क्षेत्रीयस्तर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण
वैशाख १४ सुर्खेत ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतको आयोजनामा क्षेत्रीयस्तर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण सम्पन्न भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रबाट छानिएका पाँच जना उत्कृष्ट कृषकहरुलाई पुरस्कार हस्तान्तरण गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित अन्य मन्त्रीहरुको लर्को लागेको थियो ।

क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतको सभाहलमा आयोजना भएको उक्त कार्यक्रममा कर्णाली प्रदेशका मन्त्रीहरु प्रकाश ज्वाला, बिमला केसी, दल रावललगायतका मन्त्रीहरुको उपस्थिति रहेको थियो ।
क्षेत्रीयस्तरमा उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट १ लाखको लगानीबाट फलफूल खेती गरेर ४ सय ५० बोट स्याउ खेती मार्फत ५० क्विन्टल स्याउ उत्पादन गरी वार्षिक ५ लाख आम्दानी गर्दै ५ जनालाई रोजगारी समेत प्रदान गर्न सफल भएका डोल्पाका रणजित बोहोरा, १६ हजार लगानीबाट व्यावसायिक च्याउखेती गरी २ वार्षिक २५ टन च्याउ उत्पादन गर्दै वार्षिक साढे ३३ लाख आम्दानीसहित २४ जनालाई रोजगारी दिन सफल भएका बाँकेका लालबहादुर सुनार, ३१ रोपनी जग्गामा २५ लाख लगानीबाट तरकारी खेती शुरु गरेर वार्षिक २५ लाख आम्दानी गर्दै १० जनालाई रोजगारी दिन सफल दैलेखका देबेन्द्रकुमार गोदार र शिक्षण पेशाका साथै ९ वटा बाख्राबाट पशुपालन अन्र्तगत बाख्रापालन गरि हाल १०५ वटा विभिन्न जातका बाख्रापालन गर्दै वार्षिक ५ लाख आम्दानी सहित ३ जनालाई रोजगारी दिन सफल सल्यानका सुरेश गाहा प्रमाण पत्र, नगद रु २५ हजार सहित दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरिएको छ ।

कार्यक्रममा पुरस्कृत कृषकहरुको तर्फबाट उन्नती एग्रो फर्मका संचालक समेत रहेका देबेन्द्रकुमार गोदारले भने, लोहोरे खोलाको पानी लिफ्ट गरेर कृषि गरिरहेका छौ । कर्णालीलाई साँच्चिकै अर्गानिक प्रदेश बनाउन सकिन्छ तर त्यसका लागि सरकारले सबै किसानहरुलाई समान दृष्टिको व्यवहार गर्न जरुरी छ । अनुदान दिने काममा कसैलाई पाखा र कसैलाई काखा गरेको खण्डमा किसानहरुको जीवनस्तरमा बृद्धि हुनुको साटो उनीहरुको काम गर्ने जोश र जाँगरमा ह्रास आउँछ । उनले थपे, आयातमुखी भन्दा निर्यातमुखी हुन जरुरी छ । त्यसको लागि मल, विउलगायत कृषि सम्बन्धी उपकरणहरु सहज रुपमा उपलब्ध हुनुपर्छ । केवल कागजमा लेखेर मात्र कुनै पनि कुराको परिवर्तन हुँदैन त्यसको लागि व्यवहारमा उत्रिनु पर्ने उनको तर्क थियो ।

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, हामी हाम्रै मतिबुद्धिले गरिब भएका छौ अब मतिबुद्धिमा सुधार गरेर अगाडिबढ्नु पर्छ । सोच परिवर्तन नभएसम्म कुनैपनि कुरामा परिवर्तन हुन नसक्ने मुख्यमन्त्री शाहीको भनाई थियो ।
कार्यक्रममा उपस्थिति अतिथि तथा आमन्त्रितहरुलाई क्षेत्रीय कृषि निर्देशनालयका बखत खड्काले स्वागत गरेका थिए ।






