Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

मेरो लगन यही मंसिरमा छ रे

यसपाली दशैं कार्तिकमा प¥यो । प्रायः जसो असोजमा पर्ने दशैं कार्तिकमा परेपछि खासै रमाइलो लाग्दैन मलाई । अनि दशैं र तिहार एउटै महिनामा परेपछि दाजुभाइ र दिदीबहिनीहरुमा दशैं वा तिहारको टीका मध्य एउटा टीका लगाउनु हुँदैन भन्ने मान्यता छ । त्यसैले गर्दा हाम्रो घरमा पनि यसपाली दाजुभाइ र दिदीबहिनीहरु बीचमा दशैंको टीका  लगाइएन । तिहारको टीका भनेको भाइ बहिनीको टीका भएकोले हामीले तिहारकै टीका लगाउने निर्णय ग¥यौ । यस्तो निर्णय गरेपनि हामी सबैको निधारमा रातो टीका र पहेला जमराले भरिएको थियो ।


बडादशैंको दिनमा दिनभर खानपान र टीकाटालोमै व्यस्त भइयो । गोठमा गाई गोरुलाई घाँस खुवाउने काम सदा झैं आमाले गर्नुभएको थियो । भकारोको काम गर्ने चिन्ता थिएन हामीलाई । किनकी त्यो आमाको दैनिकी झैँ  थियो । वल्लो पल्लो घरबाट आउनेहरुलाई टीका लगाई दिन बाबाको दिन भरको व्यस्तता अनि हामी साथी भाइसँग गफिदै ठीक्क थियौ ।

घामले आफ्ना खुट्टा पारिको डाँडामा टेकिसकेका थिए । गोधुली साँझ परिसकेको  थियो । दशैंको दिन भएकोले सबै खुसी देखिन्थे । त्यही खुसीमा मिसिन गुराँसेबाट २ जना अर्धपरिचित मान्छे हाम्रो आगनमा आइपुग्छन् । मलाई खासै केही चासो लाग्दैन । कता कता चिने जस्तो अलि अलि कतै देखे जस्तो अनुहार । तर बाबासँग टीका थाप्न आएका होलान् भन्ने लागेर हामी भाइ बहिनीहरुले चासो नदेखाए पनि आमाले उनीहरुलाई ठूलै स्वागत गर्नुभएको थियो ।

चिटिक्क मिलेका लुगा लगाएका । अलि अलि दारी कपाल सेता छिर्के मिर्के हुन थालेका एक जना अनि उमेरले त्यस्तै २५–२८ को जस्तो देखिने । निकै मिलाएर लगाएको नेपाली टोपी । कोटको पाकेटमा राखेको चश्मा सहजै देखिन्थ्यो । मान्छेको मन न हो के – के सोच्ने गर्दछ । ठूल्दाई की छोरी श्याममायाले पुलुक्क हेरि म तिर र जिस्क्याई आँखा झिमिक्क पारेर । मैले पनि आँखाकै तालमा उसलाई रिसाए झैँ गरिदिएँ ।

सदा झैँ लुके घाम डाँडा भित्र । छाउन थाल्यो अध्यारो । सोलार बत्तिको उज्यालोमा पाहुनाहरुसँगै हाम्रो परिवार । एक छिनमा बाबाले उनीहरुलाई समेत टीका लगाइ दिनु भयो । हेर्दा निकै भलाद्मी जस्तो देखिने त्यो युवा त्यति धेरै बोलेको सुनिदैन । खाना खाने तयारी भइरहेको छ । श्याममाया र म आमालाई सघाईरहेका छौ । दाजु खै कता जानु भएको छ । अनि भाउजु गोठको धन्दा मै व्यस्त हुनुहुन्छ । बाबा पाहुनाहरुसँग गफिदै हुनुहुन्छ । वास्तविक कुराको शुरुवात हुने बेला भएको रहेछ । मलाई खाना पस्किने जिम्मा लगाएर एक छिनको लागि आमा भान्साबाट बिदा हुनुभयो । मलाई कुनैपनि कुराको शंका नभएकोले मैले आमाले लगाएको काम गर्दै गएँ ।

‘यही हो हजुर मेरी कान्छी छोरी’, बाबाको मुखबाट यो शब्द निस्कना साथ मलाई श्याममायाले गरेको शंका सही रहेछ भन्ने लागिहाल्यो । मेरो मनले के – के सोच्न थाल्यो । आखिर उनीहरु मेरो हात माग्न आएका रहेछन् भन्ने स्पष्ट भइसकेको थियो । ‘छोरीले मन पराएमा हामीले नाई भन्ने ठाउँ छैन’ बाबाले एकोहोरो बोलिरहनु भएको थियो । बाबाकै अगाडि मेरो बारेमा कुरा चलिरहेको बेलामा म त्यहाँ बस्न सकिन । सायद मेलै भोगेको अप्ठ्यारो बुझेर होला आमा पनि टुप्लुक्क आइ पुग्नु भयो ।

म आफ्नो कोठामा पसे । तर मैले श्याममायालाई सुराकीको जिम्मा दिएर त्यहाँ छोडेकी थिएँ । हामी लाहुरे भने पछि निक्कै सम्मान गर्छौ । किनकी हाम्रो परिवारमा पनि लाहुरे छन् । मेरो माल्दाजु पनि लाहुरे नै हो । त्यसैले लाहुरेको जीवन कस्तो हुन्छ भन्ने हामीलाई राम्रोसँग थाह छ । लाहुरेको बहिनी भएकोमा म पनि निकै गर्व गर्दछु । जो मेरो हात माग्न आएको मान्छे पनि लाहुरे नै रहेछन् । उनी भारतीय सेनामा भर्ना भएपछि दोस्रो पटकको बिदामा आएका रहेछन् । मेरो माल्दाजुसँगको कुराकानीको आधारमा उनीहरु मेरो घर आएको मेरो सुराकीले मलाई भनेकी थिइ । दाजुले हेरेको केटा । घरमै हात माग्न आएको छ । नाई पनि कसरी भन्नु । तर मलाई अहिले नै बिहे गरेर पराईको घरमा जाने मन पनि छैन । म निकै दोधारमा परे । एकातिर पारिवारिक इज्जत र सम्मानको कुरा छ अनि अर्को तिर मेरो व्यक्तिगत स्वतन्त्रताको कुरा । म मेरो स्वतन्त्रतालाई तिलाञ्जली दिउँ वा मेरो पारिवारिक इज्जतलाई । निकै समस्यामा परे म । यो वर्षको दशैं मलाई समस्यामा हाल्नकै लागि आएको रहेछ जस्तो लाग्न थाल्यो । त्यसपछि दशैंको रमाइलो एकाएक हरायो म बाट । श्याममाया भने हुनेवाली लाहुरेनी भन्दै जिस्क्याउन शुरु गरिसकेकी थिइ ।

फूल फुलेको ठाउँमा भमरा पुग्नु स्वभाविक  हो । सायद त्यसैले हुनुपर्छ दिपेशले पनि मलाई मन पराउँछु भनेर भनेको । उसले पनि भित्रभित्रै माया गर्छ । खासै मैले उसलाई कुनै बचन नदिएको भएपनि मलाई ऊ पनि ठीकै लाग्छ । दिपेश पनि मिजासिलो केटा छ । उसको पारिवारिक अवस्थाको बारेमा म राम्रो जानकार छु । उसले पढाईमा गरेको मिहिनेत देखेर उसको भविष्य सुन्दर देख्छु म । यदि मैले दिपेशको कुरालाई स्वीकार गरेको इशारा मात्रै गरे भनेपनि ऊ मेरो जीवनमा पूर्णिमाको चन्द्रमा बनेर आउन सक्छ । तर यता दाजुको सल्लाह बमोजिम बाबाले घरमा बोलाएको मान्छे । अनिर्णित छु  आज । हो, दिपेश मेरो मनमा बसेको छ । तर त्यो अपरिचित मान्छे । मोवाइल चलाइरहेको बहाना बनाए पनि यस्तै कुराहरु खेलिरहेका छन् मेरो मनमा ।

ढोकामा ढकढक आवाज आएपछि झसङ्गै हुन्छु म । श्याममायाले ढोका खोल्छे आमा आउनु भएको रहेछ । मैले सदा झँै आमाको अनुहारमा हेर्न समेत सकिरहेकी छैन । अनि आमाले पनि मेरो अनुहारमा । थचक्क बस्नुहुन्छ आमा म पल्टिरहेको खाटमा । अनि भन्नुहुन्छ ‘के छ नानी विचार भनि हाल । तैले नचिने पनि हामीले चिनेका इष्ट हुन् । बाजे बराजुको पालादेखि चलिआएका इष्ट अनि तेरो दाजुसँगै एउटै पल्टनमा भएकोले दाजुसँग पनि कुरा भएको रहेछ । तेरो हात माग्न आएका छन् । तँलाई एक वचन सोधेर मात्रै तेरो हात दिउँ कि…..’ आमालाई बिचैमा रोक्दै श्याममालाले ठट्टा गरि ‘दिउँ दिउँ हजुरआमा दिउँ ।’ ‘चुपलाग’ म रिसाए झैँ गर्छु । ‘मजाकको कुरा होइन नानी’ आमाले पनि थपेपछि श्याममाया चुप लाग्छे । भरखरै सत्र वर्षमा टेक्दै गरेकी श्याममायाको उमेर र बुद्धि बराबरको जस्तो छ । तर मलाई जिन्दगीको सवालको कुरा छ ।

मनको एउटा कुनामा दिपेश पनि बसेको छ । दिपेश र मैले अव्यक्त प्रेम गरेका छौ । प्रेम दिवसको अवसर पारेर उसले ‘आइ लभ यू’ भनेको हो । मैले पनि ‘सेम टु यू’ भनेकै हुँ । तर त्यतिले त के नै फरक पर्छ र । तर पनि पढ्ने क्रममा फेरी ऊसँग मेरो भेट होला । मैले लगाएको सिंन्दुर अनि मेरा नाडीमा भएका चुरा र गलाको पोते देखेको बेलामा उसले कस्तो प्रतिक्रिया देला । मेरो मन यता सोचिरहेको छ । तर आमाले फरक उत्तरको आशामा पर्खिरहनु भएको छ । ‘ठीकै छ आमा हजुरहरुले भनेको कसरी अस्वीकार गरौं तर बिहे चाँही….’ मेरो वाक्य पूरा नहुँदै आमाले ‘मंसिरमा’ भन्ने शब्दले मेरो मन झन आत्तियो । कार्तिकमा बडादशैं अनि कार्तिकमा नै तिहार पनि । अनि यही दशैंमा दाजुभाइ दिदीबहिनीहरु बीचमा दशैंको टीका नलगाएको अनि आउँदो मंसिरमा बिहे । मेरो जीवनमा सोच्दै नसोचेको कुुरा एक्कासी कसरी आयो । मेरो लगन यही मंसिरमा छ रे ?