Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

प्रधानमन्त्री अाेली अस्पतालबाट सरकारी निवास फिर्ता

काठमाडौँ– छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएकाले चिकित्सकले निवास फिर्ता गराउने निर्णय गरेका छन् ।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको आज बिहानको परीक्षणका प्रतिवेदन अध्ययनपछि स्वास्थ्यस्थिति सामान्य देखिएको पाइएको थियो ।

सेण्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले आज बिहान १० बजे जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य भएको उल्लेख गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छ ।