दृष्टिविहिन हेरविचार केन्द्रले गर्यो सम्मान
१९ श्रावण, सुर्खेत ।
दृष्टिविहिनहरुका क्षेत्रमा काम गर्दै आएको दृष्टिविहिन हेरविचार केन्द्रले सुर्खेतले आज एक समारोहका वीच आफ्ना मानार्थ तथा आजीवन सदस्यहरुलाई सम्मान गरेको छ ।
केन्द्रले विभिन्न समयमा दृष्टिविहिनहरुकालागि विभिन्न माध्यमबाट सहयोग गर्ने दाताहरुलाई दोसल्ला ओढाएर तथा सम्मान पत्र सहित सम्मान गरेको हो ।
कार्यक्रममा बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि का अध्यक्ष पञ्चसिंह रोकायले आफूले स्थापना गरेको कोषबाट आर्थिक बर्ष २०७५/०७६ मा रु ७५ हजार सहयोग गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी केन्द्रका उत्कृष्ट दाता नेपालगंजका स्व. हिराकाजी शाक्यका छोरा सन्तोषकाजी शाक्यले दृष्टिविहिनहरुलाई सहयोग गर्नुभएको कुरा आजै मात्र थाहा भएको र आजको सम्मान कार्यक्रममा आफ्नो बुवाको कारणले प्रमुख अतिथी बन्ने सौभाग्य पाएको बताउँदै आगामी दिनमा आफूले पनि सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा विदेशमा बसेर सहयोग गर्ने जयन्ति थापा बुवा धर्मजंग थापाले छोरीले विदेशमा काम गरेको कमाइ गरेको केही रकम बचाइ समाजिक क्षेत्रमा खर्च गरेकोमा आफु गौरान्वित भएको बताउँदै आजको यस्तो महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथीका रुपमा निम्ता गरिएका कर्णाली प्रदेशका समाजिक विकास मन्त्री दल रावल उपस्थित नहुँदा खल्लो महसुस भएको बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले दृष्टिविहानहरुकालागि आफुले फेसबुक तथा प्रत्यक्ष भेटेर सहयोग माग्दै दृष्टिविहिनका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
अध्यक्ष शाक्यले दृष्टिविहिन हेरविचार केन्द्रले सुर्खेतमा मात्र नभै देशको विभिन्न जिल्लामा रहेका दृष्टिविहिनहरुलाई सके सम्मको सहयोग गरिरहेको बताउँदै आजको कार्यक्रममा कर्णाली प्रदेशका समाजिक विकास मन्त्री दल रावललाई केही अगाडी नै निम्ता दिएको र मन्त्री रावलको समय अनुसार आजको कार्यक्रम राख्दा पनि मन्त्री रावल कार्यक्रममा उपस्थिती नहुनुभएकोमा खिन्नता प्रकट गर्नुभयो ।
कार्यक्रममा नेपाल मगर संघका डिलबहादुर बंशीले केन्द्रलाई मासिक १ हजार दिने घोषणा गर्नुभएको थियो । त्यस्तै प्रमुख अतिथी सन्तोषकाजी शाक्यले रु १० हजार सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा गणेशजल बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रेम विसी, नेपाल नेत्रहिन संघका कर्णाली प्रदेशका संयोजक सुरेश खड्का, तमु ह्ययुल छोंज धी सुर्खेतका अध्यक्ष गगनसिंह गुरुङ्ग लगाएतले शुभकामना दिनुभएको थियो ।
केन्द्रका उपाध्यक्ष दृष्टिविहिन मेनका आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको संचालन दृष्टिविहिन सोमना खड्काले संचालन गर्नुभएको थियो






