‘खोज पत्रकारितामा चुनौति थपियो’
सुर्खेत
फौजदारी एवम् देवानी संहिता २०७४ ले खोज पत्रकारितामा चुनौति थपिदिएको बताइएको छ । फौजदारी एवम् देवानी संहिता २०७४ ले पत्रकारहरुको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । पत्रकारिता पेशामा अंकुश लगाएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले गरेको निर्णय अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको थियो । अन्तरक्रिया कार्यक्रममा संहिताको तत्काल संशोधन हुनु पर्ने, संचार जगतलाई अंकुश लगाउन नहुने लगायतका मागहरु उठिरहेका छन् ।

अन्तरक्रिया कार्यक्रममा सुर्खेत उच्च अदालत बारका अध्यक्ष उत्तम आचार्यले फौजदारी तथा देवानी संहिताले पत्रकारहरुलाई पार्न सक्ने कठिनाईका बारेमा चर्चा गर्नुभएको थियो । यसैगरी औपचारिक कार्यक्रमका समाचार लेख्नेहरुलाई समस्या नभएपनि जसले अनुसन्धानमूलक समाचारको खोजी गर्छ त्यसलाई अंकुश लगाउने संहिता आएकोले यसलाई संशोधन गर्न सबैले दबाब दिनु पर्ने उहाँको भनाई थियो । पत्रकार महासंघ सुर्खेतका पूर्वअध्यक्ष कमलेश डिसी, पिताम्बर ढकाल, पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले समेत यो संहिताले पत्रकारको कलम माथि अंकुश लगाएकोले यसलाई तुरुन्तै संशोधन गर्न जिल्ला प्रशासन, प्रदेशका मुख्यमन्त्रीमार्फत ज्ञापन पत्र बुझाउने बताउनु भयो ।

मुलुकी फौजदारी संहिता एैन २०७४ ले अनुमति नलिइ फोटो खिच्नेलाइ २ बर्ष कैद र २० हजार जरीवाना तथा सो फोटो प्रकाशन गरेमा ३ बर्ष सम्मको कैद वा ३० हजार जरीवाना, त्यस्तै ध्वनि अंकन गरे २ बर्ष कैद र २० हजार सम्मको जरिवाना व्यवस्था गरेको छ । प्रेसलाई अङ्कुस लगाउने यो सहित यस्ता बुँदा धेरै छन । यो संहिता अझ सक्रिय पत्रकारिता गरेका तपाइहरूलाई धेरै खतरनाक छ । त्यसकारण यो आन्दोलनमा एैक्यवद्दता जनाउन अनुरोध गर्नुभयो । अध्यक्ष भारतीले भन्नुभयो, भोली तपाई पनि यो संहिताको फन्दामा पर्नु भो भने तपाईका लागि आन्दोलन गर्ने, बिरोधमा बिज्ञप्ति निकाल्ने र प्रहरीको ढोकासम्म पुग्ने पत्रकार महासंघ नै हो । कार्यक्रममा मानवअधिकार संघ संस्थाका प्रतिनिधि, कानून व्यावसायीहरु लगायतको उपस्थिति रहेको थियो । दबाबमूलक कार्यक्रमहरु नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले निर्णय गरे अनुसार क्रमिक रुपमा हुँदै जाने पत्रकार महासंघ सुर्खेत शाखाले बताएको छ ।






