देउती बज्यैमा धनधान्य महायज्ञ हुने
सुर्खेत १९ चैत्र ।
सुर्खेतको प्रसिद्ध धार्मिक स्थल देउती बज्यैमा धनधान्य महायज्ञ हुने भएको छ । कर्णाली प्रदेशले ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ मनाउने तयारी तिब्र पारेको बेला सुर्खेतको देउती बज्यै मन्दिरलाई व्यवस्थित गर्न ‘देउती बज्यै यज्ञ २०७५’ हुने भएको छ । यज्ञ आगामी वैशाख ७ गतेदेखि शुरु हुनेछ । नौं दिनसम्म सञ्चालन हुने सो यज्ञबाट आएको दानले मन्दिरलाई वास्तुशास्त्र अनुासर पुर्ननिर्माण गरिने छ । देउती बज्यै परिसरलाई आगामी ३ देखि ५ वर्षभित्र व्यवस्थित गर्ने लक्ष्य सहित यज्ञको थालनी गरिएको जनाइएको छ ।

पुर्ननिर्माण गर्नका लागि करिब ५ करोडको लगानी हुने व्यवस्थापन आयोजक समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए । ‘यज्ञबाट उठेको रकमबाट समितिले चिया समेत खाने छैन’ गिरीले भने । संयोजक गिरीका अनुसार आज बिहान ८ बजे मन्दिर परिसरमै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी सहित इन्जिनियर र प्राविधिकको टोली देउती बज्यै मन्दिर परिसरमा पुग्नेछन् । मन्दिर परिसरको स्थलगत अवलोकन पछि मन्दिरको गुरुयोजना बमोजिम मन्दिरको पुर्ननिर्माण गरिने छ ।
अहिले भइरहेको संरचना र व्यवस्थापनलाई कुनै असर नगर्ने जानकारी दिँदै आयोजक समितिका संयोजक मुकुन्दश्याम गिरीले देउती बज्यै मन्दिरलाई वास्तुशास्त्र अनुसारको भौतिक पूर्वाधार तयार गर्नका लागि गुरुयोजना नै बनाएर अघि बढ्ने जानकारी दिए । देउती बज्यै मन्दिरमा व्यवस्थित शौचालय, भक्तालुजनहरुका लागि बस्ने स्थान, वास्तुशास्त्र अनुसार मन्दिरको व्यवस्थापन गर्नका लागि र साच्चिकै देउती बज्यै मन्दिरमा आनन्द आउने तरिकाले पूजा आजा गर्ने व्यवस्थापन गर्नका लागि अघि बढेको संयोजकले जानकारी दिए ।
समितिले देउती बज्यै मन्दिरको पुनर्निमाणका लागि इँटादेखि मन्दिर बनाउनेसम्मका महानुभावलाई सम्मान गरिने बताए । समितिले सबैको सहयोगमा देउती बज्यै मन्दिरको मुहार परिवर्तन गर्न सकिने भएकाले सबैलाई सहकार्य, समन्वय र पुण्यका लागि हातेमालो गर्न आग्रह गरेको छ । यज्ञ सञ्चालन गर्नका लागि देवघाटबाट सुर्खेत आइपुगेका युवा सन्त सबिन शिवाकोटीले मन्दिर भित्र स्नान गृह, आश्रम, बगैंचा, सफा शौचालय, कुण्ड, विश्रामस्थल र मन्दिरहरु निर्माण गरिने बताए । उनले धनी होइन दानी बन्नका लागि मन्दिर निर्माणमा हातेमालो गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
देउती बज्यै मन्दिरमा यज्ञ सञ्चालनका लागि मुकुन्दश्याम गिरीको संयोजकत्वमा २१ सदस्यीय व्यवस्थापन आयोजक समिति बनेको छ । समितिको सहसंयोजकमा डाक्टर सिं गुरुङ, महासचिव रमेश सापकोटा, सचिव नारायणकुमार चपाई, सहसचिव जीवनकुमार शर्मा, कोषाध्यक्ष सुरजप्रसाद आचार्य, सहकोषाध्यक्ष रमेश खड्का रहेका छन् ।
यज्ञका लागि संयोजक मुकुन्दश्याम गिरीले ५१ हजार १ सय रुपैयाँ र सहसंयोजक डाक्टर सिंह गुरुङले ७० हजार रुपैयाँ र शिवमन्दिर निर्माण गर्ने जनाइएको छ ।






