क्षमापूजासँगै देउती बज्यै मन्दिर व्यवस्थापनको काम शुरु
सुर्खेत २४ चैत्र
वीरेन्द्रनगरमा रहेको धार्मिक तिर्थस्थल गंगामाला देउती बज्यै मन्दिरमा गुरुयोजना अनुसार काम शुरु भएको छ । आज (शनिवार–२४ चैत्र) बिहान क्षमापूजा गरी मन्दिर व्यवस्थापनको काम शुरु गरिएको हो । २०२९ सालमा पहिलो पटक पञ्चवली दिइएको थियो भने ४५ वर्षपछि आज मन्दिरमा पञ्चवली दिइएको छ । देउती बज्यै पूर्वाधार विकास समितिको तत्वावधानमा समितिका संयोजक सहित पदाधिकारी तथा सदस्यहरु , उपसमितिका संयोजक र सदस्यहरु , नेपाली सेनाका अधिकृत, प्रहरी अधिकृतहरु लब्ध प्रतिष्ठित व्यक्तिहरु विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु समेतको सहभागिता रहेको थियो । परम्परा अनुसार देउतिबज्यैमा कुनैपनि निर्माण कार्य गर्दा पंचवली सहितको क्षमा पुजा गर्ने प्रचलन छ । २०२९ सालमा यसअघिको मन्दिर निर्माणका अवस्थामा पंचवली दिईएको र त्यसपछि यो विधिपूर्वक नै पुजा भएको छ । सेना र प्रहरीबाट पुजाका लागि ब्रह्मण खटाईएको थियो । त्यस्तै पुजामा ब्यण्डबाजा टोलिले रौनकता थपेको थियो । निर्माण समितिले आजैदेखि निर्माण कार्य प्रारम्भ गरेको, यज्ञशाला सहितको कार्य र मन्दिर भित्र फुटेका भौतिक संरचनाहरुलाई समेत पुनर्निर्माण रंगरोगन एवं आवश्यक पूर्वाधार कार्यको प्रारम्भका रुपमा यो क्षमापुजा गरिएको छ । यूदवा सन्त सविन शिवाकोटिको प्रत्यक्ष संलग्नतमा हुनलागेको यो महान कार्य महाँ यज्ञ तथा निर्माण कार्यमा सहभागी वन्न समस्त देव आत्मा भक्तजनहरुमा सादर अनुरोध समेत गरिएको छ ।

आजैबाट मन्दिरको गुरुयोजना अनुसार काम समेत अगाडि बढाइएको छ । ब्राह्मणद्वारा विधिपूर्वक क्षमापूजा गरिएको छ । मन्दिर निर्माणको क्रममा कुनै पनि दोष नलागोस् र गर्न खोजिएको कार्यले सफलता पाओस् भन्दै पूजा गरिएको जनाइएको छ । मन्दिरमा क्षमापूजा र पञ्चवली पूजा गर्नु अघि नेपाल प्रहरी तथा सेनाले मन्दिर परिसरमा सरसफाइ समेत गरेका थिए ।
यस अघि नै देउती मन्दिरको भौतिक अवस्था सुधारका लागि ५ वर्षे गुरुयोजना बनाइ सकिएको छ । उक्त गुरुयोजना अनुसार वैशाख ७ गतेदेखि मन्दिर प्राङ्गणमा देउतीबज्यै विराट धनधान्याञ्चल महायज्ञ– २०७५ शुरु हुने मन्दिर व्यवस्थापन आयोजक समितिका संयोजक मुकुन्दश्याम गिरीले बताए । उनले महायज्ञपछि निरन्तर पाँच वर्षसम्म निर्माण कार्य जारी रहने र निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
हाल भइरहेको संरचनालाई नबिगारी मन्दिरलाई वास्तुशास्त्र अनुसार नै बनाइने भएकोले सम्पूर्ण आम दाजुभाइ दिदीबहिनीहरुलाई तन, मन र धनले सहयोग गर्न आग्रह समेत गरिएको छ ।
देवघाटबाट आएका सन्त सविन सिवाकोटीले आफ्नो ध्यान पवित्र मन्दिर वातावरण निर्माणमा केन्द्रित भएको बताएका छन् । उनले भने ‘जहाँ हेर्नुस् अशुद्ध छ, त्यो अशुद्धताकै कारण दिनहुँ व्यक्तिहरूको अकालमा ज्यान गइरहेको छ,’ सिवाकोटी थप्पछन्, ‘यही परिस्थितिलाई सुधार गर्न म देवघाटबाट आएको हुँ । मसँग अरु कुनै स्वार्थ छैन ।’ उनले पछिल्लो पुस्ता धर्मकर्मप्रति अलि कम चासो देखाउने गरेका कारण समस्यामा परेको दाबी समेत गरे ।






