कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य
सुर्खेत १८ कार्तिक ।
कर्णाली प्रदेश सभाको दोश्रो अधिवेशन आइतबार अन्त्य भएको छ । जेठ १० गते देखि सुरु भएको प्रदेशको दोस्रो अधिवेशन आइतबारदेखि अन्त्य भएको हो ।
आइतबार कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको सिफारिसमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्यका लागि पठाएको पत्र पढेर सभामुख राजबहादुर शाहीले संसद अधिवेशन अन्त्य गरिएको घोषणा गर्नुभएको हो । उहाँले दोस्रो अधिवेशन सफल पार्न सबै पक्षलाई धन्यवाद समेत ज्ञापन गसमेत गर्नुभएको थियो । दोस्रो अधिवेशन अवधीभर ४१ पटक बैठक बसेको कर्णाली प्रदेश सभाले विभिन्न १७ वटा विधेयक पारित गरेको छ ।
चालु आर्थिक बर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट समेत पारित गरेको छ ।संसद अत्न्य हुन अघि प्रदेश सभा बैठकले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र कर्णाली प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ केही संशोधनसहित पारित गरेको छ । दोस्रो अधिवेशन अन्त्य गरिने बैठकमा दोस्रो अधिवेशनको समीक्षा मन्तव्य राख्दै तत्कालिन नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले सरकारले संसद र जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको कडा आलोचना गर्नुभएको छ । प्रदेश सभा गठनको नौ महिनाको अवधीमा सरकारले देखाउने गरी काम गर्न नसकेको उहाँको टिप्पणी छ । ‘सरकारले जन अपेक्षा अनुसार काम गर्न सकिरहेको छैन उहाँले भन्नुभयो ।
नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले अपेक्षा अनुसार काम गर्न नसके पनि सरकारलाई संसदले फेरी पनि बाटो देखाउनु पर्ने बाध्यता रहेको बताउनु भयो । कर्णालीको गरिबी, विकटता र यहाँको अशिक्षा कर्णालीको प्रतिपक्षी भएको भन्दै यसकाविरुद्ध सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । ‘शीरमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी बोकेर हामी सबै जुटौं’ उहाँले भन्नुभयो, ‘कर्णालीको बिकासका लागि सबै पक्ष एकजुट हुनेुको विकल्प छैन ।’







