कुष्ठरोग लागेको भन्दै घर भित्र लुकाइएकी महिलाको सफल उपचार
राजन रावत

कार्तिक, १३ । सुन्दा अपत्यारिलाे तर यथार्थ घटना। याे घटना हाे हुम्ला, सिमकाेटकाे । जिल्लाकाे सिमकोट गाउँपालिका वडा नम्बर-७ डाँडाफयामा महिनौंदेखि छालाको संक्रमणका कारण कुरूप अवस्थामा घर भित्रै एक महिलालार्इ लुकाएर राखिएकाे थियाे ।
छिमेकीले कुष्ठरोग लागेको भनेपछि घरमै लुकेर बसेकी ती महिलाको एक महिना लामो उपचारपछि निकाे लागेकाे छ । जिल्लाका संचारकर्मी, वडा कार्यालय, स्वास्थ्यकर्मी र स्थानीय प्रशासनको सहयाेगमा ३५ वर्षीया सिरु छत्यालको उपचारपछि राेग निकाे भएपछि उनी घर फर्किएकी छन् ।
सिमकोटकी छत्याललाई केही महिनाको छालाको संक्रमण भए पनि गाँउमा कुष्ठरोग भनेर घरको बन्द कोठामा लुकाएर राखिएको अवस्थामा आफुले जानकारी पाएलगत्तै जिल्ला अस्पताल र सरोकार पक्षलाई खबर गरेको संचारकर्मी नन्द सिंहले बताए । सिंहले दिएकाे जानकारीपछि राेगी छत्यालकाे जिल्ला अस्पताल हुम्लामा भर्ना गरिएकाे अस्पतालका डा. टासी लामाले जनाए ।
एक महिनाको लामो सफल उपचारपछि उनकाे केही दिन अघि डिस्चार्ज गरिएकाे छ । उपचारपछिअाफुले नयाँ जीवन पाएको महशुस गर्दै उनले अस्पताललाई धन्यवाद दिएकी छन् । शुरुमा अनुहारमा खटिरा आएको र त्यो बिस्तारै बढ्दै पानीको फोकासहित शरिर भरि फैलिएपछि छरछिमेकमा उनलाई कुष्ठरोग लागेको भनेर हल्ला फैलाइएकाे रहेछ । कुष्ठराेग लागेकाे भन्दै समाजबाट टाढा गराई कसैले पनि नछुने र बेवास्ता गरी गर्दा छालाको रोग फैलिएर शरिर गनाउने , छाला पाकेर पिपैपिपले भरिएको तथा संक्रमणका कारण उभिनसमेत नसक्ने अवस्थामा उनलार्इ अस्पतालमा भर्ना गरिएकाे थियाे ।
उनकाे उपचारमा संलग्न डाक्टरहरूकाे अथक प्रयासले उनकाे स्वास्थ्य लाभ भएकाे हाे । पर्याप्त अाैषधी तथा उपकरण अभावका बाबजूद उनकाे उपचार सफल भएकाेमा डा. लामाले खुशी व्यक्त गरे ।
नयाँ पाइला डटकमबाट






