वा ! मंसिर २९ : स्वागत छ तिमीलाई
जमुना केसी
साउने झरीको कमी भइसकेपछि विस्तारै भदौरे घामले आफ्नो साम्राज्य जमाउन शुरु गर्दछ । भदौंको महिनाको घाम क्या चर्को गरि लाग्ने गर्दछ । त्यसैले त शितलमा बसेर पहेला भएका काँक्रा खानुको मज्जा नै बेग्लै हुन्छ । अलि–अलि अमिलो स्वाद भएका काँक्रामा ताजा हरियो खुर्सानीको अचार साँदेर खानुमा जुन मज्जा आउँछ त्यत्ति नै मज्जा आउँछ साथीहरु एक आपसमा रमाइलो ठट्टा गर्दै ती काँक्राका बोक्राले हानाहान गर्नुमा । भदौंको शुरुवात भईसकेपछि हिन्दु परम्परा अनुसार चाड पर्वहरुको आगमन पनि नजिक नजिक आउने गर्दछ । शुरुको कृष्णाजन्माष्टमी अनि त्यससँगै जोडिएको लाखे नाच । क्या गज्जबको नाच नाच्ने गर्दछ कान्छा श्रेष्ठको छोराले । उसको नाच हेर्नका लागि मान्छेहरु जति लालायत हुन्छन् त्यति नै लालायत हुन्छन् हरिशंकरले तरबार चलाएर कृष्णको रुपमा नाचेको नाच हेर्नमा ।
हरिशंकरको नाम हरि भएकोमा मलाई कत्ति पनि चित्त बुझेको छैन । हुन त हरि पनि नराम्रो होइन । तर ऊ साँच्चिकै कृष्णको साक्षात रुप झँै छ । उसले हातमा तरबार लिएर कृष्णको भेषरुपी श्रृङ्गार गरेपछि खै म मात्र हो कि अरु पनि मोहित हुन्छन् म सोच्नै सक्दिन । हुन् त भगवान श्रीकृष्णका १६ हजार गोपिनीहरु थिए रे । सायद उनी रुपमा पनि सुन्दर भएकैले होला । त्यत्ति धेरै गोपिनीहरु पछि लागेका । हरिशंकर पनि त्यहाँ भन्दा कम देखिदैन । तर यो कलियुगमा कृष्ण जस्तो भएर मात्र के गर्नु र एकोहोरो पढाइ भनेपछि हुरुक्क हुने बाहेक अरु कुनै क्रियाकलाप नभएको मान्छे ऊ । सायद त्यसैले होला २५ औं वसन्त पार गरिसक्दा पनि घरजम गर्न नसकेको ।
हुन त हामी ९ कक्षामा अध्ययन गर्ने बेलामा ऊ कक्षा १२ बाट शिक्षण अभ्यास गर्नका लागि हाम्रो विद्यालयमा आएको थियो । मैले पहिलेदेखि नै चिनेजानेको भएपनि पहिलो पटक उसलाई मैले विद्यालयमा ‘सर’ सम्बोधन गर्दा मलाई नै कस्तो कस्तो भएको थियो । ऊ शिक्षण अभ्यास गर्दै गयो । हामी एउटै बाटो भएर घर जाने र विद्यालय आउने भएकोले पनि ऊ म सँग केही नजिक भएको अभियन गरिरहेको थियो ।

समयले मान्छेलाई कहाँ पु¥याउँछ कसले जानेको हुन्छ र ? एक दिन उसले मलाई एउटा पत्र थमाएको थियो ‘प्रेम–पत्र’ । मैले उसका अगाडि किताबको बीचमा राखेको त्यो पत्रमा के लेखिएको होला दिनभर कौतुहलता जागेर आयो । मलाई विश्वास थिएन कि उसले मलाई पत्रमा जुन कुरा व्यक्त गरेको छ त्यो सबै यथार्थमा पनि सोच्ने गर्दछ भनेर । साँझ जब मैले उसका हस्तलिखित अक्षरहरुमा मेरा आँखालाई एक फन्को दौडाएँ त्यसपछि मलाई के भयो – भयो । उसले लेखेका केही शब्दहरु अहिले पनि मेरो मानसपटलमा ताजै छन् । हरिशंकरका हस्तलिखित पत्रमा यस्ता शब्दहरु थिए :
खै कुन शब्दले सम्बोधन गरौं ?
व्यवहारमा पूर्ण परिचित भएपनि प्रेममा पूर्ण रुपमा नै अपरिचित जमुना । जिन्दगीको अमूल्य माया तिमीलाई ।
म सञ्चो छु भनौं कि बेसञ्चो तर तिमीलाई कहिल्यै पनि बेसञ्चो नहोस् भन्ने कामना गरिरहेको छु । शुरुका दिनमा न तिमीले मलाई जानेकी थियौ न मैले तिमीलाई । को थियौ तिमी केही थाह थिएन अनि को थिएँ म तिमीलाई पनि । तर जुन दिन तिम्रो र मेरो भेट भयो त्यो दिन तिम्रा लागि त केही थिएन होला तर मेरा लागि विशेष थियो । तिमीसँग भेट भएकोमा मात्र विशेष बनेको होइन त्यो दिन । त्यही दिनमा मैले मेरो जिन्दगीको एउटा मोड बदलेको थिएँ । आज भन्दा ५ वर्ष अगाडि त्यही दिन मैले मेरो संसार हराएको थिएँ । जुन संसार अब कहिल्यै भेटिने छैन । अनि त्यही दिन तिमीलाई भेट्टाएँ । तिमीलाई भेटाइदिने उजेलीलाई पनि धेरै साधुवाद ।
शुरुका दिनमा मैले तिमी प्रति केही सोचिन । सायद तिमीले पनि म प्रति केही सोचेकी थिइनौं होला । तर जब विस्तारै हामी नजिक हुँदै गयौं हाम्रो भेट गर्ने भौगोलिक दुरी छोट्टिदै गयो । अनि खै कसरी माया मलाई थाह छैन । जमुना तिमीले मलाई कसरी माया गर्न थाल्यौ यो कहिल्यै सोध्ने छैन तिमीसँग र तिमीले पनि यस्तो प्रश्न नसोध्नु मसँग । माया नजानेरै अनि नचाहेरै हुन्छ भन्थे हो रहेछ । जिन्दगीका हरेक मोडहरुमा मैले अनेक मान्छेहरु भेटेको छु र भेटेकी हौली तिमीले पनि । ती भेटिएका सबै मान्छेहरु भन्दा फरक छ्यौ तिमी । सायद तिमीले पनि मलाई त्यस्तै फरक ठानेकी हौली । अरुहरुको लागि उस्तै–उस्तै भएपनि हो तिमी लागि फरक छु जस्तो लाग्छ मलाई ।
मैले लेखेका जीवनका केही टुक्राहरुलाई तिमीले कविता ठानिदिएकोमा निकै खुसी छु म । मैले दिन नसकेका अदृष्य उपहारहरुलाई ग्रहण गरिदिएकोमा आभारी छु म । हो मसँग धन, दौलत, हिरा, मोती छैनन् जमुना । तर एउटा मन छ त्यो मन अरुहरुको भन्दा अवश्य फरक छ । हुन त संसारमा सबैले यस्तै भन्ने गर्दछन् होला । अहँ मलाई थाह छैन । किनकी जीवनमा प्रेम गर्न नजानेको अनि कसैले प्रेम गरेको अनुभूति नपाएको अप्रेमी हुँ म । सायद मैले कसैलाई प्रेम गर्न जानेको भए वा कसैले मलाई प्रेम गरेको भए आज म जीवन साथी बिनाको एक्लो हुने थिएन होला ।
जमुना, म यत्ति भन्छु । म तिमीलाई असाध्यै मन पराउँछु । मेरो जीवनको मध्यबिन्दुमा तिमीलाई भेटेको छु । मलाई थाह छैन तिमीले मलाई भेटेको अनुभव गरेकी छ्यौ वा छैनौं । पहिलो पटक लेखिएका मेरा यी कोरा शब्दहरु एक पटक तिम्रा आँखाले हेरिदिएपछि र मनले पढिदिएपछि प्रेमिल हुनेछन् । म धेरै लेख्न चाहन्न । तिमीलाई पढ्दा पनि रिस उठ्न सक्छ या माया लाग्न सक्छ । किनकी मैले तिमीलाई एकोहोरो रुपमा प्रेम गरेको तिमीलाई थाह छैन होला पनि । त्यसैले यत्ति भन्न यी शब्दहरुको साहरा लिएको छु कि म तिमीलाई मेरो जिन्दगी भन्दा पनि बढि माया गर्छु । जमुना, नच्यात्नु यी शब्दहरुलाई नपढिकन । अनि फर्काउनु जवाफ यी शब्दहरुको । सायद तिमीलाई थाहै होला म कुनै पनि कुरामा कहिल्यै जबरजस्ती गर्दिन तर कर गर्ने अधिकार त मसँग सुरक्षित छ नि । त्यसैले मैले तिमीलाई यी शब्दहरु नियाल्नका लागि कर गरिरहेको छु । मलाई थाह छ तिमीलाई एक छिन् झनक्क रिस पनि उठ्नेछ मदेखि । तर पनि मलाई विश्वास छ फूल फुलेको ठाउँमा भमरा जानु स्वभाविक हो भनेर तिमीले स्वीकार गर्नेछौ यी शब्दहरुलाई । मैले तिमीलाई पाउनका लागि यो संसार फुटाल्नु पर्छ वा समुन्द्र सुकाउनु पर्छ वा आकाश झार्नु पर्छ म मेरो बुद्धि बरकर र औकातले भ्याउनेसम्म गर्न तयार छु । यस्तै यस्तै ……..
एक पटक मलाई थर–थर काँप्न मन लाग्यो मेरो मनमा एक्कासी रिसको झोक्का समुन्द्री आँधिवेहरी झैं उर्लेर आयो । राती राम्रोसँग निदाउन पनि सकिरहेकी छैन म । उसले मलाई के देखेर यसरी एक्कासी पत्र लेख्यो । ‘त्यसको पत्रको जवाफ भोलि भेट्ने भयो उसले’ यस्तै तर्कनाहरु गर्दै म कतिबेला निदाएँ ।
सदा झैं विहान ५ बजे नै निन्द्रादेवीले मसँग विदा मागिसकिन् । आजको मेरो अनुहारमा फरकता आएको र व्यवहार फरक भएको देखेर आमाले राम्रोसँग नियालीरहेको मैले राम्रोसँग बुझीसकेकी छु । आमाले अड्कल गरिन् सायद ‘नछुने’ भइ होला । तर त्यसो पनि नभएपछि केही सञ्चो नभएको होला भनेर आमाले बुझ्ने कोसिस गरिरहेकी छिन् । तर ठीक समयमा म सदा झँै खाना खाइवरी कलेजको लागि तयार भएर लागे बाटो । मलाई लाग्यो एक पटक भेट्नै पर्छ त्यो मान्छे । रोकिए म । जहाँ मेरो र हरिशंकरको भेट हुन्थ्यो त्यही ठाउँमा पुगेपछि ।
ऊ उताबाट फरक मुद्रामा आइरहेको थियो । अरु केही बोल्न आएन मलाई । एक झापड लगाइदिएँ उसको गालामा । फेरि पनि ऊ केही बोलेर लाग्यो आफ्नो बाटो । उसको मन दुख्ने गरी गाली पनि गरे मैले । तर उसले कुनै प्रतिक्रिया देखाएन । मान्छे सहनशील रहेछ भन्ने लाग्यो मलाई । त्यसपछि उसले मलाई दिएको पत्र च्यातिदिएँ त्यही । त्यसपछि उसको र मेरो बीचमा कुनै कुराकानी भएनन् । फेरि कुनै दिन अर्को पत्र लेख्ने हिम्मत गरेन उसले । तर घर परिवारको तर्फबाट कुरा चल्न शुरु भयो । उसले लेखेका हरेक शब्दहरुले मेरो मन अहिलेपनि एक तमासको बनाइ रहन्छ । मैले उसलाई हानेको झापडले मलाई नै दुखाइरहेको छ । समय बित्दै गयो । उसले मलाई पाउने तपश्या नै गरे जस्तो लाग्यो । उसको अठोट पनि त्यही रहेछ पाए भने जमुनालाई नत्र ….. ।
म मेरो आमाबुबा को बचनलाई काट्न सक्दिन । किनकी मेरो खुसीको लागि मेरा आमाबुबाले आफ्नो आँसु लुकाएको मलाई राम्रोसँग थाह छ । त्यसैले म आफ्ना जन्मदाताको आँखामा आँसु देख्न चाहदिन । त्यति बेला म उमेरमा पनि अपरिपक्व भएकोले त्यसो गरेको हुनुपर्छ जस्तो लाग्दैछ अचेल । आखिर उसले मलाई मन पराउनु गलत पनि त होइन । तर मैले मन पराइन होला । उमेरले त्यसो गरेको होला । जब घरबाट नै मलाई यस कुराको सबै जानकारी भयो तब म पनि उसलाई नजानिदो तरिकाले मन पराउन थाले । मंसिर भनेपछि हाम्रो हिन्दु संस्कारमा बिहेबारी हुने महिनाको रुपमा हेरिन्छ । यही मंसिर २९ गते हाम्रो लगन जुरेको छ । मेरा आमाबुबाले घरकै आगनमा यज्ञ अनुष्ठान निर्माण गरी मलाई दान गर्ने व्यवस्थापन भइरहेको मलाई राम्रोसँग जानकारी छ । मन कता कता दुखिरहेको पनि छ । जन्मघरलाई छोडेर पराइको घरमा म उसकी श्रीमति हुन जाँदैछु । तर पनि परम्परा र रितिरिवाज अनुसार या त ब्रम्हचार्य धारण गर्न सक्नु प¥यो या त पराइको घरको आगनलाई आफ्नो सम्झेर जानु नै प¥यो । त्यसैले म यो मंसिर २९ गतेलाई स्वागत गर्नका लागि आतुर छु जसरी कुनै दिन मैले हानेको झापड बिर्सेर ऊ मेरो सिउँदोमा सिंन्दुर भर्न आतुर छ । यही मंसिर २९ गते हुने भयो च्यानाकुटी च्यानाकुटी झ्याँई झ्याँई ।
(यस लेखमा उल्लेख भएका पात्रहरु सबै काल्पनिक हुन् –लेखक)







