Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

‘स्मोकिङ रुम’ जस्ता देखिन्छन् क्यान्टिनहरु

चैत्र २२ सुर्खेत ।
समय दिउँसो १ बजे । विद्यालय पोशाकमा चार पाँच जनाको समूह । एउटा विद्यालयको क्यान्टिनमा पस्छन् । झट्ट हेर्दा चौध, पन्ध्र वर्षको उमेर । ‘आन्टि पाउन’ उनीहरुको सांकेतिक भाषा । पसलले उनीहरुलाई चुरोटसँगै सलाई थमाएपछि उनीहरु भित्रको कोठा तिर लाग्छन् । यो त एउटा उदाहरण मात्र हो । सुर्खेतको वीरेन्द्रनगरमा रहेका अधिकांश विद्यालयहरुमा संचालन भइरहेका क्यान्टिनहरुमा यस्ता दृष्यहरु देख्न पाइन्छ ।


पछिल्लो समयमा बालबालिकाहरु कुलतको शिकार बन्दै जाने क्रम बढ्दो रुपमा रहेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पछिल्लो समयमा लागुऔषधसहित धुम्रपान तथा मध्यपान गर्ने बालबालिकाहरुको संख्यामा बृद्धि रहेको पाइएको छ । वीरेन्द्रनगरको शैक्षिक क्षेत्र आसपासका कटेजहरु हुन् वा बसपार्कको छेउछाउमा रहेका विभिन्न साना चियापसलहरु । चिया नास्ताका दृष्टिले सहज पहुँचमा रहेका नास्ता पसलहरु नै किन नहुन् । प्रायः यस्ता पसलहरु बालबालिकाहरुले धुम्रपान गर्नेदेखि लागुऔषधको सेवन गर्ने अखडाका रुपमा विकसित भइरहेका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पछिल्लो समयमा प्रहरीले लागुऔषधसहित विभिन्न व्यक्तिहरुलाई पक्राउ गरिरहेको छ । लागुऔषधको कारोबार बढिरहेको भन्दै प्रहरीले विभिन्न सुराकीहरुको समेत सहयोग लिएर त्यस्तो कार्य गर्नेहरुलाई नियन्त्रण गर्नका लागि पहल चालिरहेको बताइएको छ । तर पनि बालबालिकाहरु लागुऔषध लगायत अन्य कूलतको शिकार बन्ने क्रम भने दिन प्रतिदिन बढिरहेको छ ।

कतिपय बालबालिकाहरु विद्यालय पोशाकमै विभिन्न कटेजहरुमा चुरोटको सर्को तान्दै गरेको अवस्थामा भेटिन्छन् भने कतिपय गुट्खा र सूर्तिजन्य बस्तुहरुले मुख भरेर जहाँ पायो त्यही प्याच्च थुकिरहेका भेटिन्छन् । सार्वजनिक स्थानमा धुम्रपान गर्नु कानून विपरित हो ।

आफ्ना बालबालिकाहरु विद्यालय जान भनेर हिडिसकेपछि र विद्यालयबाट घर नपुगुञ्जेलसम्म के गर्छन्, कोसँग संगत छ भन्ने बारेमा अभिभावकहरुले समेत ध्यान दिन आवश्यक छ । अर्को तर्फ विद्यालय समयमा विद्यार्थीहरु विद्यालयमा छन् वा छैनन्, खाली समयमा उनीहरु के गर्छन र खाजाको रुपमा उनीहरुले के खान्छन् भन्ने बारेमा विद्यालय प्रशासन चनाखो हुनु पर्ने हो । तर केवल शिक्षा प्रदान गर्ने भन्दा उनीहरुको मानसिक तथा बौद्धिक विकासमा ध्यान दिन नसक्नु विद्यालय प्रशासनको पनि कमजोरी देखिन्छ । चाहे आफ्ना बालबालिकाहरु हुन् वा विद्यार्थीहरु उनीहरुलाई कुलत तथा धुम्रपान र मध्यपानले स्वास्थ्यसहित भविष्यको प्रगतिको बाटोमा पार्ने असरको बारेमा शिक्षा दिन नसक्नु पनि अर्को कमजोरी भएको बताउँछन् लामो समय शिक्षण पेशा गरेर निबृत्त भएका शिक्षक गंगा सिंह ठकुरी ।

त्यसो त जिल्ला प्रहरी कार्यालयको क्यान्टिनमा समेत चुरोट तथा सूर्तिजन्य पदार्थको खुलेआम बिक्री वितरण भइरहेको छ । यति मात्र होइन जिल्ला प्रशासन कार्यालयको गेट अगाडि नै खुद्रा पसलमा समेत सूर्तिजन्य पदार्थसहित चुरोटका खिल्लीहरु खुलेआम बिक्री वितरण भइरहेका छन् । सूर्तिजन्य पदार्थको नियमन गर्ने निकाय जिल्ला प्रशासनले देखे पनि नदेखे झैँ गरिरहेको छ । अर्गानिक प्रदेशको रुपमा समेत विकसित गर्ने भन्दै ठूला भाषण गर्ने मन्त्रीहरु बस्ने कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयहरु नजिकै रहेका क्यान्टिनहरुमा समेत चुरोट तथा सूतिजन्य पदार्थको खुलेआम सेवन तथा बिक्री वितरण भइरहेको छ ।

नेपाल सरकारको सूर्र्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन नियमावलीले सार्बजनिक स्थलहरुमा चुरोट तथा सूर्ती सेवनमा रोक लगाएको छ । विद्यालय तथा कलेजको १ एक सय मिटर वरीपरी, सडकका पेटी, चोक, पसलहरु, बसपार्क, बस बिसौनी, सवारी साधन लगायतका स्थानलाई सार्बजनिक स्थल मानिएको छ ।

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । पूर्ण रुपमा विकासित भइ नसकेको वीरेन्द्रनगरमा प्रादेशिक राजधानीसँगै यहाँको जनधनत्व लगायत व्यापार, व्यावसाय मात्र होइन सामाजिक कार्यहरुमा समेत बृद्धि भइरहेको छ । एउटा प्रदेशको राजधानीको रुपमा विकसित भइरहेको वीरेन्द्रनगरलाई स्वच्छ र सुन्दर बनाउनका लागि सूर्तिजन्य पदार्थको व्यवस्थापन, नियन्त्रण र न्यूनिकरण पनि जरुरी छ । स्थानीय सरकारको दृष्टि नपुगेको हो वा बेवास्ता गरिएको हो तर कानूनको पालना गर्ने गराउने प्रहरी निकाय पनि यसमा मौन देखिन्छ भने कतिपय प्रहरीहरु आफै पनि ड्यूटी समयमा सरकारी बर्दिमा रहेका बेलामा समेत सूर्तिजन्य पदार्थको सेवन गरेका भेटिन्छन् । लतको रुपमा कसैले कुनै कुराको सेवन गर्छ भने त्यसले समाज वा समूहमा नकारात्मक असर पार्नु हुँदैन । त्यसरी समाजमा नकारात्मक असर पार्ने कार्य गर्न कसैलाई पनि कानूनले छुट दिएको छैन ।

त्यतिमात्रै होइन चुरोट सेवन गर्ने निश्चित ठाउँ नतोकिएका रेष्टुरेन्ट, चिया पसल, होटल, कटेज, बार लगायतका स्थानमा पनि सूर्र्तिजन्य पदार्थ सेवन गर्न पाइँदैन । यदि कुनै चिया पसल अथवा रेष्टुरेन्टमा चुरोट सेवन गर्ने छुट्टै स्थान वा कोठा तोकिएको छ भने त्यस्ता ठाउँमा बसेर सेवन गर्न पाइन्छ । ति कोठाभित्र पनि नियमअनुसार एकपटकमा एकजनाले मात्रै सेवन गर्ने खालको व्यवस्था मिलाइएको हुनुपर्छ । जहाँ त्यस्ता स्थान तोकिएको छैन र एउटाले चुरोट सेवन गर्दासँगै भएका अरुलाई पनि असर गर्न सक्छ भने त्यस्ता ठाउँमा चुरोट तथा सूर्र्तिजन्य पदार्थ सेवन गर्नेहरुलाई कानून बमोजिम कारवाही गर्नु पर्छ । अर्को तर्फ गर्भवती महिला, उमेर नपुगेका नाबालकहरुलाई त झन यस्ता सामग्री बिक्री वितरण गर्न नै पाइँदैन । तर वीरेन्द्रनगरमै विद्यालय पोशाकमा चुरोट तान्नेहरुको कमी छैन । यस सम्बन्धमा अहिलेसम्म प्रहरीले खासै चासो दिएको पाइँदैन । नेपाल सरकारको कानून बमोजिम चुरोटको खिल्ली बेच्न पनि पाइँदैन । तर वीरेन्द्रनगरमा जथाभावी रुपमा चुरोटका खिल्लीहरु बिक्री वितरण भइरहेका छन् । त्यसको नियमन गर्ने निकाय भने मौन छ ।

कुनै पनि पसलेले एक खल्ली चुरोट बेच्न पाउने कानून छैन । खिल्ली बेच्न नपाउने गरी सूर्र्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन नियमावली २०६८ ले रोक लगाएको छ । चुरोट बेच्नेले सिंगै बट्टा बिक्री गर्नुपर्छ । त्यही कानूनको धज्जी उडाउँदै वीरेन्द्रनगरका साना घुम्टीदेखि ठूला पसलहरुमा समेत चुरोटका खिल्लीहरु खुलेआम बिक्री बितरण भइरहेका छन् ।

सरकारी कार्यालयका तथा अन्य क्यान्टिनहरुमा आफूहरु नजाने तर कसैले उजुरी गरेको खण्डमा भने कारवाही गर्ने बताउँछन् नगर प्रहरी प्रमुख सई ढुण्डीराज अधिकारी । सार्वजनिक ठाउँहरुमा धुम्रपान गरेको भेटिएमा कानून बमोजिम कारही गर्ने बताउँदै सई अधिकारीले भने, ‘धुम्रपान नियन्त्रणका लागि स्वास्थ्यले पनि विशेष अभियान चलाउनु पर्छ ।’ कानूनलाई अक्षरस पालन गर्नु गराउनु सबैको दायित्व र कर्तव्य भएको बताउँदै सई अधिकारीले भने ‘सार्वजनिक स्थलमा त्यस्ता गतिविधि भएको देखेमा सचेत नागरिकको हैसियतले फोनमै भएपनि हामीलाई जानकारी गराउनुहोस् हामी कारवाही गर्न तयार छौ ।’

सामान्य खुद्रा पसलदेखि क्यान्टिन र कटेजहरुले खुला रुपमा चुरोट बिक्री गर्दै आइरहेका छन् । त्यसो त कुनै किराना पसलले चुरोट बिक्री गर्छ र त्यहिँ खान चाहनेहरुको सहजताको लागि लाइटर अथवा सलाई राखिदिने गरेको छ भने ऊ पनि कारबाहीको दायरामा पर्नु पर्ने हो अहिलेसम्म त्यसो भएको छैन । ‘त्यसरी लाइटर अथवा सलाई राखिदिनु सार्वजनिक स्थलमा चुरोट खान प्रोत्साहन गरिएको होइन र ?