कर्णालीमा प्रयोग गरिने बस्तु कर्णालीमा उत्पादन हुन जरुरी : मन्त्री बुढा
असार १२ सुर्खेत ।
कर्णालीमा प्रयोग गरिने बस्तु कर्णालीमै उत्पादन हुन जरुरी भएको बताइएको छ । लघु, घरेलु तथा साना उद्योग महासंघको एक दिने कर्णाली प्रदेशस्तरीय गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका वन, पर्यटन तथा उद्योग मन्त्री नन्द सिंह बुढाले यस्तो बताएका हुन् । यातायातको सहज अवस्था हुनुले पनि कर्णालीमा उद्योग व्यवस्थापनमा समस्या भएको उनले बताए । बजारीकरणको समेत समस्या रहेको बताउँदै मन्त्री बुढाले जनचेतना, दक्ष जनशक्ति, पूँजिको अभावले गर्दा पनि औधोगिकरणमा समस्या भएको बताए । अल्लो, कपास र कागजमा कर्णाली आत्मनिर्भर बन्न सक्ने बताउँदै मन्त्री बुढाले कर्णालीका खाली जग्गामा उत्पादनमुखी बृक्षारोपण गर्न आवश्यक भएको बताए ।

यसैगरि कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले उद्योगसँग कर्णालीको स्वाभिमान जोडिने भएकोले यसलाई प्राथमिकतामा राख्नु पर्ने बताए । उद्योग संचालनका लागि चुनौतीहरु भएपनि त्यसलाई सामना गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । यहाँ उत्पादित बस्तुलाई यहाँबाटै उपभोगको सुरुवात गर्नु पर्ने बताउँदै आफ्नो उत्पादित बस्तुले सम्मान पाउन सके उद्योग फस्टाउन सक्ने उहाँको भनाई थियो ।

कार्यक्रममा लघु, घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले घरेलु उद्योगमा युवाहरुलाई प्रोत्साहन दिनु पर्ने बताए । कर्णाली प्रदेश खानी तथा जडिबुटीको खानी भएको बताउँदै यसलाई उद्योगीकरण गर्न सकेको खण्डमा एकातिर रोजगारीको समेत सिर्जना हुने र अर्कोतिर सरकारलाई पनि आर्थिक टेवा पुग्ने उनको भनाई थियो ।
कार्यक्रममा लघु, घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्र बहादुर बिसीको अध्यक्षतामा भएको थियो ।

गोष्ठीको दोस्रो शत्रमा लघु, घरेलु तथा साना उद्योगका अवस्था, अवसर र चुनौति विषयक दुई वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए । गोष्ठीमा उपस्थित कर्णाली प्रदेशका उद्योगी सहभागीहरुहरुले सरकारले उत्पादन सामाग्रीको सहज रुपमा बजारीकरण, प्रोत्साहान गरिनुपर्ने बताएका छन् । घरेलु लगु तथा साना उद्योग सम्बन्धी विभिन्न कार्यक्रमहरु ल्याए पनि व्यवहारमा लागु नगरेकाले त्यसमा ध्यान केन्द्रित गर्नपर्ने उनीहरुको भनाई थियो ।






