Loading... आजः १३ बैशाख २०८१, बिहीबार । Thursday 25th April 2024

सुरक्षित राजधानीका लागि वीरेन्द्रनगरमा साइरन जडान

सुर्खेत

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा साइरन जडान गरिएको छ । कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने प्रदेश सरकारको निर्णय अनुसार सुरुमा शुुक्रबार वीरेन्द्रनगर नगरपालिका–६ प्रगतिनगर टोलमा साइरन जडान गरिएको हो ।आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले साइरनको उद्घाटन गरेका हुन् ।

प्रगतिनगरमा राखिएको साइरन टोलका ६० जनाको मोवाइलमा सेट गरिएको छ । उनीहरुले नै टोलमा चोरी, डकैती, लुटपाट तथा अपराधिक क्रियाकलाप, प्राकृतिक प्रकोप जस्ता घटना भएमा साइरनको कोड पठाउन सक्नेछन् । उनीहरुले कोड पठाउने वित्तिकै साइरन बज्नुका साथै ६ जनाको मोवाइलमा म्यासेजमा जाने छ । जसमा ५ जना स्थानीयवासी छन् भने एउटा म्यासेस प्रहरीलाई जाने गरी मिलाइएको डिजिटल कर्णाली प्रदेश निर्माण कार्यदलका सदस्य डीएसपी वीरबहादुर वलीले जानकारी दिए ।

साइरनको उद्घाटन पछि कर्णाली प्रदेशका गृहमन्त्री नरेश भण्डारीले प्रदेशलाई डिजिटल बनाउने निर्णयअनुसार सवारी साधनमा जीपीएस जडानसँगै वीरेन्द्रनगरमा साइरन जडान गरिएको बताए । उनले प्रदेशका शहर सुरक्षित नभएसम्म समृद्धिको बाटो नखुल्ने भन्दै पहिलो कदम स्वरुप शहर सुरक्षित गर्न साइरन जडान गरिएको बताए ।
कार्यक्रममा एआईजी रणबहादुर चन्दले पनि प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने भन्दै डिजिटल प्रदेश निर्माणको समेत आधार तयार गर्ने बताए । यसअघि कर्णाली प्रदेशका सवारीसाधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जडान गरिएको थियो ।