देश समृद्धि तर्फ अगाडि बढ्यो
बाइसे चौबिसे राज्यका रूपमा रहेका विभिन्न राज्यहरूलाई पृथ्वीनारायण शाहले एकिकरण गर्ने बेलादेखि नै नेपालले विभिन्न युद्धहरू भोग्दै आयो । कहिले एकिकरणको युद्ध, कहिले बाह्य शक्तिसँगको युद्ध र कहिले प्रजातन्त्रको लागि गरिएको युद्ध । विभिन्न युद्धका कालखण्डहरूमा देशले धेरै जन धनको क्षति व्यहोर्नु प¥यो । राणाहरूले जहानियाँ शासन टिकाइ राख्नका लागि नेपाली जनता माथि गरेको दमन पनि एक प्रकारको आन्दोलन नै थियो । शिक्षाको उज्यालोबाट जनताका छोरी छोरीहरूलाई बञ्चित गराउनु पनि आन्दोलन हो । राणा शासनको दमनबाट पिल्सिएका नेपाली जनताले प्रजातन्त्रको लागि गरेको आन्दोलनले २००७ सालमा प्रजातन्त्रको स्थापना भयो । वास्तवमा प्रजातन्त्रको स्थापना हुनु र नेपाली जनताले स्वतन्त्रको हक प्राप्त गर्नु समृद्धिको शुरूवात थियो भन्दा फरक पर्दैन होला ।
प्रजातन्त्रको स्थापनाबाट नेपाली जनताले पाउनु पर्ने हक र अधिकार अनि सार्वभौमसत्ता सम्पन्न देशको नागरिकको रूपमा गर्नु पर्ने अनुभूति सबै पाउन नसकिरहेको अवस्थामा तत्कालिन राजाले सत्ता आफ्नो हातमा लिएर दलहरूलाई फेरि प्रतिबन्ध लगाएपछि नेपाली जनताको हक र अधिकार खोसियो । भौतिक तथा शैक्षिकलगायतका विकासका गति अघि बढ्न खोजेको अवस्थामा राजा महेन्द्रले गरेको ‘कु’ ले नेपालको विकासमा ठूलो असर पु¥यायो । जसका कारण फेरि नेपाली जनता बाध्य भएर राजाको गुणगान गाउन थाले ।
एक पटक प्रजातन्त्रको स्वाद चाखिसकेका नेपाली जनता र तिनीहरूको नेतृत्व गर्ने नेताहरूले राजाले गरेको थिचोमिचो सहनु हुँदैन भन्ने राम्रोसँग बुझेका थिए । जसको कारण भएको आन्दोलनले २०३६ सालमा जनमत संग्रहको रूप लियो । जनमत संग्रहमा विभिन्न कारणले प्रजातन्त्र पक्षधरहरूले सफलता प्राप्त गर्न नसकेपनि राजनीतिक नेतृत्व तहले मौका विचारेको कारण २०४६ सालमा जनआन्दोलन भएको हो । प्रजातन्त्रको पुनस्र्थापनका लागि भएको आन्दोलनमा त्यति धेरै जन धनको क्षति त भएन । त्यसको श्रेय तत्कालिन राजा वीरेन्द्रलाई दिनै पर्दछ । किनकी वीरेन्द्रले जनताले चाहे अनुसारको राज्य व्यवस्था गर्नुपर्छ भन्ने नीति लिएका कारण २०४६ सालको आन्दोलनले सफलता प्राप्त गर्न सहज भएको थियो ।
आन्दोलनबाट प्राप्त गरेको उपलब्धिहरूलाई जगेर्ना गर्न नसकेपछि आन्दोलन गरेको अर्थ रहँदैन । २०४६ सालमा भएको आन्लोलनले जुन उपलब्धिका लागि प्रजातन्त्रको पुनस्र्थापना भएको थियो ती उपलब्धिहरूको रक्षा हुन सकेन् । जसका कारण २०५२ सालमा तत्कालिन माओवादी जनयुद्धको शुरूवाती भयो । जुन जनयुद्धमा जन धनको क्षति भयो तर उक्त अवस्थामा सरकारमा रहेकाहरूले माओवादीलाई कसरी शान्ति प्रक्रियामा ल्याउन सकिन्छ भन्ने बारेमा पहल कदमी चाल्न ढिलो भएका कारणले गर्दा प्रजातन्त्र फेरि खतरामा पर्ने सम्भावना देखियो । २०१७ सालमा प्रजातन्त्र गुमाइसकेकाले एकपटक त्रसित भएका राजनीतिक दलहरू फेरि प्रजातन्त्रको लागि एक ठाउँमा उभिए र २०६२÷०६३ को आन्दोलन भयो । उक्त आन्दोलनको सफलता नै आजको समृद्धिको रेखाङ्कन थियो भन्दा फरक नपर्ला । नेपाली राजनीतिकै कारण देशले आर्थिक र भौतिक रूपमा फड्को मार्न नसकेको पनि सत्य हो ।
नेपाली जनताले चाहेको जनप्रतिनिधिबाट शासन गर्ने व्यवस्थाको अपेक्षा मात्र होइन आफ्ना लागि आफैले बनाएको संविधानको आशा २०७२ असोज ३ गते पूरा भयो । उक्त संविधान बमोजिम देशले संघीयताको रूप धारणा ग¥यो । यही संविधान बमोजिम भएका तीन तहका निर्वाचनमा नेपालकै इतिहासमै कम्युनिष्टहरूले विजय प्राप्त गरे । नेपालकै इतिहासमा अहिलेको जस्तो बलियो सरकार गठन भएको थिएन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको विकासे खाकाले साँच्चिकै मूर्त रूप लिने तरखर भइसकेको छ ।
देशमा भएका विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिकामा रहेका कम्युनिष्टहरू पार्टी भित्रको आन्तरिक किचलोका कारण फुटको संघारमा पुग्ने र त्यसको फाइदा विपक्षीहरूले लिने गरिरहेको इतिहासलाई तोड्दै देशका दुई ठूला कम्युनिष्ट पार्टी एक भएपछि नेपाली जनतामा अब देशले समृद्धिको बाटो पहिल्याउने आशा जागेको छ । नेपाली जनताले दिएको विश्वासको मतलाई सही ढंगले प्रयोग गरेर नेपालको आर्थिक, भौतिक एवम् कुटनीतिक विकासमा लाग्ने संकेतले पनि देश समृद्धि तर्फ अघि बढिरहेको छ । नेपालको भौगोलिक विकटताले भौतिक जटिलता उत्पन्न गरेपनि त्यही जटिलता भित्र सहजताको खोजी गर्न सक्ने सामथ्र्य राख्नु पर्दछ । नेपाली काँग्रेस लगायत केही दलहरू प्रतिपक्षमा छन् । प्रतिपक्षले खेल्ने रचनात्मक भूमिकालाई समेत सम्बोधन गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता पनि हो ।
हामीले अनुशरण गर्दै आएको तथ्य के भने ‘दुःखमा नआत्तिनु र सुखमा नमात्तिनु ।’ त्यसैले अहिले कम्युनिष्टहरूले काम गरेर देखाउने बेला आएको छ । झण्डै दुईतिहाई बहुमतको सरकार बनेको बेलामा नेपाली जनताको जीवनस्तरमा देखिने गरि परिवर्तन ल्याउने अवसर वर्तमान समयमा सत्ताको बागडोर सम्हालिरहेका नेतृत्वले पनि बुझ्न आवश्यक छ । नेपाली कम्युनिष्टको इतिहासमा पहिलो पटक प्रधानमन्त्री बनेका लोकप्रिय कम्युनिष्ट नेता मनमोहन अधिकारीले ल्याएको ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रमले कम्युनिष्ट आन्दोलनलाई आजका दिनसम्म पु¥याउन निकै ठूलो योगदान दिएको छ ।
वर्तमान प्रधानमन्त्री पहिलो पटक प्रधानमन्त्री भएको बेलामा नेपाली माटोमा बाटो निर्माण गरेर रेल कुदाउने, पाइपलाइनबाट ग्याँस वितरण गर्ने र हावाबाट बिद्युत निकाल्ने कुरालाई धेरैले हावामै उडाए । तर अहिले ओली नै इतिहासमै बलियो सरकारको प्रधानमन्त्री भएको बेलामा यी कुराहरूले सार्थकता पाउने देखिएपछि देश समृद्धि तिर अगाडि बढेको स्पष्ट हुन्छ । भरखरै मात्र प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणका क्रममा चीनको केरूङ्ग – काठमाडौं रेल सेवा संचालन हुने सम्झौता भएको छ । देशका केही स्थानमा हावाबाट बिद्युत उत्पादन भइसकेका छन् । इन्धनका लागि विभिन्न अध्ययनहरू भइरहेका छन् । विकासको गति आफ्नै रफ्तारमा अगाडि बढ्ने कुरा भएकोले पनि समय लाग्न सक्छ । तर सकारात्मक सोचका साथ लाग्नु पर्छ । त्यसैले नेपाली जनताले दिएको मतको कदर स्वरूप अहिलेको सरकार र सत्ता पक्षमा रहेका दलहरूले सकारात्मक रूपमा अगाडि बढ्नु पर्छ भने प्रतिपक्षले पनि रचनात्मक सहयोग गर्नु पर्छ । किनकी अब देश समृद्धि तर्फ अघि बढिसकेको छ ।
यो लेख सूक्ष्मदृष्टि साप्ताहिकमा चौथो वार्षिकोत्सवको अवसरमा प्रकाशित भएको छ ।







