यो मेरो अनुभुतिको संग्रह हो–गजलकार निरौला
२८ माघ, २०७४
बाँके,
नारी दिवसको अवसरमा गजलकार देबकी निरौलाको गजल संग्रह ‘उद्घोष’ शनिबार कोहलपुरमा विमोचन भएको छ ।

‘उद्घोष’को विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बाँके क्षेत्र नं १ (ख) प्रदेशसभाका सांसद आरती पौडेलले भनिन्, ‘अझै पनि हामी महिला दिदीबहिनीहरु कुनै न कुनै घरायसी या अन्य समस्यामै अल्झिएका छौं । यसरी नै हामीले समान सहभागिता देखाउनु जरुरी छ । जुन देवकी निरौलले ‘उद्घोष’ मार्फत गरेकी छिन् ।’ उनले, अझै पनि धेरै महिला दिदीबहिनीहरु आफैले आफैलाइै जित्न नसकेर पछाडि परेको बताइन् । त्यसका लागि सबैसँग हातेमालो गर्दै महिला पुरुष दुबैको सबै ठाउँमा समान सहभागिता हुन सबै जागरुक हुनु पर्ने कुरामा जोड दिइन् ।

कार्यक्रममा प्रमुख अतिथिबाट कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयलाई उद्घोष हस्तारण गरेर कार्यक्रमको उद्घाटन गरिएको प्रतिष्ठानका सचिव पुष्कर रिजाल पुष्पले बताए ।
विमोचन कार्यक्रममा कथाकार सनत रेग्मी, नेपालगन्ज उप-महानगरपालिकाका उप-प्रमुख उमा थापा, कोहलपुर नगरपालिकाका उप-प्रमुख सञ्जु कुमारी चौधरी लगायतले गजलकार देवकी निरौलाको यो कदम राम्रो रहेको बताए ।

कार्यक्रममा भावुवक हुँदै गजलकार निरौलले भनिन्, यो मेरो आजसम्मको अनुभूतिको संग्रह हो । यसमा मेरो अथवा म जस्तै पात्रको सुख, दुःख सबै कुरा समेटिएको छ । उनले हरेक महिलाहरु घरायसी परिबन्धबाट अझै माथि उठ्न सक्नु पर्ने र आफुमा धेरै पछि यो चेत आएको बताइन् ।
विमोचन पश्चात भएको रचना वाचन कार्यक्रममा सागर गैरे, परदिप भट्टराई, मणि अर्याल, किरण आचार्य, सालिकराम सापकोटा, ऋचा लुइटेल, बद्री ढकाल, देवेन्द्र आचार्य, विष्णु पादुका, वि पी अस्तु, शान्ति अधिकारी, नमिता बराल, भुपेन्द्र सुवेदी, तुलाधर बिश्वकर्मा लगाएत दुई दर्जन बढीले आफ्ना रचना वाचन गरेका थिए ।

उक्त विमोचन कार्यक्रमको अवसरमा विक्रम शिशिरको संयोजकत्वमा रहेको कला उपसमितिका कलाकारहरुबाट बनाएका चित्रहरु पनि प्रदर्शन गरिएको प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले इआवाजलाई बताए ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको २५ औं प्रकाशनका रुपमा ‘उद्घोष’ आएको हो ।


इआवाज






