संसदीय दलको बैठकबाटै दलको नेता छानिनु पर्छ : मन्त्री बस्नेत
कार्तिक ९,सुर्खेत ।
नेकपा कर्णाली प्रदेश संसदीय दलको नेता छान्न ढीलाई भैरहेको समयमा नेकपाका नेता एवं वन मन्त्री शक्तिबहादुर बस्नेतले दलको नेता सम्बन्धित दलको बैठकले छान्ने प्रतिकृया दिएका छन । आफ्नो मन्त्रालय अन्तर्गतको एक कार्यक्रममा सहभागीहुन सुर्खेत आइपुगेका मन्त्री बस्नेतले पार्टीको विधि विधान र प्रचलित ब्यवस्था बमोजिम नेकपा कर्णाली प्रदेशको संसदीय दलको बैठकबाटै दलको नेता छानिनु पर्ने बताए । केही दिन अघि सुर्खेतमा भएको एक कार्यक्रममा नेकपाका कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले संसदीय दलको नेता नेकपाको स्थायी कमिटीको बैठकले तोक्ने दावी गरेका थिए । उनले विगतको परम्परा र पार्टी एकिकरणको समयमा भएको सहमती बमोजिम हालका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेता बनाउनु पर्ने भन्दै यस विषयमा मुख खोलेका थिए ।

शर्मालाईनै जवाफ दिने लाइनबाटै मन्त्री बस्नेतले सम्बन्धित दलको बैठकलेनै दलको नेता छान्ने बताएका छन । नेता शर्माले बोलेको विषयलाई लिएर नेकपाका कर्णाली प्रदेश सह–इन्चार्ज यामलाल कंडेलले फेसबुक स्टाटस लेख्दै दलको नेता छान्ने अधिकार सम्बन्धित संसदीय दललाई भएको भन्दै तिखो प्रतिकृया दिएका थिए । सुर्खेत विमान स्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कर्णाली प्रदेशको संसदीय दलको बैठकलेनै दलको नेता चयन गर्ने बताएपछि नेता चयनको विषय थप जटिल बन्दै गएको छ । नेकपाको संसदीय दलको नेता छान्न भएको ढीलाइले प्रदेश संसदको गतिविधिमा समेत असर गरिरहेको छ । नेकपाले दलको नेताको हिसावले लिनुपर्ने निर्णयहरु समयमा लिन सकिरहेको छैन । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दशैको शुभकामना आदान प्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा सांसद र मन्त्रीहरुबाट भ्रष्टाचार हुने सम्भावना भएकोले खबरदारी गर्न आग्रह गरेका थिए । उनले चालु आवको बजेट सहि तरिकाले विनियोजन नगरिएकोले भ्रष्टाचारको खतरा रहेको भन्दै पत्रकारहरुलाई चनाखो रहन आग्रह गरेका थिए ।
यो भनाइले स्वयम सत्तारुढ दलका मन्त्री र सांसदहरु समेत रुष्ट बनेका छन । नाम उल्लेख नगर्ने शर्तमा पूर्व माओबादीबाट निर्वाचित एक सांसदले मुख्यमन्त्रीले बोलेको कुराले सांसदहरुको मानमर्दन गरेको र कर्णाली प्रदेश संसदको समेत अपमान गरेको भन्दै संसद चलेपछि मुख्यमन्त्रीले बोलेको कुराको जवाफ मागिने भन्दै आक्रोश ब्यक्त गरे । यसरी नेकपा भित्र एकपछि अर्को विवादमा फस्दै गएका मुख्यमन्त्री शाहीको समर्थन गर्ने सांसदहरुको संख्या समेत घट्दै गएको छ । शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बस्नेतले तीन तहको निर्वाचन पश्चात संविधान कार्यान्वयनको महत्वपूर्ण आधारहरु तयार भैसकेको बताए । एक अर्को प्रसंगमा नेता बस्नेतले भने, ‘प्रदेश र स्थानीय तहको निर्वाचन भएको लामो समय भैसक्दापनि अपेक्षित परिणाम नआएको गुनासो छ, यसलाई तत्काल सम्बोधन गरिनु पर्दछ ।’ केन्द्रिय सरकारको काम कार्वाहीको बारेमा समेत आलोचना बढ्दै गएको स्वीकार गरेका बस्नेतले केन्द्रिय सरकारले आन्तरिक तयारीका कामहरु लगभग सकिसकेको बताउदै छिट्टै एक्सनमा जाने बताए । विकासको प्रतिफल सवै तहका जनताहरुले पाउनु पर्ने बताउदै कानुनी ब्यवस्था पुरा नगरि परिणामुखी काम नहुने जिकिर गरे । जिम्मेवार नागरिकहरुले जिम्मेवारीपूर्ण ढंगले स्वतन्त्रताको उपभोग गर्नुपर्ने उनको भनाई थियो ।






