Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई प्रधानमन्त्रीले सोधे

सुर्खेत २ वैशाख ।

कर्णाली प्रदेशले घोषणा गरेको पर्यटन वर्षको पहिलो औपचारिक कार्यक्रम रारा महोत्सवको उद्घाटन गर्न रारा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली संघीय राजधानी काठमाडौं फर्कने क्रममा आइतबार बिहान मध्यपश्चिमाञ्चल विश्वविद्यालयको निर्माणाधिन भवनको अवलोकन गर्न पुगे सुर्खेतको वीरेन्द्रनगरमा । शुभकामना आदानप्रदान गर्ने उद्देश्यले समेत रहेको उक्त औपचारिक कार्यक्रममा विश्वविद्यालयका उपकूलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालाले स्वागत मन्तव्यको क्रममा २३ करोडको लगानीमा निर्माण हुने भएको विश्वविद्यालयको केन्द्रिय प्रशासनिक भवन १७ करोडमा नै निर्माण हुने बताए । साथमा उनले भने, ५ करोड बचत गर्न सकियो । त्यसपछि औपचारिक कार्यक्रममा विश्वविद्यालयको कूलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्तव्यको क्रममा सोधे, १७ करोडमा भवन निर्माण भइरहेको छ । ५ करोड बचत हुन पुग्यो धन्यवाद तर १ करोड खै ?

प्रधानमन्त्रीको यो प्रश्नसँगै विश्वविद्यालयका पदाधिकारीले मुखामुख मात्र गरेनन् त्यहाँ उपस्थित संघीय मन्त्री, प्रदेशका मुख्यमन्त्री, सांसदलगायत सबैले विश्वविद्यालयका पदाधिकारीहरुलाई एकै पटक हेरे । शुभकामना आदानप्रदानको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले काम छिटो सक्न निर्देशन समेत दिए । उनले भने, पैसा आवश्यकता अनुसार दिन सकिने भएपनि विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेर दक्ष र विज्ञ जनशक्तिको उत्पादन गर्नु आजको आवश्यकता हो । प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश पर्यटनदेखि जल र जडिबुटी लगायतका सबै कुरामा सम्भाव्यता बोकेको प्रदेश भएकोले यसको लागि सबै सरकारहरु अघि बढ्नु पर्ने बताए । उनले भने, कर्णालीको विकास गर्नका लागि संघीय सरकार कृत संकल्प छ ।

यस विश्वविद्यालयको केन्द्रिय प्रशासनिक भवनको निर्माण कार्य भइरहेको छ । यस भवनको शिलान्यास पनि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला उनैले गरेका थिए ।