सुर्खेत फिस्टुला केन्द्र ः ६ करोडको भवन हस्तान्तरण
सुर्खेत
साइनिङ्ग अस्पताल आइ. एन. एफ. नेपाल सुर्खेतले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँसँगको सहकार्यमा संचालन हुने गरि निर्माण गरिएको सुर्खेत फिस्टुला केन्द्रको भवन क्षेत्रीय अस्पताल सुर्खेतलाई हस्तान्तरण गरेको छ ।

फिस्टुलाका समस्याबाट ग्रसित महिलाहरुको उपचारलाई सहज बनाउन फिस्टुला केन्द्रको स्थापना गरिएको बताइएको छ । उक्त केन्द्रको स्थापनाका लागि डा. सेर्लि हेओडले विभिन्न दाताहरुसँग ६ करोड ११ लाख ३९ हजार १ सय ५५ रुपैयाँ सहयोग जुटाएर २० कोठे भवन गरिएको हो । भवन हस्तान्तरण पत्र साइनिङ्ग अस्पताल आइ. एन. एफ. नेपाल सुर्खेतका अस्पताल व्यवस्थापक मंगल बहादुर थारुले क्षेत्रीय अस्पताल सुर्खेतका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. डम्बर खड्कालाई हस्तान्तरण गरि भवन हस्तान्तरण गरेको बताउनु भयो ।
उक्त भवन क्षेत्रीय अस्पताल सुर्खेतलाई हस्तान्तरण गर्न पाउँदा कुनै दिन फिस्टुला केन्द्रको स्थापना गर्नका लागि देखेको सपना पूरा भएको साइनिङ्ग अस्पताल आइ. एन. एफ. नेपाल सुर्खेतका अस्पताल व्यवस्थापक मंगल बहादुर थारुले बताउनु भयो । जर्मनी फेडेरल अर्थ मन्त्रालय सहकारी विकास, युके डोनर, फिस्टुला फाउण्डेशन युएस, प्रोजेक्ट ३३ अस्ट्रियाको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको हो ।

विगत १५ वर्षदेखि नेपालका विभिन्न ग्रामीण जिल्लाहरुमा स्त्री रोग विशेषज्ञका रुपमा काम गर्दै आइरहेकी डा. सेर्लि हेओडले फिस्टुला भएर पीडा भोगिरहेका महिलाहरुलाई देखेर फिस्टुला केन्द्रको स्थापना गर्न सके महिलाहरुले उक्त पीडाबाट मुक्ति पाउने सपना देखेको बताउनु भयो । डा. सेर्लिले उक्त केन्द्र उपचार गर्न आउने फिस्टुलाका सबै विरामीहरुको निःशुल्क उपचार, अपरेशन हुने र फर्किदा यातायात सुविधा समेत प्रदान गरिने बताउनु भयो । योनी मार्ग र पिसाव थैलीको बिचमा वा आन्द्रामा प्वाल पर्न गई निरन्तर पिसाब बग्नु नै फिस्टुला हो । लामो समयसम्म प्रशव व्यथा लागेमा यो समस्या उत्पन्न हुने गर्दछ ।
क्षेत्रीय अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. डम्बर खड्का, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतका बृषबहादुर शाही, स्त्री तथा प्रसुती रोग विभागीय प्रमुख डा. केशर ढकाल, अस्पताल विकास समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

फोटो क्याप्सन ः फोटो नं. १– भवन हस्तान्तरण पछि प्रमुख मे.सु. डा. डम्बर खड्का र डा. सेर्लि सहित उपस्थित विभिन्न पदाधिकारीहरु ।
फोटो नं. २ – क्षेत्रीय अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. डम्बर खड्कालाई भवन हस्तान्तरण पत्र प्रदान गर्दै साइनिङ्ग अस्पताल आइ. एन. एफ. नेपाल सुर्खेतका अस्पताल व्यवस्थापक मंगल बहादुर थारु ।






