Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

 राष्ट्रपति रनिङ्ग शिल्ड हुदै, प्रतियोगिता सञ्चालन गर्न आर्थिक अभाव

सुर्खेत, फागुन १६ ।

आगामी चैत २७ देखि सुर्खेतको रानीवासमा जिल्ला स्तरिय १० औं राष्ट्रपति रनिङ्ग शिल्ड–२०७४ आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति सुर्खेतको बुधबार बसेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।


जिल्ला समन्वय समितिका अध्यक्ष छविलाल सिग्देल संयोजक रहेको समितिले आगामी चैत २७, २८ र २९ गते जनता माध्यामिक विद्यालय रानीवासमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय जनाएको छ । रानीवासमैं प्रतियोगिता सञ्चालन गर्ने बारे अघिल्लो बर्ष नै टुंगो लागेको भएपनि बुधबारको बैठकले मिति तोकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागि २० लाख खर्च लाग्ने अनुमान गरिएको समितिका अध्यक्ष गिरीले जानकारी दिए । ‘अघिल्लो बर्ष राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख बजेट पठाएको थियो, यो पटक २० लाख बजेट प्रस्ताव गरेका छौं’ अध्यक्ष गिरीले भने, ‘जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्डका लागि १४ लाख ९७ हजार ४ सय र निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिताका लागि ५ लाख ७७ हजार ८ सय बजेट प्रस्ताव गरिएको छ ।’ प्रस्तावित बजेट पुरै पास नहुने र प्रतियोगिता सम्पन्न गर्न आर्थिक अभाव हुने उनले बताए । ‘अघिल्लो बर्ष ५ लाख मात्रै बजेट दिइयो’ उनले भने, ‘नपुग बजेट जिल्ला समन्वय समिति, नगरपालिका, गाविस लगायतसंग मागेर चलाइयो ।’
जिल्ला खेलकुदले जिल्ला स्तरिय र निर्वाचन क्षेत्र स्तरिय गरी २ वटा प्रतिस्प्रधा सञ्चालन गर्दैछ । दुई प्रतियोगिता मध्य जिल्ला स्तरिय प्रतियोगिताको मिति तय भएको र अर्को प्रतियोगिता आगामी फागुन २४ र २६ को सरोकारवालाको भेलाले तय गर्ने समितिले जनाएको छ ।

प्रतियोगिता व्यवस्थापन र निर्देशन समितिले नपुग रकम जुटाउन छलफल गरेको भएपनि स्थानीय निकायसंग अहिलेको अवस्थामा पैसा अभाव भएको निश्कर्ष निकाल्दै आर्थिक अभाव हुने जनाएको छ । ‘सवै निकायसंग आग्रह गर्ने नै हो’ समितिका संयोजक सिग्देलले बताए, ‘हामी सवैको ईज्जत संग जोडिएकाले आर्थिक अभाव हुन नदिन पहल गर्नेछौं ।’ समितिका सदस्य समेत रहेका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले प्रतियोगिताका लागि सवै पक्षसंग सहयोग माग्नुको विकल्प नभएको बताए । प्रतियोगिता सञ्चालन हुने स्थानीय तहको प्रमुखका हैंसियतले चिंगाड गाउँपालिकाका अध्यक्ष देववहादुर चन्दले स्थानीय निकायसंग यो अवस्थामा बजेट कुनै पनि शिर्षकमा नभएको उल्लेख गर्दै आगामी बर्षको प्रतियोगितामा सहयोग गर्न सकिने बताए । प्रतियोगिताको लागि अन्य तयारी पुरा भएको भएपनि आर्थिक संकट देखिने बैठकका सहभागिले बताएका छन् । प्रतियोगिता सञ्चालनका लागि गठित समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित प्रहरी र शसस्त्र प्रहरी कार्यालयका प्रमुख समेत सदस्य रहेका छन् ।

जिल्लाका ७० विद्यालयहरुको सहभागिता हुने अनुमान गरिएको प्रतियोगितामा १ हजार २ सय ५० खेलाडीले ६ वटा खेलमा प्रतिस्प्रधा गर्ने बताइएको छ । खेलाडीहरुले भलिवल, कवड्डी, एथलेटिक्स, कराँते, उसु लगायत ६ खेलमा प्रतिस्प्रर्धा गर्नेछन् ।