पर्यटन प्रवद्र्धनको लक्ष्य प्राप्त गर्न नीजि क्षेत्रको सक्रियता जरुरी : मन्त्री बुढा
सुर्खेत ७ कार्तिक ।
पर्यटन प्रवद्र्धनको लक्ष्य प्राप्त गर्न नीजि क्षेत्रको सक्रियता पनि जरुरी रहेको कर्णाली प्रदेशका पर्यटन, वन तथा वातावरण मनत्री नन्द सिं बुढाले बताउनु भएको छ । आज (बुधबार) सुर्खेतको वीरेन्द्रनगरमा होटल बुलबुले भ्यू को उद्घाटन गर्दै मन्त्री बुढाले यस्तो बताउनु भएको हो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ३ करोड ८५ लाखको लागतमा संचालनमा आएको होटल बुलबुले भ्यू पर्यटन प्रवद्र्धनको आधारको रुपमा संचालन गर्न लागिएको बताइएको छ । निकै तामझामका साथ होटलको उद्घाटन कार्य सम्पन्न भएको छ । होटल उद्घाटन कार्यक्रममा शुभकामना दिँदै मन्त्री बुढाले कर्णाली प्रदेशमा रहेका धार्मिक, ऐतिहासिक, पर्यटकीय र सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बद्र्धन गर्न सकेको खण्डमा पर्यटनको क्षेत्रमा उल्लेख उपलब्धि प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार एक्लैले सफलता प्राप्त गर्न नसक्ने भएकोले नीजि क्षेत्रबाट पनि व्यावसायिक रुपमा सबैले हातेमालो गर्न जरुरी छ ।’ नीजि क्षेत्रबाट गरिएको लगानीको सुरक्षा राज्यले गर्नुपर्ने बताउँदै मन्त्री बुढाले थप्नुभयो, ‘होटल व्यावसाय संचालनको लागि प्रदेश सरकारले नियमावली नै तयार गरेर लगानी कर्ताहरुलाई सहज वातावरणको सिर्जना गर्दैछौं, त्यसैले ढुक्क भएर व्यावसायमा लाग्नुहोस् ।’ होटल बुलबुले भ्यू ले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने कुरामा आफू विश्वस्त रहेको मन्त्री बुढाको भनाई थियो ।

होटलको बारेमा जानकारी दिँदै होटल बुलबुले भ्यू का म्यानेजिङ डारेक्टर जनक सिंह ठकुरीले पाटनमा चरेका भेडा, च्याङ्ग्राको मासु, मार्सी धानको भात, सिस्नो र ढिडोका परिकारहरु खुवाउने बताउनु भयो । मानव स्वास्थ्यलाई ख्याल गरेर विषादीरहित अर्गानीक खाना खुवाउने योजनाका साथ यो होटलको शुरुवात गरेको उहाँको भनाई थियो । सिंहले भन्नुभयो, ‘मैले होटल संचालन गर्दा २० जनाले रोजगारी प्राप्त गरेका छन् यही नै मेरो सफलता हो ।

विशेष गरी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा समेत सुविधा सम्पन्न पर्याप्त होटल नहुनु एउटा समस्या हो भने अर्कोतिर धनि, मध्यम र निम्न बर्गीयहरुको लागि होटलमा पहुँच नहुनु अर्को दुःखको कुरा भएकोले होटल बुलबुले भ्यू मा सबै वर्गका ग्राहकहरुको लागि व्यवस्थापन गरेका छौं ।’

होटलमा सुविधा सम्पन्न बास, स्तरीय खाना र मनोरञ्जनात्मक शान्त वातावरण सहितको खानाको परिकारको रुपमा भेज तथा ननभेज, अर्गानीक र पञ्जाबी खानाका परिकारहरु उपलब्ध हुने बताइएको छ । होटलमा एसीसहितका १० वटा एटेच कोठाहरु रहेका छन् भने पर्याप्त पार्किङ्गको व्यवस्था, गाडि रिर्जवको व्यवस्था समेत रहेको होटल व्यवस्थापनले जनाएको छ ।

यसैगरी विशेष कलाकारहरुको उपस्थितिमा साप्ताहिक रुपमा संस्कृतिक कार्यक्रम र पाक्षिक रुपमा एकल वा युगल गजल साँझ कार्यक्रम गर्नुका साथै निरन्तर रुपमा आउने ग्राहकहरुको लागि लजिङ्गमा १० प्रतिशत र सञ्चारकर्मीहरुलाई लजिङ्गमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको डाइरेक्टर सिंहले जानकारी दिनु भयो । सिंहले भन्नुभयो, ‘बुलबुले उद्यानको पवेशद्वारमा रहेको यस होटलले सुर्खेत लगायत कर्णाली प्रदेशमै पर्यटन प्रवद्र्धन गर्नेछ भन्ने विश्वास लिएका छौ । हामीले व्यापारिक धर्म निर्वाह गर्दै गाहकहरुको सेवा, सुविधा र सन्तुष्टिलाई विशेष ध्यान दिने बाचा गर्दछौं ।’

होटल उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो भने होटलमा बास बस्न आएका विदेशी पाहुनाहरुलाई भव्य स्वागत गरिएको थियो । उद्घाटन कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, व्यावसयिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।







