एकै दिन ४ सय पुस्तक हस्तान्तरण
माघ ११ सुर्खेत ।
कर्णाली प्रदेशमा रहेका कारागारहरूमा पुस्तकालय स्थापनाका लागि पुस्तक संलकन अभियानले तिब्रता पाएको छ । उक्त अभियान सफल बनाउन पुस्तकहरु हस्तान्तरण गर्नेहरुको संख्या दिन प्रतिदिन थपिँदै छ । यस अभियानलाई सफल बनाउनका लागि पत्रकार खगेन्द्र भट्टराई र कृष्णराज धमलाले पुस्तक हस्तान्तरण गर्नु भएको छ ।
यस अभियानका अभियन्ता साहित्यकार एवम् कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहलाई खगेन्द्र भट्टराई र कृष्णराज धमलाले संयुक्त रुपमा पुस्तकहरु हस्तान्तरण गर्नुभएको हो ।
पछिल्लो समयमा अभियानलाई सफल बनाउनका लागि कर्णाली प्रदेशका सबै जिल्लाहरुमा जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा उपसमिति समेत गठन भइसकेको छन् ।
कर्णाली प्रदेशमा जम्मा रहेका दश वटा कारागारहरू रहेका छन् । ती कारागारमा रहेका कैदीहरूलाई पढ्नका लागि आवश्यक किताब संकलन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत रही ‘कारागारलाइ किताब’ अभियान सञ्चालन भइरहेको छ ।
अभियान सफलता तिर गइरहेको र स्वदेश तथा विदेशमा बस्नेहरुले समेत हातेमालो गरिरहेकोे प्रदेश प्रहरी प्रमुख तथा अभियान सञ्चालक समितिका संयोजक डिआइजी महेशविक्रम शाहले बताउनु भएको छ ।
पुस्तकालय स्थापनाका लागि कुनै व्यक्तिले रकम दिएमा पनि लिने र त्यसबाट किताब किनिने अभियन्ता शाहको भनाई छ । ‘पहिलो काम दाताहरूले जस्तो किताबहरू दिनुहुन्छ ती सबै संकलन गर्छौं, त्यसपछि छान्ने काम गर्छौं,’ डिआइजी शाहले भन्नुभयो, ‘केही किताबहरू कारागारमा राख्न नपर्ने खालका हुन पनि सक्छ, कैदीहरूका लागि ज्ञानवर्द्धक, सीपमुलक, जीवन उपयोगी किताबहरू छानेर पुस्तकालयमा राखिदिन्छौं ।’ कैदीहरुलाई आफूले सजाय भोगेर बाहिर आइसकेपछि समाजमा घुलमिल हुन त्यस्ता किताब अध्ययनबाट केही सहज हुने बताइएको छ ।
उहाँले सबै कारागारहरूमा पुस्तकालय स्थापनापछि निरन्तर अनुगमनका साथै अन्य आवश्यक किताबहरू थप गरिने पनि क्वीकखबरलाई बताउनु भयो ।
कर्णाली प्रदेशका सबै जिल्लाको भ्रमणका क्रममा कारागारमा किताबको आवश्यकता खड्किएको पाएकोले उत्प्रेरणा, उत्साह दिने र जीवनबारे बुझाउने खालका पुस्तकहरु व्यवस्था गर्न अभियान सुरू गरिएको डिआइजी शाहको भनाई छ ।







