Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

होलीको इतिहास र आजको सान्दर्भिकता

विमल लामिछाने ।
फागु पूर्णिमा रङहरूको पर्वका रुपमा मनाइने होली पर्व पनि । बसन्त ऋतुको आगमनसँगै रङ खेलेर उल्लासपूर्ण रुपमा देशभर होली पर्व मनाउने गरिन्छ । असत्य माथि सत्यको जीतको रुपमा होली पर्व मनाउँदै आइएको छ । आपसमा रङहरू दलेर खुसीयाली साटासाट गरेर मनाइने पर्वमा जसरी विभिन्न रङहरूको महत्व रहन्छ, त्यसरी नै समाजमा सबै जाति–भाषा, लिङ्ग, वर्ण तथा समुदायको सम्मिश्रण सुहाउँछ भन्ने मर्म यस पर्वले बोकेको छ । भातृत्व र आपसी सद्भावको पर्व–हालीको रौनक विभिन्न क्षेत्रमा सुरु भइसकेको छ । विभिन्न स्थानमा संस्कार अनुसार होलीको उत्सव सुरु भएको छ ।

Image

यस पर्वलाई मेलमिलाप, आपसी भाइचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाउनु पर्ने हो तर अहिले केही भड्किलो भएर जाँदैगरेको अनुभूत हुन्छ । नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ । हिन्दु संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फाल्गुण महिनामा पर्ने भएकाले यस पर्वलाई तराईतिर फगुवा भनिन्छ । यो पर्व नेपाल, भारत तथा अन्य हिन्दु संस्कृति मनाउने राष्ट्रहरूमा मनाइने महत्वपूर्ण पर्व हो । होलीका दिन एक अर्कामाथि विभिन्न प्रकारका रङहरू हानेर रङ्गिन बनाउने÷ बन्ने गरिन्छ ।

होली पर्वको दिन आफ्नो घरमा शत्रु नै आए पनि सम्मान र स्वागत गर्नुपर्ने किम्वदन्ती रहँदै आएको छ । त्यसैले यस पर्वको महत्व र सारतत्वलाई जीवन्त बनाउन र दैनिक जीवनमा पनि लागु गर्न होलीले सन्देश पनि दिने गरेको छ । वर्षभरि दैनिक जीवनमा रहे–बनेका विभिन्न बैमनस्यता तथा आपसी कटुता बिर्सेर भातृत्व बलियो पार्न हरेक वर्ष हामीलाई झक्झक्याउने गरेको छ होलीले ।

होली पर्वका नाममा केही वर्षयता भित्रिँदै गरेका विवmृतीहरूले पनि संस्कृतिका हिमायतीहरूलाई चिन्तित बनाएको छ । पर्व मनाउने र रमाइलो गर्ने बहानामा भाङ्ग, धतुरोका विभिन्न परिकार खाने, शरीरमा विभिन्न प्रकारका रङ–रोगन गर्ने, छालाका लागि अनुपयोगी रङहरू प्रयोग गर्ने  तथा जबरजस्ती रङ दल्ने तथा लोला हान्ने प्रवृति पनि बढेको छ । युवा पुस्तामा बढेको यस प्रकारको शैलीले संस्कारलाई बलियो भन्दा पनि बिटुलो बनाउने हो कि भन्ने पनि चिन्ता बढेको छ ।

कम्तिमा होलीले दिएका सन्देशहरूलाई हामीले दैनिक जीवनमा अवलम्बन गर्न सक्याँै भने यस पर्वप्रतिको सच्चा अनुशरण ठहरिनेछ । विभिन्न समुदाय बिच चिसिन खोजेको सम्बन्ध बलियो पार्न पनि होली पर्वले हामीलाई सचेत र सजग गराइरहेको छ ।
होली केवल धार्मिक कारणले मात्र मनाइने गरे पनि यसका पछाडि केही वैज्ञानिक कारणहरू समेत रहेका छन् । प्राकृतिक दृष्टिले अहिलेको समय शिशिर ऋतुको जाडोका अन्त्य भई बसन्त ऋतुको न्यानो सुरु हुने चरणमा छ ।

आयुर्वेदका अनुसार एउटा ऋतु सकिने र अर्को ऋतु लाग्ने समयमा मानव शरीरमा आलस्य पैदा हुने र विभिन्न सङ्व्रmमणका कारण बिरामी हुने सम्भावना अत्याधिक हुन्छ । शिशिर ऋतुको चिसोका कारण शरीरमा कफको मात्र बढेको हुन्छ । शरीरमा बढेको कफ बसन्त ऋतुमा तापव्रmम बढ्ने हुँदा शरीरबाट कफ बाहीर निस्कने व्रmम सुरु हुन्छ भनिन्छ ।

पुरातन संस्कार र पौराणिक ग्रन्थहरूको इतिहासलाई हेर्ने हो भने त्रेतायुगमा हिरण्यकश्यपु नामको दानवका प्रल्हाद नाम गरेका छोरा थिए । उनी भगवान् विष्णुका भक्त थिए । उनलाई मार्न हिरण्यकस्यपु स्वयम्ले धेरै प्रयास गरे । तर, केही गर्दा पनि नसकेपछि आगोले समेत जलाउन नसक्ने वरदान पाएकी होलिका नाम गरेकी राक्षसी जो हिरण्यकस्यपुकी बहिनी थिइन्, उनलाई प्रल्हादलाई मार्ने आदेश दिएर पठाए । होलिकाले प्रल्हादलाई काखमा लिएर आगोमा होमिइन् तर आगोले प्रल्हाद केही भएनन्, होलिका नै जलेर नष्ट भइन् । हिराण्यकश्यपुलाई पनि भगवान् विष्णुले पछि नरसिंह अवतार लिएर मारे । यसरी होलिका दहन भएपछि भोलिपल्ट बिहान रङ घोलेर एक अर्कामाथि लगाइदिने चलन रहेको धर्मग्रन्थहरूमा बताइएको छ । यहीबाट पौराणिक घटनाकी होलिका नामककी राक्षसीको वध भएको दिनको रुपमा होली खेल्ने चलन सुरु भएको किम्वदन्ती रहेको छ । होलीमा रातो, हरियो, पहेँलो, निलो सहित बाँकी सबै प्रकारका रङको प्रयोग गरिन्छ । रातो टिका लगाएर खुसियाली मनाइन्छ । आजको दिनलाई पर्व बिदाका रुपमा सार्वजनिक बिदा दिने गरिन्छ । काठमाडौँ उपत्यका र पहाडी जिल्लामा पूर्णिमाकै दिन र त्यसको भोलिपल्ट तराईका जिल्लामा होली खेलिने भएकाले त्यही अनुसार बिदा दिने चलन छ ।

अर्को पौराणिक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्न स्तनमा बीष दलेर दूध खुवाउन गएकी पुतना नामकी राक्षसीलाई कृष्णले उल्टै मारिदिएको र पुतनाको भयङ््कर ठुलो शवलाई गोपालबासीहरूले आजैकै दिन जलाएर जयजयकार गर्दै रङहरूको जात्रा गरेको र खुसियाली मनाएको मानिन्छ । यसरी होली पर्वको वर्णन धेरै धार्मिक ग्रन्थहरूमा गरिएको पाइन्छ । पुराणहरूमा पनि यही उल्लेख गरिएको पाइन्छ । विशेषगरी नारदपुराण र भविष्य पुराणमा होलीको प्राचिनताबारे उल्लेख गरिएको छ ।

होलीको दिन युवायुवती गीत गाउँदै नाच्दै रङलगाइदिएर होली खेल्छन् । यस पर्वमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरू समेत हुल बाँधेर एक अर्कालाई रङ लगाउँदै हिँड्ने गर्दछन् । होलीमा प्रयोग गरिने नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नीलो वर्णका श्रीहरि विष्णुले अधर्म नास गर्न तथा धर्म रक्षाका लागि युगअनुसार अवतार लिँदै आउने धार्मिक विश्वास रहेको छ । पहेँलो रङ श्रीकृष्णको प्रिय रङ हो । रातो रङलाई भने शक्ति र सौभाग्य सूचक मानिन्छ । शक्तिको प्रतिक भएकाले युद्ध विजय र खुशीमा महोत्सवहरूमा पनि रातो रङ नै प्रयोग गरिएको पाइन्छ यसलाई ऊर्जा र प्रीतिको प्रतिक रङ पनि भनिन्छ । त्यही भएर प्रायः देवताहरूलाई रातो रङका पहिरनमा देखाइन्छ । महिलाले पनि रातो रङ बढी मन पराउँछन् ।

जे भए पनि होलीमा नाचगान गर्ने, रङ लगाउने, आगो ताप्ने लगायतका कार्य गर्नु स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । होली पर्वलाई जबरजस्तको पर्व बनाउनु भन्दा साँचो रुपमा आपसी हार्दिकता, भातृत्व र भाइचाराको पर्वको रुपमा मनाउन आवश्यक छ । आगामी पुस्तालाई सु–संस्कृतरुपमा पर्वहरू हस्तान्तरण गर्नका लागि पनि पर्वहरू भड्किलो शैलीले मनाउनु भन्दा मर्यादित र व्यवस्थित रुपमा जोगाउन र समृद्ध बनाउन आवश्यक छ ।

सजिलो खबर बाट