Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

देउती बज्यै महायज्ञको तयारी पूरा

सुर्खेत ५ वैशाख ।

देउती बज्यै पूर्वाधार विकास समितिको आयोजनामा यही वैशाख ७ गतेदेखि १५ गतेसम्म हुने धनधान्याञ्चल विराट महायज्ञ तथा श्रीमद देवी भागवत महापुराणको सम्पूर्ण तयारी पूरा भएको पूर्वाधार विकास समितिले जनाएको छ । एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिइएको हो । ‘देउती बज्यै जाऔं, आधारभूत पूर्वाधार तयार पारौं, अक्षय पूण्य कमाऔं’ भन्ने नारा सहित आयोजना गर्न लागिएको महायज्ञमा आज (वैशाख ५ गते) सम्म ५ लाख ३६ हजार ८ सय ३६ रुपैयाँ दाताहरुले दान गरिसकेका छन् भने ८ लाख ८ हजार ६ सय ४१ रुपैयाँ बराबर दान गर्ने प्रतिवद्धता आइसकेको पूर्वाधार विकास समितिका संयोजक मुकुन्दश्याम गिरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
भक्तजनहरुको लागि हात धुने पानीको व्यवस्था समेत नभएको अवस्थामा गुरुयोजना बनाई स्नानगृह, विश्रामगृह, सवारी साधनको पार्किङ्गको व्यवस्था, यज्ञशाला निर्माण, पञ्चायन देवताको स्थापना, शिव मन्दिर, हनुमानको स्थापना, गणेश मन्दिरको अझै राम्रो व्यवस्थापन, भैरवको व्यवस्थापन, शनि र संकटा मन्दिरको स्थापना, राधाकृष्ण मन्दिरको स्थापनालगायत महिला तथा पुरुषहरुको लागि छुट्टाछुट्टै शौचालयको निर्माण कार्यहरु गरिने संयोजक गिरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
नयाँ योजना अनुसार गरिने कार्यहरु मध्ये यज्ञशालाको निर्माणका लागि आफ्ना मातापिताको सम्झनामा अनुमानित १० देखि १२ लाख मुकुन्दश्याम गिरीले खर्च गर्ने बताए । त्यसैगरी नर्मदेश्यर शिव मन्दिरको स्थापनाका लागि डाक्टर सिंह गुरुङ्गले जति खर्च लागे पनि व्यहोर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मूल मन्दिरमा ठूलो मूर्तिको स्थापनाका लागि गोविन्द गौतमले, हनुमानको मुर्तिको लागि सुरतकुमार पुरीले प्रतिवद्धता व्यक्त गरिसकेको बताइएको छ ।
देउती बज्यैलाई धार्मिक पर्यटकीय हबको रुपमा विकास गर्नका लागि पूर्वाधार समितिले काम गरिरहेको छ । श्रमदानको क्षेत्रमा जनपद प्रहरी र नेपाली सेनाले सहयोग गरिरहेको संयोजक गिरीले बताए । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु लगायत व्यक्तिहरुबाट सहयोग भएको खण्डमा एक वर्ष भित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको छ भने करिब ५ करोडको बजेटको अनुमान गरिएको छ । गुरुयोजना अनुसार ३ देखि ५ वर्षभित्रमा पूर्वाधारका सबै काम सकिने संयोजक गिरीको भनाई छ । देउती बज्यै पूर्वाधार विकास समितिको नाममा जनता बैंक सुर्खेतमा ०३८००२०५१३००३०१ नम्बरको खाता समेत संचालन भइरहेको गिरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यस पटकको महायज्ञमा कलश यात्राको सट्टामा श्रीयन्त्र प्रयोग गरिने पूर्वाधार समितिले जनाएको छ । शुद्ध चाँदीबाट निर्मित श्रीयन्त्र लक्ष्मी माताको बासको रुपमा चिनिन्छ ।
यही वैशाख ७ गते दिउँसो १ बजे उद्घाटन भएर १५ गतेसम्म संचालन हुने महायज्ञमा १० देखि ११ लाख खर्च हुने अनुमान गरिएको छ । महायज्ञ अवधिमा सहभागी हुन चाहनु हुने भक्तजनहरुका लागि मूलकर्ता – १ लाख ५१ हजार, सप्तशति शत्चण्डीपाठ पूजा सहित पूर्ण अनुष्ठान १ लाख ५१ हजार, श्रीमद्भागवत महापूराण पाठ पारायण – ५१ हजार, महागरुड पाठपारायण तथा विशेष पितृतर्पण– ५१ हजार, श्रीदेवी भागवत महापुराण पाठपारायण तथा संगीतमय कथा –१ लाख ५१ हजार, तुलादान, भूमिदान, गौदान, २१ हजार, कालसर्पयोग पूजन सहित ग्रहशान्ति ११ हजार, श्रीयन्त्र पूजन हवन – सशुल्क वितरण–२१ हजार, देउती बज्यै श्रृङ्गार पूजन–९ हजार, देउती बज्यै सन्ध्या आरती– २ हजार १ सय, लक्ष्यदीप प्रज्वलन पूजा सामग्री सहित – २१ हजार, कनककधारास्तोत्र एवम् श्री सुक्त पाठ ११ हजार, नवग्रह शान्ति पाठजप २ हजार १ सय, रुद्रिशान्ति पाठ अभिषेकात्मक पूजासहित २ हजार १ सय, सप्तशति चण्डीपाठ पूजा सहित २ हजार १ सय, विशेष पितृ तर्पण २ हजार १ सय, विष्णु सहत्रनाम पाठ पञ्चशुक्त (राम–गीता) २ हजार १ सय, बेदपाठ पारायण २१ हजार, ब्राह्मण भोजन एक छाक पूर्ण अनुष्ठान २५ हजार, १ दिनको भोजन भण्डार ५१ हजार, सुन्दरकाण्ड एवम् विविधस्तोत्र पाठ पारायण ५ हजार १ सय, साधारण कर्ता ५ हजार १ सय, विशिष्ट कर्ता २१ हजार, स्थापित देवीदेवता पूजन पाठपारायण हवन सहित प्रसाद ग्रहणको लागि ११ हजार दान गर्नु पर्नेछ ।