Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

भेरिगंगा धार्मिक महोत्सव उद्घाटन

 सुर्खेत

भेरिगंगा सांस्कृतिक धार्मिक महामहोत्सवको मंगलबार उद्घाटन भएको छ । भेरि नदीको समझीघाटमा स्मार्ट मोक्षघाट निर्माण अभियानका लागि रकम जुटाउनका लागि संचालनमा आएको उक्त महोत्सव कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट उद्घाटन भएको हो । महोत्सव उद्घाटन गर्दै प्रदेश प्रमुख खनालले सुर्खेतबासिहरुले जीवन अन्त्यष्टी पश्चात अर्को लोक प्रवेशको लागि नयाँ र व्यवस्थित मोक्षघाट निर्माण गर्ने प्रयास गर्नु गौरवको कुरा रहेको बताए । उनले यस्तो कार्यको थालनी गरेकोमा आयोजकलाई धन्यवाद समेत व्यक्त गरे । उनले धार्मिक क्रियाकलापद्वारा सामाजिक कार्य गर्नु अत्यन्तै स्रहानीय कार्य भएको उल्लेख गरे ।

प्रमुख खनालले मोक्षघाट निर्माण अभियान अन्र्तगत डिपिआर तयार भएको खण्डमा आफुले गर्नुपर्ने जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत व्यक्त गरे । कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तिले आफु सुर्खेतबासी भएको भन्दै स्मार्ट मोक्षघाट निर्माण अभियानमा प्रदेश सरकारबाट गर्नुपर्ने सहयोगको कुनै कसुर बाँकी नराख्ने प्रतिबद्दता व्यक्त गरिन् । उद्घाटन समारोहमा सामाजिक विकास मन्त्री दल रावलले प्रदेश सरकारद्वारा घोषित डिजिटल कर्णाली प्रदेशलाई स्मार्ट मोक्षघाटले सफल पार्न सक्ने भन्दै उक्त कार्यको लागि न्युनतम २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । उनले धर्मको महत्व बढ्दै आएको समयमा धार्मिक कार्यसँगै कर्मको कार्यक्रम गरिएकोमा आयोजकलाई धन्यवाद समेत ज्ञापन गरे । ‘धर्मका अनुसार समाज परिवर्तन हुन्छ’ उनले भने ‘मोक्षघाट सुर्खेतबासीको मात्र नभई समग्र कर्णाली प्रदेशको हो ।’

भुमि व्यवस्थापन मन्त्री विमला केसीले जनताको महानतालाई कदर गर्दै यस्तो कार्यप्रति खुशी व्यक्त गरिन् । उनले भनिन् ‘स्मार्ट मोक्षघाट अभियानमा तपाईहरु लाग्नुभएकोमा हार्दिक बधाई छ । साथै उक्त कार्यलाई सफल बनाउन आफ्नो मन्त्रालय र प्रदेश सरकार जुनसुकै सहयोग गर्न तयार छ ।’ त्यस्तै उद्योग पर्यटन मन्त्री नन्दसिहं बुढाले आयोजना महत्वपूर्ण भएको भन्दै आफुहरु सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । त्यसैगरि कार्यक्रमको उद्घाटन समारोहमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ स्थित खारखोली सामुदायिक वनले १ लाख ५ रुपैयाँ स्मार्ट मोक्षघाटका लागि दान गरेको छ ।

आयोजक समितिद्वारा उक्त सामुदायिक वनका पदाधिकारिहरुलाई महोत्सव गेटदेखि फुलमाला र बाजा सहित मन्चमा स्वागत गरिएको थियो । यस्तै महोत्सवको अवधिभर यज्ञमा १००८ शालीग्राम भगवानको दर्शन प्रदक्षिणा, प्रत्येक दिन आरती प्रज्वलन, गौदान, ग्रहशान्ति, सोह्रश्राद्धलगायतका धार्मिक संस्कारहरू गरिनेछ भने प्रत्येक दिन विहान १० बजेदेखि ४ बजेसम्म संगीतमय कथा, प्रवचन, झाँकी प्रदर्शन गरिने बताइएको छ । महोत्सवमा संकलन हुने जिन्सी तथा नगदको आयव्यय पारदर्शी तरिकाले सार्वजनिक हुनेमा विश्वस्त हुँदै सबैलाई स्मार्ट दाहसंस्कार स्थल निर्माण गर्ने अभियानमा सहयोग गर्न आग्रह गरिएको छ । समझीघाटमा बनाइने दाहसंस्कार स्थल मुलुककै नमुना हुने अभियानकर्ताहरूले दाबी गरेका छन् ।