Loading... आजः १७ बैशाख २०८३, बिहीबार । Thursday 30th April 2026
ताजा खबर
  

प्रविधिको विकास नभएसम्म देशले समृद्धि प्राप्त गर्न सक्दैन : यादव

सुर्खेत ३० कार्तिक ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका क्याम्पस प्रमुख सोनालाल यादवले प्रविधिको विकास नभएसम्म देशले समृद्धि प्राप्त गर्न नसक्ने बताएका छन् । क्यान महासंघ कर्णाली प्रदेशको प्रथम वार्षिक साधारण सभामा शुभकामना मन्तव्य दिँदै यादबले यस्तो बताएका हुन् ।


‘जवसम्म प्रविधिको विकास हुँदैन तबसम्म गाउँदेखि शहरका जनताले राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न सक्दैन ।’ यादवले भने ‘त्यसैले हाम्रालाई भन्दा राम्रालाई अवसर दिन सकेको खण्डमा प्रविधिलाई अगाडि बढाउन सकिन्छ ।’ प्राकृतिक रुपमा भरिपूर्ण कर्णालीलाई समृद्धितर्फ लैजाने हो भने प्रविधिको विकास हुन जरुरी छ । जसका लागि स्थानीय, प्रदेश र संघिय सरकारले समेत प्रविधिको विकासमा ध्यान दिनु आजको आवश्यकता हो । वर्तमान दुईतिहाइको सरकार प्रविधिमैत्री नीति नियम बनाउन आवश्यक रहेको उनले बताए ।

क्यान महासंघका केन्द्रिय सदस्य दलबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्धितर्फ अगाडि बढाउने हो भने प्रविधिको विकास गर्न जरुरी रहेको बताए । उनले भने ‘प्रविधिको विकास विना अन्य विकासको परिकल्पना नगर्दा पनि हुन्छ ।’


त्यस्तै नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेश कञ्चन भारतीले प्रविधिको क्षेत्रमा काम गरिरहेको क्यान महासंघले कर्णाली प्रदेश सरकारलगायत स्थानीय सरकारहरुलाई समेत बारम्बार घचघच्याएर कर्णालीमा प्रविधिको विकास गर्न सक्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष पूर्णदेव अधिकारीले कर्णाली प्रदेशका दशवटै जिल्लामा क्यान महासंघका शाखाहरु विस्तार गरिने बताएका छन् । अध्यक्षको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अधिकारीले यस्तो बताएका हुन् । उनले भने ‘कर्णालीको विकास र समृद्धिका लागि क्यान महासंघका शाखाहरु कर्णालीका सबै जिल्लामा गठन हुनेछन् । सिमित स्रोत साधन र विभिन्न चुनौतीहरुको सामना गर्दै साइबर सेक्युरिटी, स्मार्ट सिटी र डिजिटल प्रदेशका लागि क्यान महासंघ कर्णाली प्रदेशले सक्दो सहयोग गर्ने उनको भनाई थियो ।

कार्यक्रममा क्यान महासंघ कर्णाली प्रदेशका सह–सचिव खगेन्द्रबहादुर पुलामीमगरले कर्णाली प्रदेश सरकारले डिजिटल प्रदेश बनाउने र मन्त्रिपरिषद पेपरलेस बनाएकोमा खुशी व्यक्त गरे । संस्थाका कोषाध्यक्ष लोकप्रसाद दहालले २ लाख २६ हजार ४ सय २२ रुपैयाँको आय – व्यय प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका सहसचिव खगेन्द्र पुलामीले संचालन गरेका थिए ।