Loading... आजः ४ जेष्ठ २०८३, सोमबार । Monday 18th May 2026
ताजा खबर
  

नयाँ बर्ष २०७६ सुरु

१ वैशाख २०७६ |

आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन आज वैशाख १ गते देश विदेशमा बस्ने सम्पुर्ण नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गर्दै मनाइ रहेका छन् । विक्रम संवतलाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाइन्छ ।

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको राम्रा÷नराम्रा कामहरुलाई सम्झिदै नयाँ बर्षमा सफलता पाउन नयाँ योजना र जोस जागरका साथ कामको सुरुवात गर्ने गर्दछन् । यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।

नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एकआपसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ । नयाँ वर्षको दिन कर्णाली प्रदेशको राजधानी सुर्खेतको प्रसिद्ध धार्मिकस्थल देउती बज्यै मन्दिर बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । सुर्खेतको प्रमुख धार्मिक एवम् पर्यटकिय क्षेत्र देउती बज्यै, काँक्रेविहार, सिद्धपाइला, बुलबुले लगायतका स्थानहरुमा नयाँ वर्ष मनाउनेहरुको घुइचो लागेको छ ।

बर्षको अन्तिम रात आफन्त परिवारजन सँगै बसेर मिठो मसिनो पकाएर खाने, सँगै रमाइलो गर्ने र वर्षभरिको समीक्षा गर्ने गरिन्छ भने वैशाख १ गते आफन्तसँग नयाँ वर्षको शुभकामना साटासाट गर्ने चलन छ ।

नेपालीहरुले बिषेश गरेर आजको दिनमा बिभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने पिकनिक खान जाने र मन्दिरमा गएर पूजा गर्नछन् । नयाँ वर्षको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।
क्वीकखबर डटकम परिवार पनि स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाइ दिदीबहिनीहरुमा मंगलमय शुभकामना व्यक्त गर्दछ ।