जलेर घाइते भएका बालकको उद्धार
सुर्खेत, ७ चैत्र ।
आगोले जलेर घाइते भएका एक बालकको उद्धार गरिएको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका ९ घाटगाउँका ६ वर्षीय निरजन नेपालीलाई उद्धार गरी अस्पताल भर्ना गरिएको हो । कर्णाली प्रदेशसभाकी सांसद पद्मा खड्काको पहलमा बालकलाई बुधबार मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याइएको हो । सांसद खड्काले बालकको सम्पुर्ण उपचार खर्च व्यहोर्ने बताएकी छन् । सांसद खड्कासँगै पत्रकार दीपक बुढा र व्यवसायी निरक वलीले निशुल्क उपचारबाहेक लाग्ने अतिरिक्त खर्च व्यहोर्ने भएका छन् । फागुन २९ गते चौकुने गाउँपालिकामा रहेको उनको घरमा आगलागी भएको थियो । केटाकेटीले ज्वलनशिल पदार्थ जताभावी रुपमा चलाउदा आगलागी भएको निराजनका बुवा जगत नेपालीले बताए । आगलागीबाट निराजन गम्भिर घाइते भएका हुन् ।

निराजनको टाउको, हात, खुट्टामा आगोले पोलेको छ । सोही वडाका बल नेपालीको छोरी वर्ष ४ की अनुसा नेपालीको आगोमा जलेर मृत्यु भएको थियो । आगलागीका कारण जगतको घर पुर्ण रुपमा तहसनहस भयो । चौकुने गाउँपालिका ९ नं. वडा कार्यालयका अनुसार आगलागीमा जगतको नौँ लाख बरावरको धनमालको क्षति भएको छ । निराजनको टिकापुर अस्पतालमा सामान्य उपचार पश्चात वीरेन्द्रनगर ल्याइएको हो । केही दिन पहिले निराजनका बुबा जगत सहयोगको याचना गर्दै वीरेन्द्रनगर आइपुगेका थिए । वीरेन्द्रनगरबाट संचालित विभिन्न मिडियाहरुमा उनको समाचार प्रकाशन प्रशारण भएको थियो ।






