धर्म निरपेक्षता जनता माथिको धोका हो : जबरा
चैत्र ४ सुर्खेत ।
संख्यात्मक रुपमा आफूलाई ठूला दल हौ भन्नेहरुले पैसामा बिकेर देशमा जबर्जस्ती लादिएको धर्मनिरपेक्षता धोका भएको बताइएको छ । सोमबार (आज) कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णाली प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमसेर जबराले यस्तो बताउनु भएको हो ।
कर्णाली प्रदेशका १० जिल्लाबाटै पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष राणाले भन्नुभयो, ‘हाम्रो पार्टी मुलुकको धर्म, संस्कृति र परम्परा मान्दै आएको छ । ठूला दलहरुले डलरको लोभमा फसेर जनताको अभिमत विरुद्धमा घोषणा गरिएको धर्मनिरपेक्षलाई एक दिन फालेरै छाड्छौ ।’ देशका राष्ट्रपतिहरु समेत निष्पक्ष हुन नसकेको बताउँदै सबैलाई मान्य हुने संवैधानिक राजतन्त्रको आवश्यकता खड्किएको उहाँको भनाई थियो । २०४७ साल भन्दा पछि बनेका सरकारहरु मध्ये सबै भन्दा बलियो सरकार वर्तमान अवस्थामा यो सरकारले विकासको सट्टा भ्रष्टाचारलाई प्रश्रय दिँदै वडा–वडासम्म पु¥याएको उहाँको भनाई थियो ।

सम्बोधनका क्रममा अध्यक्ष जबराले भन्नुभयो, ‘भ्रष्टाचारमा लिप्त भएको यो सरकारले राजनीतिक आस्थाका कारण संविधान विरुद्ध कुनै दल माथि लगाएको प्रतिबन्धका कारण देशको शान्ति व्यवस्थालाई खलल पार्ने काम गरेको छ ।’ आफ्नो पार्टी तर्फ समेत प्रतिबन्धको संकेत गरेको भन्दै अध्यक्ष जबराले भन्नुभयो, ‘यदि त्यसो ग¥यो भने हामी प्रतिपाद गर्न तयार छौ । किनकी जनताले पाउनु पर्ने हक र अधिकारको बारेमा बोल्दा र सरकारले गरेका कर्तुतहरु जनता समक्ष ल्याउँदा अधिनायकवादी बनेर दुःख दिने नियत धेरै दिनसम्म टिक्दैन ।’
वर्तमान प्रधानमन्त्रीले जुठो होली वाइन खाएकोले उनले हिन्दु धर्मलाई नजिकबाट चिन्नै नसकेको भन्दै कम्यूनिष्टहरुले जनवादी केन्द्रियता ल्याए भने प्रजातन्त्रको समाप्ति हुने अध्यक्ष जबराको भनाई थियो । अध्यक्ष जबराले भन्नुभयो, ‘परम्परागत शक्ति र हिन्दुराष्ट्रको लागि आउँदो जेठ महिनाबाट आन्दोलन गर्न समेत तयार छौ ।’ संविधानले दिएको संविधान संशोधन गर्ने अधिकारमाथि टेकेर राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्र स्थापना गरेरै छाड्ने संकल्प लिएर अगाडि बढेकोले अब कसैले हामीलाई फुटाउन नसक्ने अध्यक्ष जबराको भनाई थियो ।
भेलालाई सम्बोधन गर्दै पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कर्णाली प्रदेश नेपाली भाषाको उद्गमस्थल भएकोले नेपालकै सम्पन्न प्रदेश हुनुपर्नेमा संस्कृति, धर्म, परम्परा, रितिरिवाज, प्राकृतिक तथा धार्मिक सम्पदाहरु भएर पनि यसलाई गरिब बनाइएको बताउनु भयो । कर्णाली प्रदेश सभ्यताको खानी भएकोले यसको इतिहासलाई महत्वका साथ जगेर्ना गर्दै सभ्यताको स्रोतकेन्द्र कर्णालीको संरक्षणमा राप्रपा (संयुक्त) जुटिसकेको बताउनु भयो । वर्तमान सरकारले त्यस तर्फ ध्यान दिन नसकेको गुनासो गर्दै उहाँले भन्नुभयो, ‘कर्णालीलाई मानव सभ्यताको स्रोतको रुपमा संयुक्त राष्ट्र संघमा दर्ता गराउन प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्दछु ।’ संघीयता पछि कर बढाएर जनताको ढाड सेक्ने काम बाहेक अरु केही उन्नती नभएको बताउँदै अध्यक्ष डा. लोहनीले आफ्नै दल र दलका गुटबन्दीमा हालीमुहाली गर्नेहरुले जनतालाई शोषण गरिरहेका छन् ।’ नेपाली जनता अब दलीय अधिनायकवाद विरुद्धमा एकजुट हुन आग्रह गर्दै अध्यक्ष डा. लोहनीले भन्नुभयो, धर्म र संस्कृतिलाई उपेक्षा गरे राष्ट्र बलियो हुँदैन । बाह्य शक्तिसँग सम्झौता गरेर राजनीति नगर्नुहोस् । अहिलेसम्मकै सबैभन्दा भ्रष्ट सरकारको पदक लगाएर यो सरकारलाई जनताले नै हटाउनु पर्दछ अध्यक्ष डा. लोहनीको भनाई थियो । अध्यक्षद्वयले नै अब राप्रपा (संयुक्त) कहिल्यै विभाजन नहुने गरी एकिकरण भएको बताउनु भएको छ ।

कार्यकर्ता भेलामा पार्टीका उपाध्यक्ष एवम् उच्चस्तर कार्यदलका सदस्य विक्रम पाण्डेले कर्णालीका अगुवा नेता तथा कार्यकर्ताहरुले दिएको सुझाव संकलन गरेर केन्द्रमा जाने र पार्टीलाई जनभावना अनुसार चलायमान बनाउने बताउनु भयो । उहाँले भन्नुभयो, हाम्रा एजेण्डाहरु आधारस्तम्भ हुन् जसका लागि कार्यकर्ताले राखेका सुझावलाई कार्यान्वयन गर्दै जनता प्रति बफादार भएर अगाडि बढ्छौ ।’ पार्टीको कामको सिलसिलामा शहादत प्राप्त गरेकाहरुको खोजी गरि उनीहरुलाई उचित सम्मान दिने नेता पाण्डेको भनाई थियो । कर्णालीका अधिकांश नेता तथा अगुवा कार्यकर्ताहरुले पार्टी जुट र फुटको कारण समस्यामा परेको कुराालाई स्वीकार गर्दै नेता पाण्डेले भन्नुभयो, ‘जसरी दुध नदिने माउलाई बच्चाले छोडिदिन्छ त्यसरी नै अब पनि फुट र जुटको खेलमा लाग्ने हो भने जनताले साथ छोड्छन् भन्ने कुरालाई राम्रोसँग मनन् गरेर कर्णालीबाट फर्किन्छौं ।’ नेता विक्रम पाण्डेले विदेशीको इसारामा पार्टी पटक–पटक विभाजन हुँदा गलत व्यक्तिले फाइदा उठाएको बताउँदै अबका दिनमा कुनैपनि हालतमा पार्टी विभाजन नगर्ने प्रतिवद्धता सहित जनताका सामु आएको बताउनु भयो ।
प्रदेश स्तरीय कार्यकर्ता भेलामा बोल्दै अर्का नेता सुनिल बहादुर थापाले राप्रपा (संयुक्त) निरन्तरतासहितको परिवर्तनको पक्षमा रहेको बताउनु भयो । वर्तमान दुरावस्थाको अन्त्यको लागि पार्टीले देशको इतिहास, धर्म र संस्कृतिको जगामा निरन्तरतासहितको परिवर्तनको एजेण्डा अवलम्बन गरेको उहाँको भनाई थियो । पार्टीको लक्ष्य र उद्देश्यहरु परिपूर्ति गर्नका लागि धर्म निरपेक्षता प्रति असहमति राख्दै वर्तमान संविधानमा भएका कमजोरी सच्याउन वर्तमान सरकारलाई आग्रह गर्दछु नेता थापाले भन्नुभयो ।
कार्यकर्ता भेलामा अधिकांश वक्ताहरुले पार्टीको फुटको सन्दर्भ जोड्दै अबका दिनमा टुट र फुटमा नअल्झिएर पार्टीका एजेण्डा स्थापित गर्ने तर्फ लाग्नु पर्ने बताउनु भएको थियो । भेलालाई पार्टीका सचिवालय प्रमुख ध्रव बहादुर प्रधान, जगत प्रसाद गौचन, मीन बहादुर कुवँर, कार्यक्रममा उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरु कविराम पुरी, किशोर कार्की, किरण गिरी, किशोर बहादुर सिंह, धनसुर शाही, राजु लोहनी, सुनिता शाह, रुद्र बहादुर चन्द, युद्धबीर सिंह, काली बहादुर शाहीलगायत कर्णाली प्रदेशका सबै जिल्लाका जिल्ला कार्य समिति अध्यक्षहरुले मन्तव्य राख्नु भएको उक्त भेला कर्णाली प्रदेश कार्य समितिका अध्यक्ष दीप बहादुर शाहीको अध्यक्षतामा भएको थियो भने सहजीकरण अम्बर बहादुर कार्कीले गर्नुभएको थियो ।









