अख्तियारमा सबैभन्दा धेरै उजुरी सुर्खेतका
मंसिर १९ सुर्खेत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले सबै भन्दा धेरै उजुरी सुर्खेतका परेको जनाएको छ । सुर्खेत स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जनाएको हो । आयोगका अनुसार कर्णाली प्रदेशमा सबै भन्दा कम उजुरी पर्नेमा डोल्पा जिल्ला रहेको छ । चालु आ. व. को कार्तिकसम्म मात्रै सुर्खेतमा १ सय ६ उजुरी परेका छन् भने डोल्पामा ६ वटा मात्र उजुरी परेका छन् ।

सुर्खेतबाट १०६ उजुरी दर्ता भएकोमा ३२ ओटा फछ्र्यौट भएको र दैलेखबाट ८५ उजुरी परेकोमा १९ ओटा मुद्दा फछ्र्यौट भइसकेको आयोगका सहसचिव एवम कार्यालय प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिए । उनका अनुसार जाजरकोट जिल्लाबाट ७३ ओटा उजुरी परेकोमा १२ मुद्दा फछ्र्यौट भएका छन् । यस्तै, कालिकोटमा ५८ ओटामा ६ ओटा जुम्लामा ४२ मा १२, हुम्लामा ४० मा ५, रुकुम पश्चिममा ३५ मा ८, सल्यानमा ३३ मा ११, मुगुमा २१ मा ३ र डोल्पामा ६ ओटा उजुरी दर्ता भएको कार्यालय प्रमुख सुवेदीले बताए । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ५०३ ओटा उजुरी दर्ता भएकोमा ११२ ओटाको पछ्र्यौट भएको छ भने ३९१ ओटा उजूरी अनुसन्धानको क्रममा छन् ।
सुर्खेतमा अख्तियारको कार्यालय स्थापना भएयता २०७०/०७१ मा एक हजार ६४ मुद्दा दर्ता भएको थियो भने आर्थिक वर्ष २०७१/०७२ मा दुई हजार एकसय ११, आर्थिक वर्ष २०७२/०७३ मा २०६९, २००७४ मा ६ सय ३३ र गत आर्थिक वर्षमा ७५१ ओटा उजुरीहरु दर्ता भएका थिए । आयोगले चार वर्षको अवधिमा २ करोड १४ लाख ५६ हजार ७१५ रुपैंया पचास पैसा रकम असुल गरेको छ । यो आर्थिक वर्ष २०७१/०७२ मा ५० लाख ४९ हजार ५१२, आर्थिक वर्ष ०७२/०७३ मा १ करोड १४ लाख ९२ हजार ६४६ र आर्थिक वर्ष २००७४ मा ११ लाख ७३ हजार ९९१ रुपैंया हो । आयोगको निर्णयबाट ५९ हजार ६०० रुपैंया असुल गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा ११ लाख ७३ हजार ९९१ रुपैंया कार्यालयले असुली गरेको छ । कार्यालयले अहिलेसम्म ३६ ओटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । ती सबै मुद्दामा ९० जनालाई प्रतिवादी बनाइएको छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै तीन मुद्दामा ७ जनालाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख ज्ञवालीको भनाई छ । आयोगले आजसम्म २८ जनालाई रंगेहात पक्राउ गरेको जनाएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म आयोगमा परेका उजुरीमा सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्वद्ध १५५ ओटा उजुरी परेका छन् । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबारे १४५ ओटा उजुरी परेका छन् । सबैभन्दा कम उजुरी युवा तथा खेलकुद मन्त्रालयको परेको छ । उक्त मन्त्रालयको १ ओटामात्रै उजुरी परेको छ । सुर्खेत जिल्लामा मात्रै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका ३७ ओटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका २३ ओटा, वन तथा वातावरण मन्त्रालयका १९ ओटा, स्वास्थ्य जनसंख्या मन्त्रालयका १० ओटा उजुरी कार्यालयमा दर्ता भएका छन् । त्यस्तै, खानेपानी मन्त्रालयका ४, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका ३ ओटा, उर्जा, जलस्रोत तथा सिंचाई मनत्रालयको २ कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको दुई गरी जम्मा १०६ ओटा कार्यालयमा उजुरी आएकोमा ३२ ओटा फछ्र्यौट भइसकेका छन भने ७४ ओटा बाँकी छन् ।






