Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

लागु औषध क्यान्सर भन्दा खतरनाक : मन्त्री भण्डारी

मंसिर ११, सुर्खेत ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले लागु औषध क्यान्सर भन्दा खतरनाक भएको बताउनु भएको छ । आज (मंगलबार) सुर्खेतको वीरेन्द्रनगरमा आयोजित लागु औषध विरुद्धको सचेतना कार्यक्रम समापन समारोहमा प्रमुख अतिथिको आशनबाट उहाँले यस्तो बताउनु भएको हो । मन्त्री भण्डारीले भन्नुभयो, ‘लागु औषध समाजको कलंकको रुपमा रहेकोले क्यान्सरले व्यक्तिलाई खतम पार्छ र परिवारमा दुःख ल्याउँछ तर लागु औषधले व्यक्ति, घर, समाज हुँदै राष्ट्रमा समेत नकारात्मक असर पार्ने र सिध्याउने काम गर्दछ ।’ लागु औषध मानविय कलंकको रुपमा रहेकोले यसका विरुद्ध सबै एक भएर लाग्नु पर्ने उहाँको भनाई थियो । पछिल्लो समयमा लागु औषधको बेचबिखत डरलाग्दो अवस्थामा रहेकोले यो सबैको साझा सत्रुलाई कसरी निर्मूल गर्न सकिन्छ भन्ने बारेमा समाजमा सचेतना फैलाउनु जरुरी रहेको मन्त्री भण्डारीले बताउनु भयो । उहाँले थप्नुभयो, ‘हामी कर्णाली प्रदेशलाई लागु औषधसहित प्रदेशको रुपमा स्थापित गराउन चाहन्छौं । जसका लागि सुधार गृहको निर्माण र प्रदेश प्रहरी श्रीमति संघसहित आसरा सुधार केन्द्रको शाखा विस्तार गर्ने योजनामा लागिरहेका छौं ।’ लागु औषध नियन्त्रण मात्र होइन निषेध नै गर्नु पर्ने भएकोले यस कार्यमा सबैले एकतावद्ध हुनु जरुरी छ मन्त्री भण्डारीको कथन थियो ।


समापन कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै कर्णाली प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष महिमा शाहले लागु औषधका कारण समाजले भोगीरहेको अवस्थाको व्याख्या गर्दै त्यसलाई निर्मूल पार्नका लागि चेतनाकै खाँचो रहेको बताउनु भयो । उहाँले भन्नुभयो, आधुनिक मानव समाजलाई लागू औषधले भौतिक र नैतिक रुपमा कमजोर बनाउदै लगिरहेको पाईएकोले त्यस्तो अवस्थालाई केही हदसम्म भएपनि कम गराउन सकिन्छ की भन्ने उदेश्यले प्रदेश प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले नेपाल प्रहरी श्रीमती संघको सुपरीवेक्षणमा सञ्चालित आसरा सुधार केन्द्र रानीवारी काठमाण्डौ सँग समन्वय गरी यस प्रदेश स्थित सुर्खेत, कालिकोट, जुम्ला र मुगु जिल्लाका विभिन्न स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई मिति २०७५ मंसिर ३ गतेदेखि ११ गतेसम्म लागु औषध दुर्ब्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आसरा सुधार केन्द्र रानीवारी काठमाण्डौले यस किसिमका कार्यक्रमहरु संलग्न गरी प्रदेश नं. १ को धरान, प्रदेश नं. २ रौतहट, प्रदेश नं. ३ को दुधौली र चितवनको भरतपुर, प्रदेश नं. ४ को बेलचौतारा तनहुँ एवं सामुदायिक प्रहरीसँग समन्वय गरी विभिन्न विद्यालय तथा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु र विभिन्न संघ संस्थाका कर्मचारीलाई सेवा प्रदान गरेको छ ।’

राष्ट्रका होनहार कर्णधारहरुलाई लागु पदार्थ जस्तो कुलतको दलदलमा फस्न नदिई सुखी शान्त र समृद्द घर तथा समाजको निर्माण गर्नु मुख्य उद्देश्य रहेको बताउँदै लागु औषध दुर्ब्यसनमा फसेका व्यक्तीहरूलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने लक्ष्य लिएको यस केन्द्रको स्थापना बि.सं. २०५४ (चौवन्न) सालमा भएको थियो । यसरी स्थापना भएको केन्द्र एक मुनाफा रहित गैह्र सरकारी संस्थाको रुपमा बि.सं. २०५५ साल माघ १९ गते संस्था दर्ता ऐन २०३४ अनुसार काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा दर्ता भई बि.सं. २०५७ साल माघ ३ गते देखि समाज कल्याण परिषदमा र बि.सं. २०६९ साल श्रावण ११ गते गृह मन्त्रालयमा सुचीकृत हुनुका साथै बि.सं. २०७३ साल बैशाख २ गते गृह मन्त्रालयमा आवद्ध समेत भई सेवा प्रदान गर्दै आईरहेको जानकारी गराउनु भयो ।


यस केन्द्रको उपचार पद्दती भनेको होलिष्टिक एप्रोच पद्दती हो । केन्द्रमा उपचारमा रहेका सदस्यहरुको दैनिक स्वास्थ्य परीक्षण केन्द्रमा रहेको मेडिकल युनिट र नेपाल प्रहरी अस्पतालका चिकित्सकहरुबाट गर्ने गरिन्छ । यसका साथसाथै शारीरिक स्वस्थता, भावनात्मक परिवर्तन, पारिवारिक र सामाजिक समन्वय, आध्यात्मिक परिवर्तन, स्वावलम्वी र आत्म संयमी बनाउने कार्यहरु समेत केन्द्रले गर्दै आईरहेको छ ।

केन्द्रले बि.सं. २०५४ साल आश्विन १ गते देखि २०७५ साल कार्तिक मसान्तसम्म ४३७६ ( चार हजार तीन सय छयहत्तर ) जनालाई आवासीय रुपमा भर्ना गरी उपचार गराई पठाई सकेको छ भने हाल केन्द्रमा ६७ जना सदस्यहरु उपचारमा रहेका छन् । यसको अलावा केन्द्रले विभिन्न संघ संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई केन्द्रको बारेमा खोज तथा अनुसन्धान कार्यमा सहयोग समेत गर्दै आईरहेको छ । साथै यस केन्द्रले नेपालको सातै प्रदेशमा आफ्नो शाखा केन्द्र स्थापना गराई सामाजिक सेवा प्रदान गर्ने उद्धेश्यले प्रदेश नं. १ को धरानमा शाखा विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ भने काठमाण्डौको तिलगंगा स्थित पिंगलास्थानमा महिला सुधार केन्द्रको भवन मर्मत कार्य समेत अन्तिम चरणमा पुगि निकट भविष्यमै सञ्चालन हुने अवस्थामा रहेको छ । त्यस्तै गरी ५ नं. प्रदेशको दाङको लमहीमा पनि शाखा केन्द्र स्थापनाको लागि जग्गा उपलब्ध गराउनको निमित्त लमही नगर विकास समिति सँग अनुरोध गरिएकोमा उक्त समितिबाट सहरी विकास मन्त्रालयमा पहल भईरहेको छ । यस प्रदेशमा छिट्टै नै आसरा केन्द्रको शाखा स्थापना भई कार्य शुभारम्भ हुने आशा समेत गर्नुभयो ।


कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेशबिक्रम शाहले कर्णालीमा डरलाग्दो रुपमा फैलिएको लागु औषध विरुद्ध जनचेतना मूलक कार्यक्रम आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कर्णालीमा घट्ने अधिकांश अपराधिक घटनाहरु लागु औषध र मदिरा सेवनका कारण घटिरहेका छन् । त्यसैले यसको नियन्त्रण र निषेध नभएसम्म समाजमा शान्ति स्थापना हुन सक्दैन ।’ ‘कर्णालीमा विज्ञहरु लगायत आवश्यक सामग्रीहरुको समेत अभावका कारण लागु औषध नियन्त्रणका कार्यमा समस्या उत्पन्न हुने गरेको भएपनि प्रहरीले सक्दो प्रयास गरिरहेको छ ’ डिआइजी शाहको भनाई थियो । उहाँले भन्नुभयो, ‘अब सदरमुकाममा मात्र होइन गाउँ बस्तीमा समेत सचेतना फैलाउने योजनाका साथ अघि बढ्छौ ।’


उक्त कार्यक्रममा दुव्र्यसनीका विरुद्ध राम्रो काम गर्ने जिल्ला प्रहरी कार्यालय जुम्ला, मुगु, कालीकोट, सुर्खेत, इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेत, प्रहरी तालीम केन्द्र सुर्खेत, प्रहरी नायव निरीक्षक मञ्जु चौधरीलाई प्रशंसापत्र र सवारी चालक शेरबहादुर महतो, लोकबहादुर महतो र महादेव गिरीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।