कलाकार प्रकाश शाहीको ‘सुन फल्न्या कर्णाली’ बजारमा
सुर्खेत १ असार ।
कर्णालीका तिरैतिर रारा जान्या बाटो
लगाया सुन पनि फल्न्या यही ठौरको माटो
यिनै शब्दहरुबाट शुरुवात हुन्छ, प्रकाश शाहीको ‘सुन फल्न्या कर्णाली’ को गीत । निकै मौलिक र लोक देउडा शैलीमा रहेको यो गीतले कर्णालीको यथार्थलाई बोलेको छ । सुर्खेतमा रहेर गीत संगीतको क्षेत्रमा काम गर्दै आउनु भएका कलाकार प्रकाश शाहीले भरखरै बजारमा ल्याउनु भएको हो ‘सुन फल्न्या कर्णाली’ ।

कलाकारहरु प्रकाश शाही र टिका पुनको स्वर रहेको उक्त गीतमा लय र शब्द प्रकाश शाहीकै रहेको छ भने यसलाई कृष्ण वि.क. (भान्जा) ले एरेन्जर गर्नुभएको हो । सुकुराम विश्वकर्माको मिक्सिङ्ग÷ मास्टरिङ्ग रहेको ‘सुन फल्न्या कर्णाली’ लाई प्रिज्म स्टुडियोले रेकर्डिङ्ग गरेको छ । कर्णाली र कर्णालीका विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुलाई क्यामेरामा कैद गरेर निर्माण गरिएको भिडियोमा प्रकाश शाही, पवित्रा गुरुङ्ग, दिपेन भूषाल, कृष्णा न्यौपाने भूषाल, अक्कल बहादुर शाही, जमुना शाही, ज्योति पौडेल शाहीको अभियन रहेको छ । उक्त कलाकारहरुको अभियनमा नृत्य निर्देशक हेमन्त नेपालीले निकै कलात्मकता प्रस्तुत गर्नुभएको छ ।

सविता राणाको श्रृङ्गारले गीतका शब्दहरुले भने झैँ यथार्थता बोल्न सफल भएको छ भने भीमसेन कल्यालको छायाङ्कनले भिडियो हेरुँ हेरुँ लाग्ने बनाएको छ । ‘सुन फल्न्या कर्णाली’ बोलको गीतमा ड्रोन पाइलट अरविन बस्नेतले गर्नुभएको छ भने उत्तम कुमार कार्कीको ग्राफिक डिजाइनमा कुनै पनि दर्शकले औला उठाउने ठाउँ छैन । प्रविन भट्टको सम्पादन÷रंग संयोजनले भिडियोको रंगलाई मात्र होइन दर्शक स्रोताको मनलाई समेत रंगीन बनाइदिने गर्दछ । विपी फिल्मस् नेपालले दृष्य निर्माण गरेको उक्त गीतको निर्देशन भने कलाकार प्रकाश शाही आफैले गर्नुभएको छ ।
डाली डालीमा गुराँस फूल्न्याँ डालीमा
फापर, कोदो मार्सी फल्न्या हाम्रा कर्णालीमा

कर्णालीमा मौसम अनुसार कहिले डालीमा गुराँस फूल्छन् त कहिले फापर, कोदो फल्छ भने चर्चित मार्सी पनि कर्णालीमै फल्ने यथार्थलाई गीतका माध्यमबाट प्रस्तुत गर्न सफल हुनु भएको छ कलाकार प्रकाश शाही ।
सुर्खेतको देउती बज्यै मन्दिर होस् वा जुम्लाको चन्दननाथ मन्दिर । शिरिस्थानको झलमल्ल बल्न्या जुवाला होस् वा डाँफ्या नाच्न्या र चौरी चन्र्या बुकी पाटन नै किन नहोस् । स्याउ, सुन्तला र सिमी फल्न्या कर्णालीलाई वर्णन गर्न सफल उक्त गीतका शब्दहरु यार्सागुम्बादेखि फोक्सोण्डोको शिर र प्राकृतिक सुन्दर छटा बोकेको सिस्ने हिमालसम्मको वर्णनले भरिभराउ छन् । कतै आफ्नो प्रिय मान्छे परदेशमा भएकोले दिन बिताउन कष्ट भइरहेको कर्णालीको भावनालाई समेटिएको छ भने कतै सांस्कृतिक सम्पदाहरु सिंगारु, टप्पा नाचका ऐतिहासिकतालाई वर्णन गरिएको छ । शब्द संयोजन गर्ने क्रममा कलाकार प्रकाश शाहीले यस गीतमा मुगुको रारा ताल, सुर्खेतको बुलबुले र बराहताल, कालिकोटको पचाल झरना, महाबुको मेलाका बारेमा वर्णन गर्न सक्षम र सवल देखिनु भएको छ । रारा जाने बेलामा बराहताल हेर्न आग्रह गरिएको उक्त गीतले आन्तरिक पर्यटकहरुलाई एक पटक कर्णाली भ्रमणका लागि मन तानेरै छोड्ने विश्वास गर्छन कलाकार शाही ।
पाइला मिलाई देउडा खेल्न्या हाम्रा कर्णालीमा यस्ता गीत संगीतहरुको उत्पादन भइराखोस् जसले गर्दा कर्णालीको गीत संगीत र पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्न सकियोस् ।






