Loading... आजः १९ आश्विन २०८३, सोमबार । Monday 5th October 2026

क्षमता अभिबृद्धि तालिम शुरु

सुर्खेत
संसदीय मामिला रिपोटिङ्गसम्बन्धी क्षमता अभिबृद्धि तालिम सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको छ । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखा तथा कर्णाली प्रदेशको समन्वय र संसद सचिवालय कर्णाली प्रदेशको आर्थिक सहयोगमा उक्त तालिम संचालन भएको हो ।


तालिममा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले प्रदेश सरकारलाई कसरी मर्यादित बनाउन सकिन्छ भन्नेमा आफू जहिले पनि सकारात्मक रुपमा रहेको बताउनु भयो । साथै उहाँले भन्नुभयो, संस्थागत रुपमा मिडियालाई उच्च प्राथमिकतामा राखेर लैजान आवश्यक छ । जुन कार्य गर्नका लागि म जहिले पनि तत्परताका साथ लागिरहेको छु । संसद र सांसद भनेका कानून निर्माण गर्ने थलो भएकाले कानून निर्माणका साथै भौतिक विकास पनि निरन्तरता प्रक्रियाबाट अघि बढ्ने उहाँको भनाई थियो ।
तालिमको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य हिमबहादुर शाहीले पत्रकारिता जगत निश्पक्ष, निर्भय, निस्वार्थ भएर लाग्न जरुरी रहेको बताउँदै कर्णाली प्रदेश सभा सदस्यको हैसियतले आफू पत्रकारिता क्षेत्रको विकास लागि गर्नु पर्ने काममा कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय पूर्व सचिव जगत नेपाल, सुशिल पन्तले प्रशिक्षण दिनु भएको थियो भने उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल, सुर्खेत जिल्ला अध्यक्ष गणेशकञ्चन भारती, कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम आज शुक्रबार समापन हुनेछ ।