Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

संविधान कार्यान्वयनमा प्राथमिकता– सभामुख महरा

 

काठमाडौँ, २६ फागुन

नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकले उहाँ सभामुखमा निर्वाचित भएको औपचारिक घोषणापछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधान कार्यान्वयनका लागि आवश्यकपर्ने कानून निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सभामुख महराले भन्नुभयो, “सबै राजनीतिक दलले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ, अब मुलुकलाई आवश्यकपर्ने कानून निर्माणमा मेरो प्राथमिकता हुनेछ ।”

उहाँले सबै नेपाली जनताको आस्था र मनोविज्ञानलाई सम्बोधन गर्ने र सबै समस्याको निकास निकाल्ने थलोका रुपमा संसद् रहेकाले त्यसलाई मनन गरेर आफू अघि बढ्ने बताउनुभयो ।

निर्वाचित भएपछि महरालाई प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगातका सांसद र संसद् सचिवालयका कर्मचारीले बधाई दिनुभएको थियो ।
सभामुख महराको शपथ आइतबार

यसैगरी नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले आइतबार पद तथा गोपनियताको शपथ लिनुहुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट महरालाई आइतबार बिहान ११ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणको कार्यक्रम तय भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
सभामुख महरा आजको प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित हुनुभएको हो ।

रासस