दै मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य महासंघ ६ नं. प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले १५ दिन भित्र महोत्सवको आय व्यय सार्वजनिक गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले भने, यो महोत्सव कुनै व्यक्तिको स्वार्थको लागि वा व्यक्तिगत लाभ लिनका लागि गरिएको होइन । यो महोत्सवमा ४ सय ४८ वटा स्टलहरु थिए । महोत्सवबाट भएको मुनाफाबाट प्रदेश नं. ६ का लागि उद्योग वाणिज्य महासंघको भवन निर्माण गर्ने कार्यमा खर्च गरिने बताइएको
छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालाको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देल, सहआयोजकहरु प्रदेश नं. ६ का १० जिल्लाका उद्योग वाणिज्य संघका प्रमुख एवम् प्रतिनिधिहरु, प्रायोजकहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
महोत्सवको अन्तिम दिन स्थानीय कलाकारहरु सहित राष्ट्रिय कलाकारहरु राधिका हमाल, डम्मर नेपाली, नेत्र जी पन्त, शंकर बि.सि., अन्जली अधिकारी लगायतले संस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।







