Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

कर्णाली प्रदेशमा चालु आर्थिक बर्षमा १२ प्रतिशत बजेट मात्र खर्च

जेठ २१,सुर्खेत ।
कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५/०७६ मा बजेट खर्च न्युन हुँदा नागरिकहरुले निराशा व्यक्त गरेका छन् । चालु आर्थिक वर्षमा कुल बजेटको १२ प्रतिशतको हाराहारीमा मात्र खर्च हुँदा प्रदेश सरकारप्रति नागरिकहरुले निराशा व्यक्त गरेका हुन् ।

तन्नेरी चासो सुर्खेतद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशको निति तथा कार्यक्रम माथी वहस कार्यक्रम’मा यहाँका नागरिकले सरकारप्रति निराशा व्यक्त गरे । कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला समक्ष नागरिकहरुले निराशा व्यक्त गरेका हुन् ।

कार्यक्रममा समाजसेवी तथा राजनितिज्ञ गेहेन्द्र दहालले सरकारले बजेट खर्ज गर्न नसक्नुले कर्णालीवासी निराश भएको बताए । उनले भने, ‘प्रदेश सरकारले बजेट खर्च गर्न नसक्दा कर्णालीको भविष्य अन्यौल तर्फ धकेलिएको छ । कानुन निर्माण, जनशक्ति अभावलगायतको वहानाले बजेट खर्च गर्न नसकेको बताउनु भ्रम हो ।’

यसैगरी कार्यक्रममा स्थानीय व्यवशायी भद्र भण्डारीले सरकारको पैसा बैङ्कमा थन्किदा निजिक्षेत्र मैत्री बजार नभएको धारणा व्यक्त गरे ।
उनले प्रदेश सरकारले आगामी बजेट र त्यसको कार्यान्वयन पक्ष निजि क्षेत्र मैत्री बनाउनुपर्ने बताए । भण्डारीले ‘प्राइभेट पब्लिक पार्टनरसिप’ रुपमा कर्णालीमा लगानीको वातावरण बनाउन अनुरोध गरे ।

स्थानीय व्यापारी लक्ष्मण कँडेलले प्रदेश सरकारलाई औद्योगिक क्षेत्र तोक्न अनुुरोध गरे । निजि क्षेत्रले वीरेन्द्रनगरमा उद्योग स्थापना गर्न चाहेँमा धेरै रकम जग्गा खरिदमा खर्च हुने उनले बताए । जसको कारण उद्योग स्थापनाको वातावरण नभएको उनले धारणा व्यक्त गरे । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्षको अन्त्यमा बजेट खर्च ४५ प्रतिशत पुग्ने बताए । मन्त्री ज्वालाले आगामी बजेटमा स्थानीय तहलाई केन्द्रविन्दु बनाउने बताए । उनले भने, ‘स्थानीय तहलाई केन्द्रविन्दु बनाउने योजना रहेको छ । स्थानीय तहसँग मिलेर सिँचाई, कृषि, शिक्षा, उद्योगलगायतको क्षेत्रमा लगानी गर्दै मिलेर जादै छौ ।’

वहस कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, कर्णाली प्रदेश सभा पतिपक्ष दलका नेता जिवन बहादुर शाही, कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मी, मध्यपश्चिम विश्वविद्यालयका उप–प्रध्यापक दिपकसिँह थापा लगायतको सहभागिता रहेको थियो ।