रेडियो नेपाल नम्बर वान बन्न सक्नु पर्छ : मन्त्री भण्डारी
माघ २५ सुर्खेत ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले रेडियो नेपाल नम्बर वान बन्न सक्नु पर्ने बताउनु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि शुरु भएको समावेशी प्रचार सामग्री उत्पादन तथा प्रशारण सम्बन्धी तीन दिने तालिमको उद्घाटन सत्रमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो ।

रेडियो प्रसार सेवा विकास समितिको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने उक्त तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट शुभकामना मन्तव्य दिँदै मन्त्री भण्डारीले भन्नुभयो, ‘रेडियो नेपाल सरकारी सञ्चार माध्यम हो । यसले आफ्नै ऐतिहासिक महत्व बोकेको छ । यसमा कार्यरत पत्रकारहरुले आफूलाई नम्बर वान बनाउन सकेको खण्डमा यो देशको ठूलो सञ्चार माध्यम पनि नम्बर वान हुनेछ ।’ राज्यको मूल चरित्र नै समावेशी भएकोले त्यसलाई प्रवद्र्धन गर्न, अर्थपूर्ण र सार्थक बनाउन समावेशी प्रचार सामग्री उत्पादन तथा प्रशारण सम्बन्धी तालिमले अहम् भूमिका खेल्ने बताउँदै मन्त्री भण्डारीले रेडियो नेपालले आफ्नो ऐतिहासिक भूमिकालाई सुदृढ गर्दै आफूलाई प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, ‘कर्णाली प्रदेश सरकार सञ्चारको महत्वलाई ह्दयंगम गर्दै अगाडि बढिरहेकोले विश्वमान चित्रमा नेपाल माथि लागेको गरिबीको टीका मेटाउन सञ्चार माध्यमले हातेमालो गरेर अगाडि बढ्न आवश्यक छ ।’

तालिम उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले रेडियो नेपालले आम नेपालीका बीचमा आफ्नै बिरासत कायम गर्न सफल भएको बताउँदै त्यसलाई अझ दरिलो बनाएर अगाडि बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘रेडियो नेपालबाट प्रशारण हुने सामग्रीको आफ्नै विशेषता छ त्यसैले जनप्रतिनिधिहरुलाई पनि कसरी सफल बनाउन सकिन्छ भन्ने कुरामा सञ्चार जगतले भूमिका खेल्नु पर्छ ।’ कुनै समयमा राजनीतिक परिवर्तनका लागि भूमिका खेल्ने सञ्चार माध्यमहरुले अब विकास र समृद्धिका लागि काम गर्नुपर्ने उपप्रमुख ढकालको कथन थियो ।

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र ५ नं. प्रदेशका २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

रेडियो नेपाल कर्णाली प्रशारण केन्द्रका निर्देशक पुष्करराज गौतमको सभापतित्वमा भएको तालिम उद्घाटन कार्यक्रममा रेडियो नेपाल कर्णाली प्रशारण केन्द्रका प्रमुख जानकीशरण शाह, कर्णाली प्रदेश पत्रकार महासंघका अध्यक्ष दुर्गा थापा, पत्रकार महासंघ सुर्खेत शाखाका पूर्व अध्यक्ष श्रीधर पौड्याल, रेडियो नेपालका पवन पौडेल, सञ्चार तथा सूचना प्रविधि विभागका सन्तोष कुमार खत्रीलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण रेडियो नेपाल कर्णाली प्रशारण केन्द्रका भानुभक्त खड्काले गर्नुभएको थियो ।






