ज्ञानेन्द्र शाहीलाई हिरासत कक्षमा राखिएकै छैन : प्रहरी (भिडियो सहित)
-
उनलाई समात्ने क्रममा चोटपटक लागेको हो : प्रहरी पनि घाइते छन्
-
भ्रममा नपर्नहोस् : प्रहरी
-
ज्ञानेन्द्रलाई अदालतको आदेश अनुसार पक्राउपूर्जि दिएरै पक्राउ गरिएको हो : प्रहरी
सुर्खेत २० ज्येष्ठ ।
यतिबेला ज्ञानेन्द्र शाहीको विषयलाई लिएर सामाजिक सञ्जालमा धेरै चर्चा परिचर्चा भएका छन् । तर यथार्थ के हो भन्ने बारेमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति र पत्रकार महासंघ सुर्खेत शाखाले एक विज्ञप्ति जारी गर्दै कोही पनि भ्रममा नपर्न अनुरोध गरिसकेपछि तत्सम्बन्धमा नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले समेत एक विज्ञप्ति जारी गर्दै यथार्थतालाई बाहिर ल्यायो ।
ज्ञानेन्द्र शाही र उनका समर्थकहरुले सामाजिक सञ्जाल तथा मिडियाहरु मार्फत विभिन्न अभिव्यक्तिहरु दिए पश्चात आज कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले एक पत्रकार सम्मेलनको आयोजना गरि घटनाको यथार्थलाई स्पष्ट पारेको छ ।
आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई पक्राउ लगत्तै हिरासतमा नराखेर काठमाडौं पठाइएको प्रहरीले बताएको छ । पत्रकारहरुलाई ‘दलाल र कुकुर’ भन्दै अनलाइनमा अन्तर्वार्ता दिएका शाहीलाई जेठ १५ गते खुल्लामञ्चबाट प्रहरीले पक्राउ गरेको थियो । शाहीलाई पक्राउ पूर्जीविनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भइरहेका बेला कर्णाली प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिएको हो ।
‘घटनाका सन्दर्भमा एक पक्षीय कुराहरु बाहिर आएकाले आम जनतामा भ्रम सृजना भएको छ’ सोमबार पत्रकार सम्मेलन गरेर डिआइजी महेशविक्रम शाहले भन्नुभयो, ‘हिरासत कक्षमै नराखेको व्यक्तिलाई प्रहरीले यातना दियो भन्नु सरासर गलत हो ।’
डिआइजी शाहले खुल्लामञ्चमा भइरहेको कार्यक्रम सम्पन्न भए लगत्तै पक्राउ पूर्जी दिएर शाहीलाई पक्राउ गरिएको र सो क्रममा उनका समर्थकहरुले प्रहरीमाथि ढुंगामुडा गरेको बताउनु भयो । ‘उनका समर्थकहरुले प्रहार गरेको ढुंगा लागेर छ जना प्रहरीसहित उनी पनि घाइते भएका हुन्’ शाहले भभन्नुभयो, ‘प्रहरीले हिरासतमा राखेर यातना दिएको होइन् ।’
गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै शाहीले भिडियो पोष्ट गरेका थिए । शाहीविरुद्ध सोही दिन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीको जाहेरीका आधारमा जिल्ला अदालत सुर्खेतले बैशाख १९ गते पक्राउका लागि अनुमति दिएको थियो ।
‘अदालतले पक्राउ पूर्जी जारी गरेपश्चात शाहीको खोजतलास गरिरहेका थियौं’ उहाँले थप्नुभयो, ‘खुल्लामञ्चमा उनले गरेको कार्यक्रम सम्पन्न भएपछि पक्राउ गरिएको हो ।’ उनले खुल्लामञ्चबाट पक्राउ गरेर ल्याएपछि प्रहरी निरीक्षकको कक्षमा शाहीसहित तीन जनालाई राखिएको बताए । ‘त्यहीँबाट मेडिकल गर्नका लागि प्रदेश अस्पताल पठाइएको हो ।’ डिआइजी शाहले भन्नुभयो, ‘मेडिकल चेकजाँचपछि सिधै काठमाडौंको नाइट बसमा राखेर आवश्यक कारवाहीका लागि पठाएका हौं ।
शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हवल्दार प्रकाश बुढा र जवानद्धय रामसागर वर्मा, जीतबहादुर बोहरा, पवन सुवेदी र हस्त सिंह घाइते भएका थिए । शाहीसँगै प्रहरीले वीरेन्द्रनगर–६ का प्रेम विक, दीपक शाही, जुम्ला सिंजाका हिक्मत खत्री, मदन शाही, कोहलपुर बाँकेकी मेनुका भूषाल र रजिना परियारलाई पक्राउ गरेको थियो । शाहीसँगै पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको छ ।
(भिडियो दुल्लु खबर साभार गरिएको हो)






