Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

आर्थिक कार्यविधि विधेयक र संसद नियमावली विधेयक संसदमा पेश

सुर्खेत, १६ चैत

कर्णाली प्रदेशको प्रदेशसभामा आर्थिक कार्य्विधि विधेयक र संसद नियमावली विधेयक पेश भएको छ भने अर्को बैठक आगामी चैत्र २० गते बस्ने संसद सचिवालयले जनाएको छ ।


प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले सरकारका आर्थिक गतिविधि, बजेट निर्माण गर्न र खर्च गर्न यो विधेयक पारित गरी ऐन बनाउनु पर्ने बताए । संसदमा उक्त विधेयक प्रस्तुत गर्दै मन्त्री ज्वालाले विधेयक पास भई ऐन बनेको खण्डमा बेरुजु फछ्र्यौट गर्न अब काठमाडौं जान नपर्ने बताएका छन् । उनले प्रदेश सञ्चित कोष स्थापना गर्न, अन्तर मन्त्रालयमा बजेट विनियोजन गर्न, खाता खोल्न र खर्च गर्न यो विधेयक पास हुन जरुरी रहेको जिकिर गरे ।

प्रदेससभा नियमावली मस्यौदा सदनमा पेश गर्दै नियमावली मस्यौदा समितिका संयोजक सीता नेपालीले संसदको अन्तरिम नियमावलीलाई स्थानान्तरण गर्न र स्थायी रूपमा संसदका गतिविधिलाई चुस्तदुरुस्त गराउन मस्यौदा पारित गर्नु अनिवार्य भएको बताइन् ।

यसै गरी आज (शुक्रबार १६ गते) को बैठकले कार्य व्यवस्था परामर्श समिति गठन गरेको छ । सभामुख राजबहादुर शाहीले कार्य व्यवस्था परामर्श समिति गठन सम्बन्धि प्रस्तावलाई संसद बैठकले सर्वसम्मत अनुमोदन समेत गरेको छ ।

समितिको संयोजकमा सभामुख राजबहादुर शाही छन् भने सदस्यहरूमा नरेश भण्डारी, पुष्पा घर्ती, करवीर शाही, गुलावजंग शाह, दीनबन्धु श्रेष्ठ, धर्मराज रेग्मी, मीनासिंह रखाल, सीता नेपाली, शोसिला शाही र हिमबहादुर शाही रहेका छन् । संसदको अर्को बैठक आगामी चैत २० गते बस्नेछ ।