साहित्य परिवर्तनको संवाहक : मन्त्री रावल
सुर्खेत
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले साहित्य परिवर्तनको संवाहक भएको बताउनु भएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा प्रगतिशील लेखक संघ (प्रलेस) सुर्खेत शाखाको आयोजनामा भएको विविध रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रममा मन्त्री रावलले यस्तो बताउनु भएको हो । मन्त्री रावलले भन्नुभयो, ‘देशको राजनीतिक परिवर्तनका लागि नेपाली साहित्यले खेलेको भूमिका निकै महत्वपूर्ण छ ।’ अब साहित्यकारका कलम समृद्धि र विकासका लागि चल्नु पर्ने बताउँदै उहाँले थप्नुभयो, ‘गरिब प्रदेशको रुपमा हेरिएको कर्णाली प्रदेशलाई समृद्ध प्रदेशको रुपमा निर्माण गर्नका लागि साहित्यिक रचनाहरु पनि अग्रगामी भएर आउनु पर्दछ ।’

प्रलेश सुर्खेत शाखाले साहित्यकारहरु महेन्द्रप्रसाद गिरी, युद्धविक्रम शाही र सरस्वती गौतमलाई सम्मान समेत गरेको छ । विविध रचना वाचन अन्र्तगत कोहलपुर बाँकेका परदीप भट्राइ र मकवानपुर मोक्तान थेवाले गद्य कविता, सिन्धुलीका पौडेल लोकेन्द्र डहरेले मुक्तक, धनकुटाका अनन्त अनुरागले गजल र सुर्खेतका जागेश्वर नेपालले छन्द कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार कर्ण बहादुर बोहोरा कबुको ऐतिहासिक गीति काव्यको विमोचन समेत गरिएको थियो ।

प्रलेश सुर्खेतका अध्यक्ष हरिलाल महताराको अध्यक्षतामा भएको कार्यक्रममा ऋषि शर्मा सुदामा, महेन्द्र चन्द महासागर, सरस्वती पन्त, वासुदेव पाण्डेय प्रभाकर, मणीकुमार पोख्रेल , भरत प्रमोद दाहाललगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव धिरेन थापाले गर्नुभएको थियो भने अतिथिहरुलाई शब्द स्वागत उपाध्यक्ष सीता एरीले गर्नुभएको थियो ।











