फेसबुकबाट अश्लील तस्बीर पठाउने प्रहरीको फन्दामा
सुर्खेत
फेसबुकबाट अश्लील तस्बीर पठाएको अभियोगमा सुर्खेतका एक युवा प्रहरीको खोरमा पुगेका छन् । सुर्खेतको लेकबेंसी नगरपालिका–७ कल्याणका टीकाराम खड्का फेसबुकबाट अश्लील तस्बीर पठाएको अभियोगमा पक्राउ परेका हुन् । फेसबुकबाट एक महिलाका लागि अश्लील फोटो पोस्ट गरी कसुर गरेको जाहेरी दरखास्त परेकाले पक्राउ गरिएको सुर्खेत प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव निरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार खड्कालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार विद्युतीय माध्यमबाट अश्लील तस्बीर वा चित्र देखाएमा यौन दुव्र्यहार मानिने उल्लेख छ । उक्त अभियोग प्रमाणित भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । मुलुकी अपराध संहिता लागूभए पछिको सामाजिक सञ्चालमा अश्लील तस्बीर पठाएर प्रहरीको फन्दामा परेको यो सुर्खेतको पहिलो घटना हो ।






