‘प्रदेश सरकारले पूर्वाधार विकासमा सहयोग गर्छ’
सुर्खेत
देउती बज्यै पूर्वाधार समितिको आयोजनामा देउती बज्यै मन्दिरमा यही वैशाख ७ गतेदेखि संचालन भएको महायज्ञ समापन भएको छ । महायज्ञ समापन समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै कर्णाली प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री यामलाल कंडेलले प्रदेश सरकारले देउती बज्जैको पूर्वाधार विकास गर्नमा सहयोग गर्ने बताएका छन् । उनले भने, धार्मिक पर्यटन विकासका लागि देउती बज्यैको पूर्वाधार विकास गर्न जरुरी थियो जुन कार्यको शुरु भएको छ । गुरुयोजना अनुसार काम गरेमा कुनै पनि संरचनाहरु बनाउँदै र भत्काउँदै गर्नु नपर्ने भएकोले गुरुयोजना अनुसार नै अघि बढ्न सुझाव दिए ।

महायज्ञ समापनका अवसरमा मोटामोटी आय–व्यय समेत प्रस्तुत गरिएको छ । पूर्वाधार विकास समितिका कोषाध्यक्ष सुरज आचार्यले ६३ लाख ६३ हजार ३ सय २१ रुपैयाँ प्रतिवद्धता र २० लाख संकलन भएको दानसहितको आय–व्यय प्रस्तुत गरेका थिए । साथै पूर्वाधार विकास समितिका सचिव रमेश सापकोटाले पूर्वाधार विकास समितिले अहिलेसम्म भए गरेका कार्यहरुको विवरण प्रस्तुत गरेका थिए । समापन हुने समयसम्मको यथार्थ विवरण तयार भइ नसकेको कारण समितिले पछि आय–व्यय प्रस्तुत गर्ने कोषाध्यक्ष आचार्यले जानकारी दिए ।

समापन कार्यक्रममा दान दिने दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका वडा अध्यक्षहरु लगायत राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो । गुरुयोजना अनुसार कार्य गर्नका लागि महायज्ञबाट शुरुवात गरिएको र यो कार्य जारी रहेको पूर्वाधार विकास समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए । युवा व्यावसायी कमल खड्काले आफ्नी स्व. आमा भुवनसरा खड्का र दाइ दीपक खड्काको सम्झनामा कमल खड्का जुनीले महायज्ञको समापनको दिन १ लाख ५१ हजार १ सय ११ दान गरेका थिए ।
कार्यक्रमका सभापति एवम् पूर्वाधार विकास समितिका संयोजक मुकुन्दश्याम गिरीले महायज्ञ समापन गरेका थिए ।
पूर्वाधार विकास समितिका अध्यक्ष मुकुन्दश्याम गिरीको सभापत्विमा भएको उक्त कार्यक्रमको सहजीकरण माया थापाले गरेकी थिइन् ।






