Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

प्रमबाट फागुन २७ गते विश्वासको मत खोजिने

 

काठमाडौँ, २० फागुन

प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको आजको बैठकमा सो मितिमा सहमति भएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले राससलाई जानकारी दिनुभयो । प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान संविधानको धारा ७६(४)मा व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष तथा प्रतिनिधिसमाभा नवनिर्वाचित सदस्य ओलीलाई यही फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

बैठकले दुवै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचनको तालिकासमेत स्वीकृत गरेको प्रवक्ता डा गौतमले बताउनुभयो । निर्वाचन तालिकानुसार सभामुखको निर्वाचन फागुन २६, राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन ३०, उपसभामुखको निर्वाचन आगामी चैत २ र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत ४ गतेका लागि निर्धारण भएको छ ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र दुवै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बैठकमा संघीय संसद् सञ्चालनका लागि तत्काल आवश्यक पर्ने अन्तरिम कार्यविधिलाई सामान्य संशोधनसहित फागुन २१ को पहिलो बैठकमा प्रस्तुत गरिने र सोमबार नै पारित गरिने सहमति भएको उहाँले बताउनुभयो ।

रासस