Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

रासस कर्मचारी संघमा लामिछाने

 

काठमाडौँ, २१ वैशाख

राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी संघका अध्यक्षमा मनोज लामिछाने पुनःनिर्वाचित हुनुभएको छ ।

संघको आज यहाँ सम्पन्न साधारणसभाले अध्यक्ष लामिछानेसहित १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको हो । संघका वरिष्ठ उपाध्यक्षमा केदारप्रसाद तिमल्सिना, समावेशी उपाध्यक्षमा पवित्रा गुरागाईं, महासचिवमा सिबी अधिकारी, सचिवमा कुमार चौलागार्इं, समावेशी सचिवमा छविलाल कुमाल र कोषाध्यक्षमा प्रमोद कार्की निर्वाचित हुनुभएको छ । सदस्यमा मैना थापा, जीवन भण्डारी, यादव गोतामे, शेरबहादुर सिंह, नारायणी रजौरे, वीरेन्द्रकुमार कर्ण, मोहमद सदरुल र शम्भु यादव चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि सभाको उद्घाटन सत्रका वक्ताले राससको उन्नयन र व्यवस्थापकीय सुदृढीकरणका लागि संघसंगठनको रचनात्मक भूमिकाको खाँचो औँल्याउँदै रासस सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

राससका अध्यक्ष कुलचन्द्र वाग्लेले संस्थाको व्यावसायिक क्षमता अभिवृद्धि गरी गुणस्तरीय सेवा प्रवाहमा सबै सक्रिय ढंगले लाग्नुपर्नेमा जोड दिनुभयो । महाप्रबन्धक ओपेन्द्र शर्माले अधिकार र दायित्वलाई आत्मसात् गर्दै संस्थागत सुदृढीकरणमा संघसंगठन केन्द्रित हुनुपर्ने बताउनुभयो । नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले संगठनभन्दा माथि उठेर व्यावसायिकतालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।

रासस सञ्चालक समिति सदस्य एकराज पाठकले राससको गरिमालाई उँचो बनाउन समन्वयात्मक र सहकार्यको माध्यमबाट अघि बढ्नुपर्छ भन्नुभयो । प्रधानसम्पादक राजु शाक्यले राससको सेवामा स्तरवृद्धिका लागि सबैको योगदान जरुरी भएको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघका सचिव शीतलप्रसाद महतो र महासंघ रासस शाखाका उपाध्यक्ष मोहिनी रिसालले राससको उन्नयनका लागि संघले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष लामिछानेले समग्र कर्मचारीको हकहितका लागि संघ समन्वयात्मक ढंगले अघि बढ्ने बताउनुभयो । राष्ट्रिय कर्मचारी संगठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले राससका कर्मचारीको वृत्ति विकासका लागि संघसंगठनबीच समन्वय र सहकार्य जरुरी भएको उल्लेख गर्नुभयो । सभामा सचिव कुमार चौलागाईंले प्रस्तुत गरेको सांगठनिक र कोषाध्यक्ष शशिधर अधिकारीले प्रस्तुत गरेको आयव्यय प्रतिवेदन सर्वसम्मत रुपले पारित भएको थियो ।

(रासस)