दुई राप्रपा एक हुँदै : १८ गते जुराए साइत
माघ १५ सुर्खेत |
पशुपति शमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकीकरण हुने भएको छ । जसका लागि यही १८ माघमा काठमाडौंको राष्ट्रिय सभागृहमा एकता घोषणा सभा हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का संगठन विभाग सदस्य कविराम पुरीले क्वीकखबरलाई जानकारी दिनु भयो ।

एकता अन्तिम चरणमा पुगेको राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘हाम्रो एकता प्रक्रिया लगभग टुँङ्गएिको छ ।’
स्रोतका अनुसार एकीकृत पार्टीमा राणा र लोहनी दुबै अध्यक्ष रहनुहुने छ । दुई अध्यक्षबीच मंगलबार नै एकतासम्बन्धी सहमतिमा हस्ताक्षर हुँदैछ ।
कमल थापा नेतृत्वको राप्रपासँगको एकता अन्तिम समयमा भाँडिएपछि दुई पार्टी एक हुन लागेको हो राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले जनाएको छ । देशले बैकल्पिक राजनीतिक शक्तिको महसुस गरिरहेको बेलामा दुई पार्टी बीच हुने एकताले अबको बैकल्पिक शक्तिको रुपमा अगाडि आउनेमा दुबै पार्टीका नेताहरुले बताउँदै आएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सुर्खेतका अध्यक्ष एवम् संगठन विभाग सदस्य कविराम पुरीले सबै कार्यकर्ताहरुलाई उत्साहका पार्टी पंक्ति लाग्न अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरु उत्साहका साथ नयाँ जोश र जाँगर लिएर एकतामा लाग्नु पर्ने र तत्पश्चात जनताको समस्या समाधान गर्नका लागि संगठन विस्तार लाग्नु पर्ने समय आएको छ ।’






